२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

वेस्ट इण्डिजविरुद्ध टी-२० सिरिज खेल्ने नेपालको टिम कति बलियो ?

नेपाली क्रिकेट टिम वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिजको तयारीमा जुटेको छ । अहिले खेलाडी अभ्यासमा व्यस्त छन् । 

सिरिजको मिति नजिकिएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले टिमसमेत घोषणा गरेको छ । क्यानले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।



यस्तै, उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीले नै पाएका छन् । 



मुख्य प्रशिक्षक स्टुअर्ट लले टिममा केही परिवर्तन गरेका छन् । उनले टोलीमा तीन खेलाडी परिवर्तन गरेका हुन् ।

प्रशिक्षक लले भीम सार्की, रिजन ढकाल र रुपेश सिंहलाई बाहिर राख्दै ललितनारायण राजवंशी, सन्दीप जोरा र मोहम्मद आदिल आलमलाई टिममा मौका दिएका हुन् । टोलीमा बाँकी खेलाडी भने पुरानै छन् । 

हेडकोच लले खेलाडीको पछिल्लो लयलाई ध्यानमा राख्दै टिममा केही परिवर्तन गरेको बताइएको छ । टोलीमा फर्किएका सन्दीप र आदिलले यही भदौमा भएको आसामविरुद्धको टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उक्त श्रृंखलामा सन्दीपले ५ खेलमा १५१.२२ को स्ट्राइक रेटमा सर्वाधिक १ सय ८६ रन बनाए, त्यसक्रममा उनले दुई अर्धशतकीय पारी खेले । नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेका सन्दीप ‘प्लेयर अफ द सिरिज’ घोषित भए । 



उनी पछिल्लो समय नेपालको प्रमुख टिममा पर्न बनाउन संघर्ष गरिरहेका थिए । सन्दीपले सन् २०२४ यता पहिलोपटक प्रमुख टिममा मौका पाएका हुन् । वेस्ट इण्डिजविरुद्धको सिरिज उनका लागि आफूलाई प्रमाणित गर्ने महत्वपूर्ण अवसर हुनेछ । यस्तै, अलराउन्डर आदिल आलमले तीन वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । 

भारत भ्रमणमा उनको प्रदर्शन पनि राम्रो रहेको थियो, जहाँ आदिलले चार इनिङमा २०२.३८ को उत्कृष्ट स्ट्राइक रेटमा ८५ रन जोडे । यस्तै, उनले पाँच इनिङमा तीन विकेट पनि लिए । आदिल सन् २०२२ पछि नेपालको जर्सीमा देखिन लागेका हुन् । 

स्पष्ट फिक्सिङको आरोपका कारण आदिलले तीन वर्ष कुनै पनि घरेलु प्रतियोगिता खेल्न पाएका थिएनन् । त्यस्तै, स्पिनर ललितनारायण राजवंशी केही महिनाको अन्तरालमा टी–२० टिममा फर्किएका छन् ।

आमाको निधनका कारण उनले यही भदौमा सम्पन्न अस्ट्रेलिया भ्रमण गुमाएका थिए । सन्दीप, ललित र आदिलसहित वेस्ट इण्डिजविरुद्धको सिरिजमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव र साहब आलमले पनि मौका पाएका छन् ।

यो टिमले अब २७, २९ र ३० सेप्टेम्बरमा दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट इण्डिजविरुद्ध पहिलोपटक सिरिज खेल्नेछ । वेस्ट इण्डिजसँगको सिरिजलाई राष्ट्रिय गौरव र एकताको प्रतीकका रूपमा पनि हेरिएको छ । 

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा समर्पित ‘युनिटी कप’ले क्रिकेटमार्फत समाजमा एकताको सन्देश दिने अपेक्षा गरिएको छ ।

यस्तै, वेस्ट इण्डिजजस्तो शक्तिशाली टोलीसँग खेल्दा नेपालले आफ्नो कमजोरी सुधार गर्ने मौका पनि पाउनेछ । यसले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालको रणनीति र टोली निर्माण गर्न मद्दत पुग्ने खेलाडी र प्रशिक्षकको विश्वास छ । 

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । समूह चरणमा नेपालले ८ अक्टोबरमा कुवेत र १० अक्टोबरमा जापानविरुद्ध खेल्ने तालिका छ ।

नेपाली टिम ओमानमा हुने विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रोपटक तथा समग्रमा तेस्रोपल्ट विश्वकपमा स्थान बनाउने योजनामा छ । 

कति बलियो छ नेपालको टिम ?

प्रशिक्षक लले वेस्ट इण्डिजविरुद्ध खेल्ने नेपालको टिम सन्तुलित देखिन्छ । टिममा अनुभवी खेलाडीको बाहुल्यता छ । आक्रामक ब्याटर आदिलको पुनरागमनले नेपालको टोली थप बलियो बनेको छ ।

नेपालसँग प्रारम्भिक ब्याटरको रूपमा आसिफ शेख, कुशल भुर्तेल र लोकेश बम रहेका छन् । उनीहरूमध्ये लोकेशलाई प्रशिक्षक लले फिनिसरको रूपमा पनि प्रयोग गर्न सक्छन् । 

यस्तै, मध्यक्रमको ब्याटरको रूपमा नेपालसँग सन्दीप जोरा, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आरिफ शेख र गुलशन झा रहेका छन् । फिनिसरको रूपमा मोहम्मद आदिल आलम र लोकेश बम हुने सम्भावना छ । 

नेपालको टिममा बलिङमा सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव, ललितनारायण राजवंशी र साहब आलमजस्ता अनुभवी बलर हुने छन् । 

  • प्रकाशित मिति : ३० भदौ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया