२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

जेन-जी सडकमा : नातावाद र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताको विद्रोह

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै नेपालमा नयाँ पुस्ता अर्थात् जेन जीले सडक आन्दोलन गर्ने तयारी गरेका छन् । सोमबार अर्थात् २३ भदौका लागि तोकिएको मितिमा उनीहरूले माइतीघर मण्डला र संसद् भवनअगाडि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।


केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’ ट्रेन्ड तीव्र गतिमा फैलिएको छ । यस ट्रेन्डले राजनीतिज्ञ र प्रभावशाली व्यक्तित्वका छोरा–छोरीलाई भ्रष्टाचार र पारिवारिक पहुँचमार्फत प्राप्त विशेषाधिकारको लागि आलोचना गर्दै आएको छ ।



टिकटक, फेसबुक र इन्स्टाग्राममा भाइरल बनेका भिडियोले नेताका छोराछोरीहरूका विलासी कार, महँगा ब्रान्डका सामग्री, विदेश शिक्षा र भव्य जीवनशैली देखाउँदै उनीहरूको सुविधा आम नागरिकको संघर्षसँग तुलना गरेको छ । यसले समाजमा गहिरो असमानता र भ्रष्टाचार उजागर गरेको विश्लेषण हुन थालेको छ । 

एआई तस्बिर



युवा पुस्ताको यो आन्दोलन व्यक्तिगत असन्तुष्टि मात्र होइन, समग्र प्रणालीमा रहेको अवसरको असमानता र पारिवारिक पहुँचको विरुद्धमा उठेको स्पष्ट आवाज पनि हो । जब सत्ताधारी परिवारका सन्तानहरू विदेशमा शिक्षा प्राप्त गर्दै विलासी जीवन बिताइरहेका छन्, त्यही समयमा सामान्य नागरिकका छोराछोरी न्यूनतम् अवसरका लागि संघर्षरत छन् ।

सामाजिक सञ्जालमा फैलिएका भिडियो र पोस्टहरूले यस्ता असमानता र अन्यायको वास्तविकता आम नागरिकसम्म पुर्‍याएका छन् । ​जेन जीले सुरु गरेको आन्दोलनमा सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले प्रत्यक्ष असर पारेको छ । स्वतन्त्र अभिव्यक्ति र सूचना पहुँचमा रोक लगाएर समस्या समाधान हुँदैन । बरु, यसले युवा पुस्तामा असन्तोष बढाएको छ । र, उनीहरूको आवाजलाई दबाउने प्रयास भएको छ ।  

स्वतःस्फूर्तरूपमा उठिरहेको यो अभियान सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता माध्यममा व्यापकरूपमा फैलिएको छ । यो ट्रेन्ड विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, डा. बाबुराम भट्टराईलगायत नेताहरूका छोराछोरी र नातेदारलक्षित छ ।

प्रचण्डकी नातिनी स्मिता दाहाल, देउवाका छोरा जयवीर र पूर्वमिस नेपाल श्रृंखला खतिवडा (नेकपा एकीकृत समाजवादी नेता विरोध खतिवडाकी छोरी) को विलासी जीवनशैलीले सर्वसाधारणमा अन्याय र असमानताको अनुभूति गराएको छ । यसले युवा पुस्तामा प्रश्न उठाएको छ, के अवसर समानतामा आधारित छ कि केवल पारिवारिक पहुँच र राजनीतिक प्रभावमा ?



नेपो किड ट्रेन्डले देखाएको कुरा नेपालको आगामी पुस्ताका लागि न्यायपूर्ण, समान र पारदर्शी समाज निर्माणको आवश्यकता स्पष्ट पारेको छ ।

एआई तस्बिर

यदि यस्ता आवाजलाई संस्थागतरूपले सम्बोधन नगरियो भने युवा पुस्ताको निराशा मात्र बढ्ने छैन, यसले दीर्घकालीनरूपमा लोकतन्त्र र सामाजिक संरचनामा नकारात्मक प्रभाव पार्न सक्छ । सामाजिक सञ्जालमा फैलिएको यस आन्दोलनले देशभरका युवाहरूलाई सक्रिय बनाएको छ । काठमाडौं, पोखरा, विराटनगर, धरान, नेपालगञ्ज, झापा र अन्य शहरहरूमा युवा आन्दोलनमा सहभागी हुने संकेत देखिएका छन् ।

‘वेक अप युथ, वेक अप जेनजीज’ जस्ता नारा बोकेको यो आन्दोलन न केवल सडकमा हुने देखिएको छैन । यसले सामाजिक सञ्जालमा पनि राम्रो स्थान लिने सम्भावना संकेत देखिएको छ ।

यो आन्दोलनले पुराना पुस्तालाई पनि सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ । अब नेपाली राजनीतिमा नयाँ पुस्ताले कस्तो भूमिका खेल्ने हो भन्ने कुरामा आम नागरिकले नजर राखेका छन् । सामाजिक सञ्जालमा सुरु भएको यो आन्दोलन साँच्चै परिवर्तनको लहर बन्ने हो कि होइन, त्यसको उत्तर समयले दिनेछ । तर, अहिले देखिएको कुरा स्पष्ट छ, नेपाली युवा अब चुपचाप बस्न इच्छुक छैनन् ।

उनीहरूले भ्रष्टाचार, नातावाद र विशेषाधिकारको विरुद्धमा आफ्नो शक्ति देखाउँदै आन्दोलन गरिरहेका छन् । यो आन्दोलनलाई केही व्यक्तिमाथिको आलोचना मात्र नभई समग्र प्रणालीमा रहेको असमानता, पारिवारिक पहुँच र अवसरको असमान वितरणको विरोधको रूपमा पनि हेरिएको छ ।

युवा पुस्ताले उठाएको आवाजले नेपालमा सामाजिक न्याय र समानताको लागि नयाँ ढोका खोल्ने संकेत दिएको छ । युवा पुस्ताले उठाएको आवाजलाई सुनिनु र त्यसको मुद्दामा गम्भीर कदम चालिनु अहिलेको अत्यावश्यक आवश्यकता बनेको छ ।

  • प्रकाशित मिति : २२ भदौ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया