२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

जेनजी आन्दोलन : नयाँ युगको सङ्केत र नेपालको भविष्यको बाटो

नेपालको राजनीतिक इतिहासमा हरेक दशकले नयाँ मोड ल्याएको छ, तर भर्खरै भदौ २३ र २४ गते देशव्यापी रूपमा उर्लिएको जेनजी पुस्ताको आन्दोलनले भने मुलुकलाई झन् गहिरो प्रश्न र चुनौतीको सामना गराएको छ । 


यो आन्दोलनमा ५० भन्दा बढी नागरिकले प्राण गुमाउनु पर्‍यो, सयौँ घाइते भए, अनि भौतिक संरचनाहरूको ठूलो क्षति बेहोर्नु पर्‍यो । तर यस आन्दोलनले के सङ्केत दियो भने, पुराना दलहरूको नेतृत्वप्रति नागरिक तहमा असन्तुष्टि गहिरिँदै गएको रहेछ र अब नयाँ पुस्ताले आफ्नो आवाज थाम्न र बदलिन सक्ने क्षमता राख्छ भन्ने प्रस्ट भएको छ ।



राजनीतिमा एउटा ठूलो सत्य के हो भने, विगतलाई परिवर्तन गर्न सकिँदैन तर भविष्यलाई दिशा दिन सकिन्छ । विगतमा भएका गल्ती र कमजोरीबाट पाठ सिकेर वर्तमानलाई सचेततापूर्वक हाँक्न सकियो भने भविष्य सुन्दर बन्न सक्छ । तर भदौ २३ गतेसम्म पनि राजनीतिक नेतृत्वले त्यस्तो सचेत र जिम्मेवार भूमिका खेल्न सकेन, जसको परिणामस्वरूप ठूलो जनधनको क्षति भयो । यही असफलताले मुलुकलाई अर्को राजनीतिक सङ्कटको मोडमा पुर्‍याएको छ ।

नेपालको राजनीतिले पटक–पटक आन्दोलन, विद्रोह र सङ्क्रमण देखेको छ । तर विडम्बना के छ भने, आन्दोलन सफल भएपछि स्थापित हुने शक्तिहरू नै भविष्यको मार्गचित्र बनाउन असफल भइरहेका छन् ।



कांग्रेस, एमाले, माओवादी, राप्रपा जस्ता परम्परागत शक्तिहरू मात्र होइन, वैकल्पिक शक्तिको दाबी गर्दै आएका दलहरूले समेत नैतिकताको कसीमा आफूलाई प्रमाणित गर्न सकेनन् । जेनजी पुस्ता सडकमा उत्रिनुको मूल कारण यही असफलता थियो ।

यो आन्दोलनले संविधानलाई घाइते बनाएको छ, लोकतान्त्रिक मूल्यलाई कमजोर बनाएको छ भन्ने आक्षेपहरू उठेका छन् । तर गहिरो विश्लेषण गर्दा यसले पुराना संरचनामाथि प्रश्न उठाएको मात्र होइन, नयाँ सोच र नेतृत्वको मागलाई संस्थागत गरेको छ । राजनीतिक नेतृत्वमा देखिएको लालच, उमेर हद हटाएरै पनि पदमा बसिरहन चाहने प्रवृत्ति, फरक मतलाई सहन नसक्ने असहिष्णुता, अनि युवाहरूको मागलाई समयमै सम्बोधन नगर्ने प्रवृत्तिले नै आजको विस्फोट निम्त्याएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनपश्चात् सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु राजनीतिक इतिहासको एउटा नयाँ मोड हो । यसले पुराना राजनीतिक समीकरणलाई तोडेको छ र नयाँ सम्भावनाहरूको ढोका खोलिदिएको छ ।

यो क्षणलाई संसारका अरू उदाहरणहरूसँग तुलना गर्दा पनि देखिन्छ-जसरी माओवादीलाई सशस्त्र संघर्षपश्चात स्वीकृति दिइयो, वा तालिवानलाई अन्तर्राष्ट्रिय शक्ति संरचनाले स्विकार्न बाध्य भयो, त्यसै गरी अहिले नेपालमा पनि आन्दोलनले ल्याएको शक्ति संरचनालाई मान्यता दिनुको विकल्प छैन ।



अहिलेको चुनौती भनेको यस ऊर्जा र विश्वासलाई दीर्घकालीन, संस्थागत र जिम्मेवार शक्तिमा रूपान्तरण गर्नु हो ।

तर यहाँ एउटा ठूलो प्रश्न खडा हुन्छ—जेनजी पुस्ताले आज आन्दोलनमार्फत स्थापित गरेको ऊर्जा भोलि पनि निरन्तर कायम राख्न सक्ला कि सक्दैन ? इतिहासको अनुभवले भन्छ, यदि स्थापित शक्तिले आफ्नो नैतिकता गुमायो भने, त्यो पनि पुराना शक्तिहरूझैँ पतनको बाटोमा जान्छ । त्यसैले अहिलेको चुनौती भनेको यस ऊर्जा र विश्वासलाई दीर्घकालीन, संस्थागत र जिम्मेवार शक्तिमा रूपान्तरण गर्नु हो ।

जेनजी पुस्ताको आन्दोलनले स्पष्ट रूपमा देखाइदिएको छ कि अब मुलुकलाई अघि बढाउन युवालाई अवसर प्रदान नगरी अर्को बाटो छैन । नेपालमा विगतका दशकहरूमा हरेक आन्दोलनमा युवाहरू अग्र पङ्क्तिमा उत्रिएका छन्, तर निर्णायक क्षणमा निर्णय गर्ने भूमिकाबाट उनीहरूलाई टाढा राख्ने प्रवृत्ति दोहोरिँदै आएको छ । यस पटक भने युवाहरूले आफैँलाई ‘निर्णायक शक्ति’का रूपमा प्रस्तुत गरेका छन् । यही कारणले अब राज्यले नीति–नियमदेखि व्यवहारसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्छ ।

युवाहरूलाई अवसर दिनु केवल पद वा हैसियतमा पुर्‍याउनु मात्र होइन, उनीहरूको विचार, ऊर्जा र नवप्रवर्तनलाई राष्ट्रको विकासमा प्रयोग गर्नु हो । हाम्रो जनसङ्ख्याको ठूलो हिस्सा युवा छ, तर बेरोजगारी, पलायन र अवसरको कमीले उनीहरू निराश छन् । यही निराशा आन्दोलनमा रूपान्तरण भएको हो । यदि यो निराशालाई अवसरमा रूपान्तरण गर्न सकियो भने नेपाल केवल राजनीतिक स्थिरतामा मात्र होइन, आर्थिक समृद्धिमा पनि ठूला फड्को मार्न सक्छ ।

युवालाई अवसर दिने सन्दर्भमा शिक्षा, रोजगारी र नवप्रवर्तन सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हुन् । हाम्रो शिक्षाले अझै पनि युवालाई रोजगारी दिनेभन्दा बढी सर्टिफिकेट दिने संस्कारलाई निरन्तरता दिइरहेको छ । परिणामस्वरूप लाखौँ युवा विदेशमा जान बाध्य छन् । जेनजी आन्दोलनले उठाएको अर्को ठूलो प्रश्न नै यही हो—युवाले आफ्नो भविष्य यहाँ सुरक्षित देख्दैनन् भने किन मुलुकमा बस्ने ? त्यसैले सरकारले शिक्षा प्रणालीलाई रोजगारीमुखी बनाउनै पर्छ, प्राविधिक तथा व्यावसायिक तालिमलाई विस्तार गर्नुपर्छ, र स्टार्टअप संस्कृतिलाई प्रोत्साहन दिनुपर्छ ।

आन्दोलनका क्रममा भत्किएका भवन, पुल, सडक र अन्य पूर्वाधारहरूको पुनर्निर्माण पनि मुलुकलाई ठूलो चुनौती बनेको छ ।

त्यस्तै, आन्दोलनका क्रममा भत्किएका भवन, पुल, सडक र अन्य पूर्वाधारहरूको पुनर्निर्माण पनि मुलुकलाई ठूलो चुनौती बनेको छ । तर यो चुनौतीलाई अवसरमा बदल्न सकिन्छ । पुनर्निर्माणमा युवाको सहभागिता सुनिश्चित गर्ने गरी कार्यक्रम ल्याउन सकियो भने, यसले रोजगारी सिर्जना गर्छ र मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ धकेल्छ । उदाहरणका लागि, स्थानीय स्तरमा उद्यमशीलता र ‘मेड इन नेपाल’ उत्पादनलाई जोड दिँदा युवाहरूलाई आफ्नै गाउँ-सहरमा अवसर सिर्जना गर्न सकिन्छ ।

नेपालको आर्थिक समृद्धि केवल अन्तर्राष्ट्रिय सहयोग वा ऋणमा भर पर्नु हुँदैन । हाम्रो विशाल जलस्रोत, पर्यटन, कृषि, सूचना–प्रविधि र पूर्वाधार क्षेत्रमा अपार सम्भावना छ । यी क्षेत्रलाई सन्तुलित रूपमा विकास गर्न सकियो भने नेपालले छोटो अवधिमै ठूलो उपलब्धि हासिल गर्न सक्छ । विशेष गरी सूचना-प्रविधि क्षेत्रमा युवाको सहभागिता र दक्षता चमत्कारिक छ । सरकारले डिजिटल उद्यमलाई प्रोत्साहन दियो भने, नेपालको उत्पादन र सेवा विश्व बजारसम्म पुर्‍याउन सकिन्छ ।

अर्को पक्ष, आर्थिक समृद्धिको आधार सुशासन र पारदर्शिता हो । विगतमा भ्रष्टाचार, नातावाद र असमानताले गर्दा धेरै आर्थिक अवसर खेर गएका छन् । यदि नयाँ नेतृत्वले नैतिकता र पारदर्शितालाई आफ्नो आधार बनायो भने, युवाले देखेको समृद्ध नेपालको सपना पुरा गर्न सकिन्छ । जनताले विश्वास गर्ने वातावरण बनाउन नसकेसम्म, चाहे कति मात्रामा स्रोत र अवसर भए पनि त्यसको सदुपयोग हुने छैन ।

जेनजी पुस्ताको ऊर्जा केवल सडकमा नाराबाजी गर्ने वा आन्दोलनमा उत्रिने मात्र होइन, उसलाई राष्ट्र निर्माणको प्रक्रियामा उतार्न सकिन्छ भने त्यो स्थायी शक्ति बन्नेछ । भत्किएका संरचना पुनर्निर्माण, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र अन्तर्राष्ट्रिय लगानी आकर्षण—यी सबै युवाको सक्रिय सहभागिताबिना सम्भव छैनन् ।

नेपालको राजनीतिक भविष्यबारे चर्चा गर्दा पहिलो कुरा स्पष्ट छ-अब पुरानै शैली र सोचका साथ मुलुक अघि बढ्न सक्दैन । जेनजी आन्दोलनले देखाइदिएको यो सन्देशलाई राजनीतिक दलहरूले आत्मसात् गर्न सके भने उनीहरूको अस्तित्व दीर्घकालीन बन्न सक्छ, तर उपेक्षा गरे भने इतिहासका पानामा सीमित हुनेछन् । कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता परम्परागत दलहरूले अहिले उठेका प्रश्नलाई केवल प्रतिक्रियावादी भनेर टार्न खोजे भने त्यो उनीहरूका लागि आत्मघाती हुनेछ । किनभने युवाहरूले उठाएका माग केवल भावनात्मक होइनन्, व्यावहारिक र जीवनसँग प्रत्यक्ष जोडिएका माग हुन् ।

दलहरूको भविष्य अब दुई वटा बाटोमा बाँडिएको देखिन्छ । पहिलो, उनीहरूले आफ्ना संरचना, नेतृत्व र सोचमा आमूल परिवर्तन गरेर नयाँ पुस्तालाई समेट्छन् । यसो गर्न सकेमा उनीहरू अझै पनि राजनीतिक रूपले प्रभावशाली रहन सक्छन् । दोस्रो, यदि उनीहरूले अहिलेजस्तै पुरानो ढर्रा निरन्तरता दिए भने उनीहरू जनताबाट अस्वीकृत भई पतनतर्फ लम्कनेछन् । माओवादीको हालको अवस्था नै यसको ज्वलन्त उदाहरण हो—एक समय विशाल जनसमर्थन पाएको शक्ति आज अस्तित्व बचाउन सङ्घर्षरत छ ।

राजनीतिमा नेतृत्व हस्तान्तरणको संस्कृतिको अभाव नेपालका दलहरूको मूल समस्या हो । ‘युवा पुस्ता नेतृत्वमा आउनुपर्छ’ भन्ने कुरा नेताहरू मुखमा ल्याउँछन्, तर व्यवहारमा आफ्नै पद छाड्न तयार हुँदैनन् । उमेर हद मिच्ने, नियम परिवर्तन गर्ने, वा फरक मतलाई कुचल्ने जस्ता प्रवृत्तिले दलभित्रको आस्था कमजोर पार्छ । यसै कारण आज युवाहरू परम्परागत दलका विद्यार्थी संगठनमा आकर्षित छैनन् । भविष्यमा दलहरूले यो प्रवृत्ति नछाडे अर्को आन्दोलन अझै ठूलो र गहिरो हुने सम्भावना प्रस्ट छ ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको विचारधारात्मक स्पष्टता हो । नेपालका दलहरू अहिले विचारभन्दा बढी सत्तामा केन्द्रित छन् । जसले गर्दा उनीहरूबीचको वैचारिक भिन्नता धुम्मिएको छ, अनि नागरिकले तिनको भिन्न पहिचान खोज्न कठिन भएको छ । जेनजी पुस्ताले यही कारण नयाँ राजनीतिक विकल्प खोजिरहेको छ । त्यसैले परम्परागत दलहरूले यदि आफ्नो अस्तित्वलाई टिकाउन चाहन्छन् भने विचार, सिद्धान्त र आचारसंहितामा स्पष्टता ल्याउनै पर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रसङ्ग पनि यहाँ महत्त्वपूर्ण छ । वैकल्पिक शक्ति भन्दै उदाएको यो दलले पनि जेनजी पुस्तालाई आवश्यक नेतृत्व, नैतिकता र दृष्टि दिन नसक्दा आलोचनाको शिकार भएको छ । यसको अर्थ, केवल नयाँ नाम वा नयाँ अनुहार देखाएर राजनीति लामो समय चल्दैन । राजनीति नैतिकता, कार्यदक्षता र दीर्घकालीन सोचमा टिकेको हुन्छ । रास्वपालगायत अन्य नयाँ दलले यस पटक पाठ सिक्न जरुरी छ - यदि तिनले पनि पुरानै गल्ती दोहोर्‍याए भने तिनीहरूको अवस्था पनि ठ्याक्कै पुराना दलझैँ हुनेछ ।

जेनजी पुस्ता कुनै अस्थायी आक्रोशको परिणाम होइन, यो दीर्घकालीन सामाजिक-राजनीतिक चेतनाको अभिव्यक्ति हो ।

अब नेपालका राजनीतिक दलहरूले के बुझ्न जरुरी छ भने, जेनजी पुस्ता कुनै अस्थायी आक्रोशको परिणाम होइन, यो दीर्घकालीन सामाजिक-राजनीतिक चेतनाको अभिव्यक्ति हो । जसलाई बेवास्ता गर्दा मुलुक निरन्तर अस्थिरतामा धकेलिन्छ । संसद् विघटनबारे परम्परागत शक्तिहरूले उठाएका प्रश्नलाई नागरिकले अब बेग्लै नजरले हेरेका छन् - किनभने जनताले संसदलाई विश्वास गर्ने आधार नै देखेनन् । यस्तो परिस्थितिमा दलहरूले आफ्नो आन्तरिक लोकतन्त्र, जबाफदेहिता र पारदर्शिता बलियो बनाउन जरुरी छ ।

अन्त्यमा भन्नै पर्छ, नेपाली राजनीति अझै पनि ५० को दशकदेखि सुरु भएको विकृति, लालच र व्यक्तिगत स्वार्थको चक्रव्यूहमा अल्झिएको छ । यो चक्रव्यूह तोड्ने शक्ति भनेकै नयाँ पुस्ता हो । जेनजी पुस्ताले विद्रोहमार्फत त्यो सङ्केत गरिसकेको छ । अब प्रश्न के छ भने, पुराना दलहरूले आफूलाई सच्चाउने साहस देखाउँछन् कि देखाउँदैनन् ? यदि देखाए भने नेपालको भविष्य स्थिर, समृद्ध र लोकतान्त्रिक बन्न सक्छ । यदि नदेखाए भने, अर्को ठूलो भड्खालो अपरिहार्य हुनेछ, जसको परिणाम अनुमान गर्न पनि कठिन हुनेछ ।

नेपाललाई अब आवश्यकता छ - नैतिक राजनीतिमा अडिग नेतृत्व, युवाको सक्रिय सहभागिता, आर्थिक आत्मनिर्भरता र सामाजिक न्यायको आधारमा टिकेको लोकतन्त्र । यही बाटो समात्न सके मात्रै भर्खरैको आन्दोलनले देखाएको पीडा र बलिदान व्यर्थ हुनेछैन ।

  • प्रकाशित मिति : ३० भदौ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया