दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्तर्गत हुने यू–१५/यू–१६ र यू–१७ च्याम्पियनसिप वार्षिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । यसमा साफका सदस्य राष्ट्रका युवा टिमले प्रतिस्पर्धा गर्छन् ।
उमेर समूहको साफको पहिलो संस्करण सन् २०११ मा नेपालमा आयोजना गरिएको थियो, जहाँ भारतलाई २–१ ले हराउँदै पाकिस्तान च्याम्पियन बन्यो । उक्त वर्ष यू–१६ साफको नाममा प्रतियोगिता आयोजना गरिएको थियो ।
यस्तै, सन् २०१३ मा पनि यू–१६ कै नाममा साफको आयोजना गरियो । नेपालमा आयोजना भएको दोस्रो संस्करणको साफमा भारत च्याम्पियन बन्यो । यस्तै, तेस्रो संस्करणको यू–१६ साफ सन् २०१५ मा आयोजना गरिएको थियो, जहाँ आयोजक बंगलादेशले उपाधि जित्यो ।

सन् २०१७, २०१८ र २०१९ को संस्करण भने यू–१५ साफको नाममा आयोजना गरियो । तीमध्ये दुई सिजन नेपाल र एक संस्करण भारतमा आयोजना गरिएको थियो । ती तीनवटा सिजनमध्ये भारतले सन् २०१७ र २०१९ तथा बंगलादेशले २०१८ को उपाधि जित्यो ।
सातौं संस्करणको साफ भने यू–१७ को नामबाट आयोजना गरियो । श्रीलंकामा भएको उक्त संस्करणको उपाधि भारतले जित्यो । सन् २०२३ मा भने यू–१६ को नामबाट साफ च्याम्पियनसिपको आयोजना गरियो । भुटानमा भएको उक्त सिजनको उपाधि पनि भारतले नै जित्यो ।
गत वर्ष भएको साफ भने यू–१७ को नामबाट आयोजना गरिएको थियो, जहाँ फाइनलमा जित निकाल्दै भारतले उपाधिमा ह्याट्रिक गर्यो । यसपटक पनि यू–१७ कै नामबाट साफ च्याम्पियनसिपको आयोजना हुँदैछ ।
उमेर समूहको साफमा सर्वाधिक सफल टिमको सूचीमा भारत शीर्ष स्थानमा छ । उसले हालसम्म ६ पटक उपाधि जितेको छ । यस्तै, भारत दुई पटकको उपविजेता टोली पनि हो । ऊ एकपटक मात्र तेस्रो भएको इतिहास छ ।

भारतपछि उमेर समूहको साफमा सर्वाधिक उपाधि जित्ने सूचीमा बंगलादेश छ । उसले अहिलेसम्म दुईपटक उपाधि जितेको छ । यस्तै, पाकिस्तानले एकपटक उमेर समूहको साफ उपाधि जितेको छ । सबै संस्करणको साफमा सहभागिता जनाएको नेपालले भने हालसम्म उपाधि जित्न सकेको छैन ।
नेपालले चारपटक फाइनलमा हार बेहोरेको छ । उपाधि जित्न नसके पनि उमेर समूहको साफमा नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शन भने राम्रो रहने गर्छ । सन् २०१३ मा विमल घर्तीमगर ‘टप स्कोरर’ बनेका थिए ।
उक्त सिजनमा उनले सर्वाधिक ६ गोल गरे । यस्तै, सन् २०२२ मा उनेश बुढाथोकी र गत संस्करणमा सुजन डंगोल ‘टप स्कोरर’ बने । उनीहरू दुवैले चार/चार गोल गरेका थिए ।
यस्तै, नेपालले हालसम्म एकपटक ‘फेयर प्ले अवार्ड’ जितेको छ । नेपालले उक्त अवार्ड सन् २०१५ को साफमा जितेको थियो । नेपाली टिमलाई यसपटक वर्षौंदेखिको उपाधि खडेरी तोड्ने योजनामा छ । प्रतियोगितामा नेपालको कप्तानी प्रशान्त मोक्तानले गर्ने छन् ।
उनी तेस्रोपटक उमेर समूहको फुटबल खेल्न लागेका हुन् । प्रशान्तले साफ यू–१६, १७ र साफ यू–१९ खेलिसकेका छन् । प्रतियोगिताअघि उनले यसपटक राम्रो प्रदर्शन गरेर उपाधि जित्ने दाबी गरे । ‘तयारी राम्रो भएको छ । प्रशिक्षकको रणनीतिअनुसार खेल्छौँ । टोलीमा अनुभवी खेलाडी छन् । राम्रो ‘फाइट’ दिनेछौँ, उपाधि जित्ने लक्ष्य छ,’ प्रशान्तले भने ।

आजदेखि सुरु हुन लागेको साफमा नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ नेपालले सोमबार श्रीलंका तथा बिहीबार बंगलादेशविरुद्ध खेल्ने तालिका छ । अर्को समूहमा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् ।
दुवै समूहको शीर्ष दुईवटा टिमले सेमिफाइनल खेल्ने छन् । नेपालले यसपटक पनि सेमिफाइनल खेल्ने पक्काजस्तै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।