२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

जेनजीको आन्दोलनले त्रसित नेताहरू कहाँ लुके ?

जेनजी पुस्ताले गरेको विद्रोह र त्यसपछि सिर्जित परिस्थितिका कारण अहिले देशको अवस्था अस्तव्यस्त बनेको छ । सरकारी तथा व्यक्तिका भवन र सम्पत्तिमा आगजनी तथा तोडफोड भएको छ ।


देशकै ठूलो प्रशासनिक क्षेत्र सिंहदरबार जलेर खरानी बन्न पुगेको छ । दुई दिनसम्म चलेको जेनजी आन्दोलनले देशको आर्थिक अवस्थाका साथै नेपालका प्रमुख मानिएका राजनीतिक दल र ती दलका नेताको राजनीति नै धरापमा पारिदिएको छ ।



दल र नेतालाई निशाना बनाएर गरिएको आन्दोलनका कारण अहिले देशका राष्ट्रपतिदेखि प्रधानमन्त्री गुमनामजस्तै छन् । ​आन्दोलनकारीले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निशाना बनाएर घरमै पुगेर आगजनी गर्नेदेखि कुटपिटसम्म गर्न भ्याए । 

आन्दोलनकारीको मुख्य निशानामा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनी धर्मपत्नी आरजु राणा देउवा परे । आक्रोशित भीडले बुढानिलकण्ठस्थित देउवा निवासमा आगजनी मात्र गरेनन्, उनीहरूले देउवा दम्पतीलाई कुटपिट र लछारपछारसमेत गरे ।



सांघातिक आक्रमणबाट बल्लबल्ल बचेका देउवा दम्पतीलाई सुरक्षाकर्मीले मृत्युको मुखबाट जोगाए पनि उनीहरूको निवासको संरक्षण गर्न भने सकेन । ​आन्दोलनकारीको भीडले गरेको आगजनीका कारण अहिले देउवा निवास पूर्णरूपमा जलेर नष्ट भएको छ । उनीहरूलाई त्यहाँबाट सेनाले उद्धार गरे पनि कहाँ लग्यो र उनीहरूको अवस्था अहिले के छ भन्नेबारे कुनै जानकारी छैन । 

त्यस्तै नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि आन्दोलनकारीको निशानामा परेका थिए । ओली दम्पती हालसम्म आधिकारिक सूचना बाहिर आएको छैन । 

हालसम्म नेपाली सेनाले कति मन्त्री तथा सांसदलाई सुरक्षित स्थानमा राखेको छ र क–कसलाई राखेको छ भन्नेबारे पनि कुनै सूचना सार्वजनिक गरेको छैन । जसका कारण आम नेपाली नागरिकमा राजनीतिक दलका शीर्ष नेता, मन्त्री तथा सांसद कहाँ र कुन अवस्थामा छन् भन्नेबारे जानकारी खोजिरहेका छन् ।



बालकोटस्थित ओली निवासमा प्रदर्शनकारीले आगजनी गर्न थालेपछि उनी त्यहाँबाट निस्किएको सूचना सञ्चार माध्यममा बाहिरिएको थियो । आन्दोलन चर्किरहेकै बेला ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएको सूचना बाहिरिए पनि उनको अवस्थाबारे भने कुनै जानकारी नेपाली जनतासामु आएको छैन ।

यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि गुमनाम छन् । खुमलटारस्थित प्रचण्ड निवासमा प्रदर्शनकारीले तोडफोड तथा आगजनी गर्न थालेपछि गुमनाम भएका प्रचण्ड अहिले कहाँ र कुन अवस्थामा छन् भन्नेबारे कुनै जानकारी बाहिर आएको छ । त्यस्तै सभामुख देवराज घिमिरेको अवस्थाबारे पनि अहिले कुनै जानकारी बाहिर आएको छैन ।

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलबारे पनि कुनै सूचना बाहिर आएको छैन । उनको बालाजु बोहराटारस्थित निजी निवास र राष्ट्रपति कार्यालय ‘शीतल निवास’मा प्रदर्शनकारीले आगजनी गरेको सूचना सञ्चारमाध्यममा आए पनि उनीको अवस्थाबारे कुनै खबर आएको छैन । उनी सेनाको संरक्षणमा छन् वा अन्य कुनै स्थानमा छन् भन्नेबारे कुनै सूचना छैन । अहिले उनी सेनाको निगरानीमा रहेको आम नागरिकले अनुमान गरेका छन् तर यसबारे सेनाले भने कुनै जानकारी दिएको छैन ।

त्यस्तै कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्का, एमाले नेता गोकुल बास्कोटा, कांग्रेस नेता प्रकाशशरण महत, प्रकाशमान सिंह, प्रदीप पौडेल, नेकपा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, जनार्दन शर्मा, माओवादी महासचिव देव गुरुङ, नेता देवेन्द्र पौडेललगायत नेताहरु पनि मंगलबारको घटनादेखि सम्पर्कविहीन छन् ।

एमाले नेता शंकर पोखरले बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेका कारण उनी सुरक्षित छन् भन्ने अनुमान गर्न सकिन्छ । त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि कुटपिट भएको अफबाह फैलन थालेपछि मंगलबार नै उनको सचिवालयले उनी सुरक्षित रहेको जानकारी दिएको थियो ।

गगन थापाको घरमा आगजनी

यसैगरी एमाले नेता महेश बस्नेतले पनि सामाजिक सञ्जालमा स्टाटस लेखेर सुरक्षित रहेको हुनसक्ने संकेत गरेका छन् । तर, एमाले-कांग्रेस र नेकपा माओवादीका अन्य कुनै पनि नेता तथा सांसदले आफ्नो पछिल्लो अवस्थाबारे जानकारी दिएका छैनन् । जसका कारण उनीहरू कहाँ र कुन अवस्थामा छन् भन्ने उत्सुकता आमजनतामा बढ्दै गएको छ ।

आन्दोलनकारीको निशानामा पर्न थालेपछि सेनाले मन्त्री र केही नेतालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारेको समाचार बाहिरिएका थिए । भैँसिपाटीस्थित मन्त्री क्वार्टरबाट सेनाले मन्त्रीलाई सुरक्षित स्थानतर्फ लगेका भिडियो क्लिप्स सार्वजनिक पनि भएका छन् । तर, हालसम्म नेपाली सेनाले कति मन्त्री तथा सांसदलाई सुरक्षित स्थानमा राखेको छ र क–कसलाई राखेको छ भन्नेबारे पनि कुनै सूचना सार्वजनिक गरेको छैन । जसका कारण आम नेपाली नागरिकमा राजनीतिक दलका शीर्ष नेता, मन्त्री तथा सांसद कहाँ र कुन अवस्थामा छन् भन्नेबारे जानकारी खोजिरहेका छन् ।

असुरक्षित महसुस गरेर उनीहरुले आफ्नो वर्तमान अवस्थाबारे नखुलाएका हुन सक्छन् । तर, पछिल्लो समय प्रदर्शनकारीले संयमता राख्दै शान्तिपूर्ण ढंगबाट अघि बढ्न खोज्दै छन् । त्यसैले अब भौतिकरूपमा नभए पनि सबै नेता तथा सांसद भर्चुअलरूपमा भए पनि जनतासामु आएर आफ्नो स्थितिबारे जानकारी दिनुपर्छ ।

सेनाले सुरक्षित राखिरहेको भनिएका नेताहरू सार्वभौम संसदका सांसद र जनताका प्रतिनिधि पनि हुन् । अहिले उनीहरू कहाँ छन् र कुन स्थितिमा छन् भन्ने जानकारी जनतालाई दिनु सेनाको दायित्व पनि हो । 

  • प्रकाशित मिति : २५ भदौ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया