२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

देशभरका जेलबाट भाग्न थाले कैदी, रवि रिहाइकै कारण सुरक्षा सङ्कट
फाइल तस्बिर

पछिल्लो दुई दिनयता नेपालको अवस्था निकै भयावह र असामान्य छ । जेनजी पुस्ताले थालेको आन्दोलनले सत्ता मात्रै ढलेन संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबार नै खरानी भए । त्यस्तै, व्यावसायिक भवनदेखि नेताका निवास प्रदर्शनकारीको तारो बने ।  


खड्कप्रसाद ओलीलाई साथ दिइरहेका शेरबहादुर देउवाको त निवास मात्र जलेन, उनी आफैँ आक्रमणबाट जीवन–मरणको दोसाँधमा पुगे । माओवादीका अध्यक्ष प्रचण्डदेखि कांग्रेस–एमालेका नेता को - कहाँ लुक्न भागे अत्तोपत्तो छैन । 



यो आन्दोलनको मूल मर्म र विषय त छँदै छन् । यहीबीचमा नेताहरूको भागाभाग हुँदा अदालतबाट प्रमाणित भएर कारागारमा कैद भुक्तान गरिरहेका कुख्यात अपराधी पनि उत्सवसहित हात हल्लाउँदै घर फर्किरहेका छन् ।  

उनीहरूको यो हिम्मत बढ्नुमा रवि लामिछाने कारागारबाट निस्किनु पनि हो । सहकारी ठगी आरोपमा ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहन्त्री लामिछानेले जेनजीको आन्दोलनलाई अवसरमा बदल्दै घर फर्किएका हुन् । रास्वपा नेताहरूले उनलाई कारागारबाट निकाल्न चर्को दबाब दिएका थिए । 



कारागारबाट निस्केका लामिछानेले सबै प्रक्रिया पुर्‍याएर आफू बाहिर आएको दाबी गरे । कार्यकर्ताले उनलाई स्वागत गरे । तर, रविको स्वागत भइरहँदा लामिछाने रहेको नख्खु कारागारका कैदीहरूले प्रिजन टेकओभर नै गरे । 

निरीह सुरक्षाकर्मीका अगाडि जेलमा रहेका सबै कैदीहरू बाहिरिए । अन्ततः जेल नै जलाइदिए । प्रमुख भनिएको कारागारबाट पूर्वगृहमन्त्री लामिछाने निस्किनु र सबै कैदी भाग्नु देशकै लागि सुरक्षा चुनौती बन्न पुग्यो । 

देशका अन्य प्रमुख शहर धनगढी, पोखरासहित दर्जनौँ जिल्लाका कारागारबाट हजारौं कैदी बन्दी भागेका छन् । नेपालजञ्जमा एक सुधारगृहबाट भाग्न खोज्दा पाँच जनाको ज्यान नै गएको छ । लामिछाने निस्किएपछि देशभरका कारागारमा रहेका कुख्यात, भ्रष्ट, हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधमा जेल सजाय भोगिरहेका अपराधी पनि निस्किएका हुन् । 

देशभरका जेल र सुधार गृह यसरी भत्काइँदा समाजमा फैलिएको असुरक्षा सन्देश अत्यन्त गम्भीर छ । सजाय भोगिरहेका कुख्यात अपराधी एकैपटक बाहिरिनु भनेको राज्यको कानुनी शासन नै ध्वस्त हुनु मात्रै होइन समाजकै लागि भयावह अवस्था सिर्जना हुनु हो । 



रविले नैतिकता नदेखाउँदा र रास्वपाले विवेक गुमाउँदा नै देशभरका कैदी भाग्न थालेका हुन् । 

अझै गम्भीर कुरा के भने यो घटनामा राजनीतिक प्रभाव र दबाबको स्पष्ट सङ्केत देखिन्छ । लामिछानेको विवादास्पद र असामयिक रिहाइले अन्य कैदीहरूलाई पनि मनोबल बढाएको छ भन्ने सन्देश फैलिएको हो । यही कारणले समाजमा सुरक्षा चुनौती मात्र बढेको छैन, अपराधीहरूको मनोबल बढेर अझ हिंसात्मक प्रवृत्ति फैलिने खतरा पनि बढेको छ ।

हुन त यो बेला न्यायपालिका, कार्य पालिका र व्यवस्थापिका नै खरानी भएको छ । तथापि घटनाले राज्यको कानुनी प्रक्रिया र न्याय व्यवस्थामा गम्भीर ढिलाइ र कमजोरी उजागर गरेको छ । नागरिकका लागि न्याय, सुरक्षा र भरोसा सुनिश्चित गर्न, यस्ता घटनाहरूलाई राजनीतिक स्वार्थ र प्रभावभन्दा माथि राखेर तत्काल नियन्त्रण र सुधार आवश्यक छ । 

रास्वपा र रवि लामिछानेले यति नबुझ्दा र आन्दोलनको गलत फाइदा लिँदा देशभरका कारागारका अपराधीलाई मात्र होइन, समाजमा रहेका सामान्य नागरिकमा पनि डर र असुरक्षा फैलाएको छ । 

रविले नैतिकता नदेखाउँदा र रास्वपाले विवेक गुमाउँदा नै देशभरका कैदी भाग्न थालेका हुन् । त्यसैले यो केवल रविको रिहाइ र एक सुरक्षा चुनौती मात्र होइन, कानुनको विरुद्ध, राजनीतिक गैर जिम्मेवारी र अपराधको प्रोत्साहन हुने गम्भीर घटना हो । अहिले नेपाली सेनाले देशको सुरक्षा सम्हालिरहेको बेला यो विषयलाई पनि गम्भीर पनि रूपमा लिनुैपर्ने देखिन्छ । 

त्यति मात्रै होइन, जेन–जी समूहले प्रदर्शनमा घुसपैठ भयो भनिरहेको बेला प्रदर्शनकारीले रवि लामिछानेको मुद्दा रहेका सबै जिल्लाका अदालतमा समेत आगजनी गरेका छन् ।

रविलाई ओली नेतृत्वको सरकारले अनाहकमा दुःख दिएको रास्वपा नेता र उनका समर्थकले बताउँदै आएका थिए । तर, प्रदर्शनकै क्रममा प्रदर्शनकारीले खोजी–खोजी रविको मुद्दा रहेका जिल्ला अदालतमा आगजनी गरिनुले पनि प्रश्न उठाएको छ । 

  • प्रकाशित मिति : २५ भदौ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया