गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन आग्रह

चितवन– धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अहिले ठप्प छ । बाटो विवादका कारण रोकिएको सो रंगशाला निर्माणको काम अघि बढाउन चितवनका स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीले धुर्मुस–सुन्तली फाउन्डेसनलाई आग्रह गरेका छन् । 
 
गत जेठ १५ गते रंगशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएका थिए । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छाडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना गर्दै भत्काइएको बार आफैँ निर्माण गर्ने वाचा गरेका छन् । स्थानीयवासीले सडक फराकिलो बनाउन पनि माग गर्दै आएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि बाटोको टुंगो लगाउने आश्वासन दिएकी छिन् । स्थानीयले भने बाटो फराकिलो बनाउँदा रंगशालातर्फको भागबाट केही बढी छाड्नुपर्ने माग राखेका छन् । 
    
प्रमुख दाहालले रोकिएको काम तत्काल सुरु गर्नका लागि गृहकार्य अघि बढाइएको बताइन् । स्थानीयवासीको माग सम्बोधन भएको भन्दै उनले यस गौरवको आयोजना सम्पन्न गर्न सबैको सकारात्मक सहयोगको अपेक्षा पनि गरेकी छिन् ।

रंगशाला निर्माण सहयोग समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रोकिएको काम अघि बढाउन पहल गरिएको बताए । जिल्लाका विभिन्न स्थानीय तह र संघ–संस्थामा रहेका नेतृत्व तहलाई समावेश गर्नुका साथै विभिन्न समिति गठन गरेर रकम संकलनका लागि काम अघि बढाउने तयारीमा रहेको उनको भनाइ छ । 

नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले रोकिएको रंगशाला निर्माणको काम अघि बढाउन धुर्मुस–सुन्तली फाउन्डेसनलाई अनुरोध गर्दै साथ र सहयोगमा जुट्न नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यमबहादुर परियारले फाउन्डेसनलाई जनताको साथ र महानगरको रेखदेखमा काम अघि बढाउन आग्रह गरेका छन् ।

रंगशालाको बार भत्काएको अभियोगमा थुनामा परेकाहरु छुटेर पत्रकार सम्मेलन गरी उक्त फाउन्डेसनलाई काम यथावत् सञ्चालन गर्न गर्दै र यसमा आवश्यक सहयोगका लागि आफूहरु तयार रहेको जनाएका छन् । सो ठाउँमा प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी एकाइसमेत खडा गरिएको छ । 

तीन अर्ब रुपैयाँको लागतमा निर्माण गर्न लागिएको सो रंगशालाको शिलान्यास भदौमा गर्नका लागि काम अघि बढाइएको थियो । गएको माघ १६ गते प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भरतपुर महानगर र फाउण्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 



महानगरको पहलमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको जमिन रंगशालाका निर्माणका लागि उपलब्ध गराइएको हो । 



  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार १५:१७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया