सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजी पुस्ता सोमबार काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरस्थित संसद भवनसम्म शान्तिपूर्ण आन्दोलन गर्ने योजनामा थिए । तर, राज्यको सुरक्षा संयन्त्रले तयारीको अभाव, असंयम र अत्यधिक बल प्रयोग गर्दा शान्तिपूर्ण आन्दोलन रक्तरञ्जित नरसंहारमा परिणत भयो ।
प्रहरीले रबरको गोली, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दै भीडलाई नियन्त्रण गर्ने प्रयास गरे । तर, असंयमित र अत्यधिक बल प्रयोगले प्रदर्शनकारी मात्र नभई अस्पतालभित्र रहेका बिरामी, स्वास्थ्यकर्मी र नागरिकलाई समेत जोखिममा राख्यो ।

कतिपय अस्पतालमा प्रदर्शनकारीको उपचारका क्रममा सुरक्षा अधिकारीको हस्तक्षेप देखिएको छ, जसले प्रहरीको दमनको चरित्रलाई अझ स्पष्ट बनाएको छ । नतिजा भयावह छ । काठमाडौंमा १७ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
यस्तै, इटहरीमा दुई जनाले ज्यान गुमाएका छन् । घाइतेको संख्या सयौंमा पुगेको छ । मृतक र घाइतेमध्ये अधिकांश युवा पुस्ताका सदस्य हुन्, जो आगामी भविष्य र सामाजिक चेतनाको प्रतीकका रूपमा सडकमा उत्रिएका थिए । यस घटनाले राज्य र सुरक्षा निकायहरूको कार्यशैलीमा गम्भीर प्रश्नहरू उठाएको छ ।
राज्यको प्रमुख जिम्मेवारी भनेको नागरिकको सुरक्षा र संवैधानिक अधिकारको संरक्षण गर्नु हो । तर, आजको घटनाले सुरक्षात्मक तयारी, प्रदर्शनकारीको संख्या र स्वरूपको सही आँकलन र सार्वजनिक मार्ग तथा अस्पताल क्षेत्रमा सुरक्षा संयन्त्र प्रभावकारी ढंगले लागू नगरी प्रहरीले अनावश्यक र अमानवीय बल प्रयोग गर्यो ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि युवाहरूको प्रदर्शन तोडफोड र आगजनीमा बदलिएपछि सुरक्षा निकायले अत्यधिक बल प्रयोग गरेको जनाएको छ । यसरी राज्यको विरोधमा उत्रिनेमाथि प्रहरीले दमन गरेको यो पहिलो घटना भने होइन ।

गत १५ चैतमा तीनकुनेमा राजावादी समूहको आन्दोलनमा पनि प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो । त्यसबेला पनि प्रहरीले प्रदर्शनकारीलाई भड्काउने गतिविधि गरेको आरोप लागेको थियो । उक्त घटनामा पत्रकार सुरेश रजक र प्रदर्शनकारी महर्जनले ज्यान गुमाए ।
विरोध वा आन्दोलनमा सहभागी भीडलाई नियन्त्रणमा लिन सबैभन्दा अग्रस्थानमा रहने प्रहरीले आफैंले संयमता गुमाउँदा अनाहकमा युवाहरूले ज्यान गुमाएका छन् । आजको यो घटनाले गृहमन्त्री रमेश लेखक र नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ । उनीहरूले नैतिक जिम्मेवारी लिनुपर्छ ।
सरकारका कामकारबाही चित्त नबुझेर विरोध गर्ने वा कुनै माग गर्दै प्रदर्शनमा उत्रिएका अब ज्यान गुमाउनुपर्ने हो ? अब राज्यसँग असन्तुष्टि पोख्दा वा कुनै माग गर्दा के अब ज्यानको बलि दिनुपर्ने हो ? आन्दोनल गर्नु अघि दिइएका चेतावनीलाई सरकारमा रहेको नेतृत्व हल्लाका रूपमा लिएर टीकाटिप्पणी गर्नु र राज्यसत्ताले आकलन गरेको भन्दा धेरै प्रदर्शनकारी देखिएमा ताकेर गोली हानेर मार्ने जुन गतिविधि राज्य र प्रहरीबाट भइरहेको छ त्यो निकृष्ट व्यवहार छ ।

तीनकुने घटनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी राजावादीको आन्दोलनलाई जसरी हल्कारूपमा टिप्पणी गरेका थिए जेनजीलेको प्रदर्शनलाई पनि उनले सामान्यरूपमा लिए । तर, जेनजी र राजावादी दुवैले गरेका विरोध प्रदर्शन प्रधानमन्त्रीको आकलनविपरीत भए ।
‘आजको घटनामा हामी गम्भीर छाैँ’
नेपाल प्रहरीले सोमबारको यो घटनालाई गम्भीररूपमा लिएको जनाएको छ ।
प्रहरीका प्रवक्ता विनोद घिमिरेले फरकधारसँगको कुराकानीमा घटनाको आवश्यक अनुसन्धान र ब्रिफिङपछि घटनाले कसरी उग्ररूप लियो भन्नेबारे भन्न सकिने बताए । उनका अनुसार उक्त प्रदर्शनको सुरक्षामा खटिएका प्रहरी कमान्डरसँग छलफल र घटनाको सत्यता बुझेर मात्र यसबारे बोल्न सकिने जानकारी दिए ।
‘ अहिले घटनाको बिफ्रिङ भइरहेको छ । कमान्डलाई बोलाएर कुराकानी गरेपछि भन्न सक्छौँ । आजको आन्दोलमा गम्भीर छौँ । इतिहासमै यस्तो विरोध प्रदर्शनमा भएको यो सबैभन्दा ठूलो घटना हो,’ प्रवक्ता घिमिरेले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।