काठमाडौं– लोकसेवा आयोगको विज्ञापन रोक्ने निर्देशनको विरोधमा विद्यार्थीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । लोकसेवाको विज्ञापन रोकेर करारमा कर्मचारी भर्ना गर्न नपाइने भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।
लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन पूर्ण समावेशी नभएको भन्दै संघीय संसद्को राज्य व्यवस्था समितिले सोमबार विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो ।
९ हजारभन्दा बढी पदमा विज्ञापन गर्दा निकै कम पदमा मात्र आरक्षण दिइएको भन्दै विभिन्न जाति–जनजाति तथा अपांगता भएकाहरुले विरोध गरेका थिए । लोकसेवाले भने स्थानीय तहगत रुपमा दरबन्दी वितरण गर्दा कतिपय तहमा १ सिट मात्र पर्न गएकाले त्यसमा आरक्षणको व्यवस्था गर्न नसकिएको भन्दै कुल संख्याका आधारमा हिसाब गर्न नमिल्ने बताएको थियो ।
विज्ञापन रद्द गर्ने निर्देशनको सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ ।
शक्ति पृथकिकरणको सिद्धान्तअनुसार संविधानको व्याख्या न्यायपालिकाले गर्छ,विधायिकाले होइन!संसदीय समितिले लोकसेवाको कानुन बमोजिमको बिज्ञापन रद्द गर्न दिएको निर्देशन संबैधानिकअंगको क्षेत्राधिकारमा हस्तक्षेप हो!आरक्षणमा आखिर केन्द्रीकृत प्रणाली चाहिए संघीयता र स्थानीय सरकारको नाटक किन?
— Jayant Nath Khanal (@jayant_n_khanal) June 11, 2019
देखिएको समस्या सुल्झाउनुको सट्टा झन उल्झाउने गरी संसदीय समितिले लोक सेवा आयोगका पदपूर्ति सम्बन्धी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनुले खेदपूर्ण परिस्थिति सृजना भएको छ।
— Madhu Raman Acharya (@MadhuRamanACH) June 10, 2019
सरकारले यस विषयमा गंभीर बनेर आवश्यक भए अध्यादेश नै जारी गरेर भए पनि छिटै पदपूर्ति सुचारु गर्न पहल गर्नुपर्छ!!
यसैबीच, विवेकशील साझा पार्टीले विज्ञप्ति जारी गर्दै लाेकसेवाकाे विज्ञापन रद्द गर्न नहुने बताएकाे छ । ‘राजनीतिक भागबण्डाले राज्यका विभिन्न अङ्गहरू नै जर्जर भइरहेको अवस्थामा फेरि राजनीतिक भागबन्डाकै उद्देश्य राखेर लोकसेवाको विज्ञापन रद्द गरिनु हुँदैन भन्ने साझा पार्टीको अडान छ,’ विवेकशील साझाले मंगलबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
विज्ञापनमा संविधानमा उल्लेखित समावेशीताको सिद्धान्त पालन भए/नभएकोबारे लोकसेवा आयोगको ध्यानाकर्षण गर्न र आवस्यक देखिएमा विज्ञापनको सर्त परिमार्जनको सुझाव दिन सकिने भन्दै विवेकशील साझाले संसदीय समितिले स्वायत्त संवैधानिक आयोगको काममा प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु अत्यन्त गैरजिम्मेवार कार्य भएको ठहर गरेकाे छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।