सूचना र प्रविधिको विकाससँगै अधिकांश क्षेत्र अहिले डिजिटल प्रविधिमय भएका छन् । नेपाली चलचित्र क्षेत्र पनि यसबाट अछुतो रहने कुरा भएन । चलचित्र निर्माणदेखि प्रदर्शनसम्मको हरेक गतिविधि ‘डिजिटल प्रविधि’ मा रूपान्तरण हुनुपर्ने बाध्यता सिर्जना भएको छ ।
यद्यपि यो समयसम्म आउन नेपाली चलचित्रले ‘सेलुलाइड’ युगलाई पार गर्नुपरेको थियो । उक्त समयमा चलचित्रको चारदेखि पाँच प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो । प्रिन्टको संख्या बढाउँदा निर्माण लागत पनि बढ्ने भएकाले सीमित प्रिन्टबाट समय हेरफेर गरेर चलचित्र प्रदर्शन गरिन्थ्यो ।
सीमित प्रिन्ट मोफसलमा प्रदर्शन भएर काठमाडौं आउँदा कोरिने, प्वाल पर्ने लगायतका समस्याका कारण कतिपय चलचित्र भवनमा धमिलो देखिन्थ्यो । सोह्र मिलिमिटरमा खिचेर ३५ मिलिमिटरमा प्रदर्शन गर्दा गुणस्तरमा कमी आउँथ्यो । फलतः सहरिया दर्शकको रोजाइमा नेपाली चलचित्र कम पर्न थाल्यो । किनकी सोही मूल्यमा हेर्न पाइने विदेशी चलचित्र भने गुणस्तरीय थियो ।
ध्वनि, छायांकन, प्रदर्शनमा देखिएको यवात् समस्यालाई महसुस गरिरहेका निर्माता तथा निर्देशक अशोक शर्माले नेपाली चलचित्रलाई ‘डिजिटल युग’तर्फ मोडेका हुन । चलचित्र निर्माणको सुरुआत ३५ मिलिमिटरबाट गरिएको भएता पनि लगानी कम गर्न १६ मिलिमिटर हुँदै ‘भिडिओ’ चलचित्र बन्न थालेपछि सहरिया दर्शक घटेका थिए ।
‘जय नेपाल चलचित्र’ हलमा सुरुमा विदेशी चलचित्र मात्र प्रदर्शन हुन्थ्यो । तर लक्षित दर्शक हलसम्म नआएपछि नेपाली चलचित्रको निर्माण र कथ्य शैलीमा परिवर्तन आउनुपर्छ भन्ने मान्यतामा ‘डिजिटल प्रविधि’को आवश्यकता महसुस भएको निर्देशक शर्माको भनाइ थियो । भारतमा सन् २००५ मा ‘डिजिटल प्रविधि’ भित्रिएपछि नेपालको लागतसँग मिल्दो भएर ‘डिजिटल प्रविधि’ नेपालमा पनि ल्याइएको थियो ।
उक्त प्रविधि नेपाल भित्रिएसँगै निर्माता तथा निर्देशकहरुलाई जानकारी दिन ‘प्रदर्शनी’ को आयोजना गरिएको थियो । त्यसपछि जय नेपाल हलमा ‘हलिउड’ र ‘बलिउड’का चलचित्र डिजिटल प्रविधिमै देखाइयो । तर, नेपाली चलचित्रको निर्माणमा परिवर्तन आएको थिएन । ‘सेलुलाइड प्रविधि’मै निर्माण हुँदा त्यसको प्रदर्शन अन्य प्रविधिमा सम्भव थिएन ।
टेलिभिजनकर्मी भूषण दाहालले निर्देशन गरेको ‘कागबेनी’ चलचित्रले नयाँ कथ्य शैली र दृश्य भाषालाई प्रस्तुत गर्यो । त्यहाँ परम्परागत प्रस्तुतीकरण थिएन न त हिरो भन्ने शब्दसँग मिल्दो भाष्य नै थियो । तर त्यसले दर्शकलाई केही हदसम्म नेपाली चलचित्रको नयाँ युगसँग परिचित गरायो ।
लागत मूल्य कम पर्ने भएपछि विस्तारै चलचित्र भवनमा डिजिटल प्रविधि जडान भए । सोही समयमा ‘गोपीकृष्ण मुभिज्’ले समेत ‘क्युब डिजिटल’ सर्भर नेपाल भित्र्यायो । दुई सर्भर भएपछि नेपालभर डिजिटल प्रविधि जडान हुन् समय लागेन ।
निर्माण र प्रदर्शनमा डिजिटल प्रविधिले सहज पुर्याएपछि नेपालभर एकसाथ चलचित्र प्रदर्शन हुन् थाले । स्वदेशमै विदेशको जस्तो गुणस्तरीय नेपाली चलचित्र हेर्न पाएपछि दर्शक पनि बढ्दै गए । नेपालमा ‘युएफओ’ र ‘क्युब डिजिटलको सर्भर’ भएर प्रिन्टबाट निर्माताले छुटकारा पाए पनि प्रविधिमा चलचित्र ‘इनकोडिङ्ग’ गर्न भारत जानुपर्ने अवस्था थियो । प्रारम्भमा त्यो सहज देखिएपनि विस्तारै समस्याको रुपमा विकसित हुँदै गयो । त्यही कारण नेपालमै त्यसको समाधान गर्ने खोज हुन् थालेको हो ।
अहिले नेपालमै सम्पूर्ण प्रविधिमा ‘इनकोडिङ्ग’ हुन्छ । त्यही चलचित्रलाई विश्वभर प्रदर्शन गर्न सकिन्छ । डिजिटल सिनेमा इनिसेटिभ (डिसिआई) ढाँचामा रहेका चलचित्र विश्वभर अन्य सर्भरमा समेत प्रदर्शन गर्न सकिन्छ । साथै अहिले नेपालभर ‘नन टुके’, ‘टुक’, ‘फोरके’ लगायतका प्रविधि जडित चलचित्र भवन सञ्चालनमा छन् ।
‘कागबेनी’ चलचित्रमार्फत नेपालमा ‘डिजिटल यात्रा’को सुरुआत भएर विविध बाधा अड्चनलाई पार गर्दै निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । यसले सुरुआतसँगै प्रिन्टको डब्बा लिएर चलचित्र भवन धाउनुपर्ने बाध्यता हट्यो । यसले एउटै समयमा नेपालभर चलचित्र प्रदर्शन गर्न सहजता प्रदान गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।