राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेल फर्किन लागेको जनाएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुनः कारागार पठाउन लागेको जिकिर गरेका हुन् । अब आफूमाथि अन्याय नहुने आशासहित कारागार जान लागेको उनले बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु ।’
भदौ २४ गते भएको जेनजी आन्दोलनले उग्ररुप लिएपछि नख्खु कारागारमा रहेको सभापति लामिछाने कारागारबाट निस्किएका थिए । उनले आफू कारागार प्रशासनकै निर्णय अनुसार बाहिर निस्किएको दाबी गरेपनि उनले देखाएको कागजातमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । उनी कारागारबाट निस्किएकै कारण देशभरका कारागारबाट कैदीहरू भागेको आरोप पनि लागेको छ । तर उनले उक्त कुरामा असहमति जनाउँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।