जेन–जीले २३ भदौमा भ्रष्टाचारमुक्त सरकारको माग गर्दै विद्रोह सुरु गरे । परिणाम प्रहरीको गोली प्रहारबाट २० जना युवा मारिए । अझै दर्जनौं व्यक्ति अस्पतालमा जीवन र मुत्युसँग जुध्दै छन्, केही बेपत्ता छन्, कोही प्रहरीको थुनामा छन् ।
खड्गप्रसाद ओली नेतृत्वको एमाले–कांग्रेस गठबन्धनको सरकारले २३ भदौमा जुन अमानवीय शैलीले नरसंहार मच्चाएर युवाको जघन्य हत्या गर्यो, त्यो घटना नेपालको इतिहासमा सधैं कालो दिनको रूपमा रहिरहनेछ ।
विद्यार्थीको हत्या गरेर आफ्नो हात रगतले पोतिएको पनि पत्तो नपाउने ओलीले चर्को दबाबपछि बल्लतल्ल प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । तर, जाँदाजाँदै ओलीले नेपाली जनतालाई लोकतन्त्रको कुरूप र नृशंस रूप देखाएर गए । यस्तो कुकृत्यका लागि ओलीलाई नेपाली जनताले कहिल्यै माफ गर्ने छैनन् । उनलाई जनताको अदालतमा उभ्याएर कठोर दिनै पर्छ ।
चीनबाट स्वदेश फर्केको पाँच दिनमा जसरी ओलीले जेन–जी विद्रोही विद्यार्थीको हत्या गरे, त्यसले आजभन्दा ३६ वर्ष अगाडि चीनको बेइजिङस्थित तियानम्यान स्क्वायरमा आफ्नै विद्यार्थीमाथि चिनियाँ सरकारले गरेको नरसंहारको स्मरण दिलाएको छ ।
त्यसबेला पनि चिनिया विद्यार्थीले भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दा सयौं विद्यार्थीको हत्या गरेर चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो सत्ता लम्ब्याएको थियो । तर, संसारभरी उक्त नरसंहारको निन्दा अझै पनि हुँदै आएको छ । चिनियाँ जनतालाई अहिले पनि उक्त घटनाले शिर निहुराउन बाध्य बनाउँछ ।
अब सायद एमाले पंक्ति पनि चेतिसकेको हुनुपर्छ । यसैले ओलीलाई तुरुन्त पार्टीबाट निष्कासन गर्नुका साथै तुरुन्त महाधिवेशन बोलाएर नयाँ नेतृत्व छान्ने ल्याकत एमाले पंक्तिले देखाउन सक्नुपर्नेछ ।
प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले जसरी बर्बरतापूर्वक कलिला युवाको हत्या गरे, त्यो घटना नेपाली जनताको हकमा सधैंका लागि कहिले नपुरिने घाउ बनेर रहनेछ । एउटा शासक नालायक भयो भने देश र जनताले कस्तो मूल्य चुकाउनुपर्दो रहेछ भन्ने खल पात्रको रूपमा ओलीलाई सधैं सम्झिइनेछ ।
देश बनाउने सपना देखेर निरंकुश पञ्चायती शासन व्यवस्थाविरुद्ध लडेर लोकतन्त्र ल्याउन तत्कालीन माले र अहिले एमालेले सयौं कार्यकर्ता शहीद भएका छन् । लाखौं प्रतिबद्ध कार्यकर्ताको बलिदान र दिनरातको मेहनतले एमाले बनेको हो । तर, जब ओलीले एमालेको नेतृत्व लिए त्यस दिनदेखि सो दल आम जनतामाझ अलोकप्रिय हुनेक्रम सुरु भयो ।

अझ उनी अध्यक्ष र प्रधानमन्त्री दुवै भूमिकामा भएपछि सर्वसत्तावादी चरित्र देखाउनुको परिणाम अहिले ओलीले मात्र होइन, प्रमुख दलका नेताहरूले पनि भोग्नुपर्यो ।
एउटा व्यक्तिको निरकुंशता र अंहकारका कारण अन्य राजनीतिक दलहरू पनि ओलीसँगै सती जानुपर्ने स्थिति आयो । आफ्ना आलोचकलाई पाखा लगाएर एमाले कब्जा गर्दै आएका ओली अब एमालेमा मात्र होइन, नेपाली राजनीतिमा एकादेशको कथा बन्ने छन् ।
अब सायद एमाले पंक्ति पनि चेतिसकेको हुनुपर्छ । यसैले ओलीलाई तुरुन्त पार्टीबाट निष्कासन गर्नुका साथै तुरुन्त महाधिवेशन बोलाएर नयाँ नेतृत्व छान्ने ल्याकत एमाले पंक्तिले देखाउन सक्नुपर्नेछ । नत्र एमाले पनि प्रजापरिषदको बाटोमा जान धेरै दिन कुर्नु पर्दैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।