२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

अमेरिकी आप्रवासन नीति थप कडाइ : ब्याट्री कम्पनीमा छापा, ३०० दक्षिण कोरियालीसहित ४७५ आप्रवासी पक्राउ

अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मार्दा ३०० भन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् । शनिबार सउलस्थित विदेश मन्त्रालयले यसबारे पुष्टि गरेको हो ।


दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले सउलमा आयोजित आपतकालीन बैठकमा बताएअनुसार, कुल ४७५ जना पक्राउ परेका मध्ये ‘३०० भन्दा बढी हाम्रो देशका नागरिक रहेको विश्वास गरिएको छ ।’



अमेरिकामा ठूलो संख्यामा दक्षिण कोरियाली पक्राउ, अवैध आप्रवासनको आशंका, बिग्रन सक्छ दुई देशको सम्बन्ध ! 

अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागका विशेष एजेन्ट स्टीवन श्र्यांकका अनुसार, यो छापा बिहीबार एलाबेल शहरस्थित हुन्डाई–एलजीको संयुक्त कारखानामा ‘गम्भीर सङ्घीय अपराध र अवैध रोजगार सम्बन्धी आरोपहरूको’ अनुसन्धानका क्रममा गरिएको हो ।



‘यो सामान्य आप्रवासन छापा होइन,’ श्र्यांकले भने, ‘यो धेरै महिना लामो आपराधिक अनुसन्धानको नतिजा हो ।’

उनले थप जानकारी दिँदै भने, ‘पक्राउ परेका व्यक्तिहरू अमेरिका भित्र अवैध रूपमा रहेका थिए र गैरकानुनी रूपमा कार्यरत थिए ।’ उनीहरूलाई अब आप्रवासन तथा सीमा सुरक्षा  विभागमार्फत देशनिकालाको प्रकृयामा लगिएको छ ।

दक्षिण कोरियाको कूटनीतिक प्रतिक्रिया

विदेशमन्त्री चो ह्युनले भने, ‘हामी यस घटनाबाट गहिरो चिन्तित छौं र गम्भीर जिम्मेवारीको भावना महसूस गरेका छौं । आवश्यक परे म स्वयम् वासिङ्टन पुगेर वार्ता गर्न तयार छु ।’



यसअघि, विदेश मन्त्रालयका प्रवक्ता ली जे–वुङले अमेरिकालाई आग्रह गर्दै भनेका छन् , ‘हाम्रो लगानीकर्ताका आर्थिक गतिविधि र हाम्रा नागरिकको वैध अधिकारलाई अमेरिकी कानुनी कारबाहीका क्रममा अन्यायपूर्वक हानि पुर्‍याइनु हुँदैन ।’

कम्पनीहरूको प्रतिक्रिया

एलजी एनर्जी सोलुसनले शनिबार जनाएको अनुसार, पक्राउ परेका ४७ जना कम्पनीका कर्मचारी हुन्, जसमा ४६ जना दक्षिण कोरियाली र एक जना इन्डोनेसियाली नागरिक छन् । करिब २५० जना तेस्रो पक्ष ठेकेदारमार्फत खटाइएका थिए, जसमा अधिकांश दक्षिण कोरियाली रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले हाललाई अत्यावश्यक बाहेक अमेरिकातर्फको सबै व्यवसायिक भ्रमण स्थगित गर्ने निर्णय लिएको छ । ‘अमेरिकामा खटिएका कर्मचारीहरूलाई यथासम्भव घर फर्काइनेछ वा उनीहरूलाई अस्थायी रूपमा आवासमै रोकिएको छ,’ कम्पनीकी प्रवक्ताले बताए ।

हुन्डाई मोटर कम्पनीले भनेको छ, ‘हामीले सिधै कुनै पनि पक्राउ परेका व्यक्तिलाई रोजगारी दिएका छैनौं,’ भन्दै आफूहरू कारखाना निर्माणमा प्रत्यक्ष संलग्न नभएको स्पष्ट पारेको छ ।

राजनीतिक सन्दर्भ र लगानी

दक्षिण कोरिया अमेरिकामा आफ्ना कम्पनीहरूको विस्तारका लागि अर्बौं डलर लगानी गरिरहेको छ ।

राष्ट्रपति ली जे–म्युंगले गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए, जसपछि दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलरको लगानी गर्ने घोषणा गरेको थियो ।अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले निर्माण क्षेत्र पुनःजागृत गर्ने र अवैध आप्रवासीहरूलाई देशनिकाला गर्ने प्रतिबद्धता जनाउँदै आएका छनु । 

विशेषज्ञहरूका अनुसार, यस घटनाले दुई देशबीचको व्यापारिक र कूटनीतिक सम्बन्धमा चुनौती खडा गर्न सक्छ ।

  • प्रकाशित मिति : २२ भदौ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया