जेन–जीको भ्रष्टाचार विरोधी आन्दोलनमा जे हुनसक्ने आशंका थियो आखिर त्यही भयो । आवाज उठाएवापत युवाहरूले प्रहरीको गोली खाएर साहदत प्राप्त गर्नुपर्यो । सरकार आज जसरी प्रस्तुत भयो र हत्याको श्रृंखला चलायो यो निरकंशुताको जति निन्दा गरे पनि कम हुन्छ ।
जेन–जीले काठमाडौंको माइतीघरबाट सुरु गरेको विद्रोह देशका प्रमुख शहरमा फैलिइसकेको छ । यो विद्रोह तुरुन्तै दबाएर दब्ने खालको पनि छैन । भुसको आगोजस्तै भित्रभित्रै सल्किसकेको छ– यो विद्रोह । विद्रोह भनेको यस्तो बाढी हो, जसले सबै किसिमका कसिङ्गरहरू एकसाथ बगाएर लैजान्छ ।
जेन–जीले खोजेको पनि यही हो, समाजमा धमिरा बनेर रहेका गलत पात्र र प्रवृत्तिहरूलाई सधैंका लागि निमिट्यान्न पार्न सकियोस् भन्ने नै उनीहरूले चाहेका हुन् । जेन–जीले सुरुवात गरेको यो विद्रोहले त्यही बाटो समात्ने सङ्केत पहिलो दिनमै देखिइसकेको छ ।
एमाले अध्यक्ष खड्गप्रसाद ओलीले नेतृत्व गरेको कांग्रेस–एमाले गठबन्धनको सरकारलाई आज सडकमा ओर्लिएर नयाँ पुस्ताले एउटै आग्रह गरेका थिए, ‘सरकार अति भयो, आफूलाई सुधार ।’ तर, ओलीलाई समाजमा रूपान्तरणको खाँचो औंल्याउने जुनसुकै बहस वा आन्दोलन पच्न छोडेको धेरै भइसक्यो । बरु ओलीले पार्टीका आफ्ना झोले दासहरूलाई यसको विरुद्ध विषबमन गर्न लगाउँदै आएका छन् । सरकारी संयन्त्रको दुरुपयोग गरेका छन् ।
ओलीले आफ्नै पार्टीभित्र निरकुंशता मात्र लादेका छैनन्, विधान संशोधन गर्न लगाएर आफ्नो कार्यकाल थप्ने प्रपञ्च पनि झण्डै पूरा गरिसके । अर्थात् जीवन रहेसम्म सत्ता र शक्तिमा उनी टाँसिरहन चाहन्छन् । उनले आफ्नो यो लोभ लुकाएका पनि छैनन् ।
नेपाली नयाँ पुस्ता विद्रोहको स्थितिमा किन पुगे भनेर ओलीले सोच्ने कुरा कल्पना गर्न सकिँदैन । यसविपरीत नयाँ पुस्ताको आक्रोशलाई हल्कारूपमा लिने र त्यसलाई उडाउने छुद्र कार्य ओलीले गर्दै आएका छन् ।
जब ओलीसँग देशलाई दिने केही छैन, केवल विद्रोहमा ओर्लिएका युवाको हत्या गर्ने हतियार मात्र छ भने उनलाई एक मिनेट पनि प्रधानमन्त्रीको पदमा बस्ने अधिकार छैन । उनीसँग केही विवेक बचेको छ भने तुरुन्त राजीनामा दिनुपर्छ । अझ यो राजीनामा ओलीकै सत्ता सहयात्री कांग्रेसले माग्नुपर्छ ।
ओली नेपाली समाजको यस्तो धमिरा बनेका छन्, जसले न त एमाले अध्यक्षको हैसियत न त प्रधानमन्त्रीको रूपमा औँलामा गन्न सकिने कुनै असल काम गर्न सकेका छन । उनको मन्त्रिपरिषद् वरपर रक्त पिपासुदेखि भ्रष्टाचार गर्न र्याल काढेर बसेका नालायक मन्त्रीहरूको झुण्ड छ । उनको सरकारी निवास बालुवाटारमा पुग्ने हो भने उनी बिचौलियाहरूलाई धाप दिइरहेका भेटिन्छन् । यस्ता बिचौलिया प्रवृत्तिका झुण्डहरूबाट घेरिइन रुचाउने र आत्मप्रशंसामा रमाउने लत बसेपछि ओलीबाट असल काम पनि हुन सक्छ भनेर कसैले केही अपेक्षा नगर्नु आफैंमा अस्वाभाविक पनि भएन ।
जेन–जी को विद्रोहलाई ‘व्यवस्था विरोधीको घुसपैठ’ भनेर आफू पानीमाथिको ओभानो हुन खोज्ने ओलीको शैलीमा कुनै नयाँपन छैन । ओली र उनका झोलेहरूले यो आन्दोलनलाई ‘देश विरोधी नियोजित खेल’ भन्न पनि सक्छन् । अहिलेको निराशा र कुण्ठालाई कसरी सम्बोधन गर्ने भन्ने सद्बुद्धि ओलीमा नहुनु आश्चर्यको कुरा होइन । किनकी उनको वरपर असल सल्लाह दिन सक्ने ल्याकत भएका नेताहरू पनि छैनन् । कसैले आँट गरेर सल्लाह दिन खोजे ‘भीम रावल बनाइदिऊँ ?’ भन्नेबाहेक उनीसँग देशलाई दिने केही कुरा छैन ।
जब ओलीसँग देशलाई दिने केही छैन, केवल विद्रोहमा ओर्लिएका युवाको हत्या गर्ने हतियार मात्र छ भने उनलाई एक मिनेट पनि प्रधानमन्त्रीको पदमा बस्ने अधिकार छैन । उनीसँग केही विवेक बचेको छ भने तुरुन्त राजीनामा दिनुपर्छ । अझ यो राजीनामा ओलीकै सत्ता सहयात्री कांग्रेसले माग्नुपर्छ । यति गर्दा पनि राजीनामा नदिए कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिनैपर्छ र नयाँ सरकार गठनको बाटो खोल्नुपर्छ । किनकी यो सरकारले नैतिक वैधानिकता गुमाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।