विश्व क्रिकेटमा नेपालको उपस्थिति दिनहुँ फराकिलो बन्दै गएको छ । पछिल्लो केही वर्षयता नेपाली क्रिकेटले देखाएको निरन्तर प्रगतिलाई अन्तर्राष्ट्रियस्तरमै ध्यानपूर्वक नियालिएको छ ।
चाहे पुरुष टोली होस् वा महिला टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा देखाइएको दाबेदारीले हरेक नेपाली खेलप्रेमीलाई गौरवान्वित बनाइरहेको छ । सीमित साधनस्रोतबीच पनि नेपाली खेलाडीले सम्भावनाका नयाँ ढोका खोलेका छन् । उनीहरूको उत्कृष्ट प्रदर्शनले समर्थकको संख्या बढाउनुका साथै विदेशमा समेत नेपाली क्रिकेटलाई चासोका साथ हेरिन थालिएको छ ।
नेपाली टिम अहिले आउँदो वर्ष भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गर्न लागेको टी–२० विश्वकप छनोटको तयारीमा छ । यसै तयारीको क्रममा टोली हालै अष्ट्रेलियाको भ्रमण सकाएर स्वदेश फर्किएको छ । सो भ्रमणमा नेपालले नतिजा अपेक्षाअनुसार हात नपारे पनि नयाँ अनुभव प्राप्त गर्यो ।

नेपाली टिमले अस्ट्रेलियामा रहँदा पहिलोपटक टप एण्ड टी–२० प्रतियोगितामा सहभागिता जनाउनुका साथै केही क्लबसँग अभ्यास म्याच खेल्यो । आगामी विश्वकपको छनोट चरण पार गर्न नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीलाई निरन्तर व्यस्त राख्ने तालिका तयार गरेको छ ।
त्यहीक्रममा टिम स्वदेश र भारतमा प्रशिक्षण लिनुका साथै ‘ए’ टोलीलाई आसाममा अभ्यास खेल खेल्न पठाइएको थियो । यसरी दुई टोलीलाई समानान्तररूपमा अभ्यास गराउने निर्णयले नेपाललाई थप बलियो बनाउन सहयोग पुर्याएको देखिन्छ ।
अब नेपालले सेप्टेम्बरको अन्त्यतिर वेस्ट इण्डिजविरुद्ध पहिलोपटक तीन खेलको टी–२० सिरिज खेल्नेछ । वेस्ट इण्डिजजस्तो बलियो र अनुभवी टोलीसँग तीन खेलको सिरिज खेल्ने मौका पाउनु ठूलो उपलब्धि मानिएको छ । यसबाट प्राप्त हुने अनुभवले ओमानमा हुने निर्णायक छनोट खेलमा टिमलाई आत्मविश्वासी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

ओमानमा नेपालले एसिया तथा पूर्वी प्रशान्त क्षेत्रका टोलीसँग प्रतिस्पर्धा गर्दै विश्वकप प्रवेशको लागि संघर्ष गर्नेछ । प्रतियोगितामा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ ।
समूहको शीर्ष दुईमा रहने टिमले सुपर सिक्समा स्थान बनाउने छन् । सो चरणको शीर्ष तीनवटा टिमले विश्वकप खेल्न पाउने छन् । नेपाल यसपटक तेस्रोपटक टी–२० विश्वकप खेल्ने तयारीमा छ । त्यसैले छनोट चरण पार गर्दै विश्वकपमा प्रवेश गर्ने महत्वपूर्ण जिम्मेवारी अब खेलाडीको काँधमा छ ।
राष्ट्रको प्रतिष्ठाका लागि उनीहरूले थप मिहिनेत, एकता र आत्मविश्वासका साथ चुनौती पार गर्नु अनिवार्य छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा नेपाललाई सक्षमरूपमा उतार्नु मुख्य प्रशिक्षक स्टअर्ट लको दायित्व हो । ओपनिङदेखि अन्तिम क्षणसम्म लयमा नभएका खेलाडीलाई बेन्चमा राखेर सशक्त संयोजन मैदानमा उतार्न सकेमा टोलीले राम्रो नतिजा ल्याउने सम्भावना प्रबल छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।