पर्वत– २०६४ देखि फलेवासबाट प्रसारण हुँदै आएको जिल्लाको पहिलो सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गएराति आगालागी भएको छ ।
रेडियोका स्टेसन म्यानेजर शंकर शर्माका अनुसार मध्यरातमा विद्युत् चुहिएर आगलागी हुँदा रेडियोको ट्रान्समिटर, ७ कम्प्युटर, २ मिक्सर हाइब्रिड टेलिभिजनलगायत सामग्री पूर्णरूपमा नष्ट भएको छ ।
आगलागीपछि रेडियोको प्रसारण बन्द भएको छ । सबै सामान काम नलाग्ने भएपछि प्रसारण बन्द गर्नुपरेको स्टेसन म्यानेजर शर्माले बताए ।
राति १ बजे सुरु भएको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा २ बजे नियन्त्रणमा लिइएको थियो । विद्युत् स्विचमा समस्या आएका कारण सर्र्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीबाट रेडियो रहेको घरका तीन कोठामा समेत क्षति पुगेको छ । ३० लाखभन्दा बढीको क्षति भएको बताइए पनि यकिन विवरण भने आइसकेको छैन । तत्काल खबर पाएका कारण मानवीय क्षति भने नभएको पर्वत प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।