१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

गगन थापाले भने- पार्टी पुनर्गठनका लागि पद छोड्न तयार छु
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिलाई स्वीकार गर्दै संविधान र लोकतन्त्रलाई जोगाउने मुख्य जिम्मेवारी ‘तोकिएको समयमा निष्पक्ष निर्वाचन सम्पन्न गर्नु’ भएको बताएका छन् ।


फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै थापाले अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटनपछिको अवस्थालाई संविधानसम्मत ठहर गर्न सकिने/नसकिने प्रश्न चाँडै संवैधानिक निरुपणमार्फत् टुङ्गिने उल्लेख गरेका छन् ।  



थापाले भनेका छन्, ‘अन्तरिम सरकार गठन भइसकेको छ । निर्वाचनको मिति घोषणा भइसकेको छ । एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएको नाताले हामीले निर्वाचन सुनिश्चित गराउन सहयोग गर्नुपर्छ । तर, सरकार कहीँकतै अलमलियो वा जिम्मेवारीबाट विचलित भयो भने कांग्रेसले खबरदारी गर्नुपर्छ ।’

उनले पार्टीका साथीहरूलाई स्मरण गराउँदै भनेका छन्, ‘भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउनु आजको मुख्य राष्ट्रिय जिम्मेवारी हो ।’



थापाले प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय सरकार कायम रहेको स्मरण गराउँदै ती संवैधानिक निकाय र लोकतान्त्रिक संस्थाहरूलाई जोगाउन सचेत खवरदारी गर्नुपर्नेमा जोड दिए ।

उनले भदौ २३ गते राज्यद्वारा आन्दोलनकारीमाथि भएको दमनलाई अक्षम्य ठहर गर्दै दोषीलाई कानुनअनुसार दण्डित गराउने प्रतिबद्धता जनाए । भदौ २४ र त्यसपश्चात् भएको विध्वंश र आगजनीबारे पनि वास्तविक क्षति आकलन गरी दोषीलाई कारबाही गर्न निरन्तर दबाब दिनुपर्ने धारणा राखे ।

 



 

 

त्यस्तै, संघीय राजनीति असहज अवस्थामा रहँदा पनि प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तत्काल प्रारम्भ गर्नुपर्ने थापाको भनाइ छ । उनले कोभिड महामारीको समयमा जस्तै स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्दै नागरिक सेवा प्रवाहमा कमी हुन नदिन आग्रह गरे ।

पार्टीभित्र सुधार अपरिहार्य रहेको बताउँदै थापाले संविधान दिवसकै दिनदेखि पुनर्गठन अभियान सुरु गर्न प्रस्ताव गरे । ‘जेन–जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रिया, मुद्दा र शैलीमा आमूल सुधार आवश्यक छ । यसका लागि म आफ्नो पदीय जिम्मेवारी छोड्न पनि तयार छु,’ उनले लेखेका छन् ।

उनले पार्टीका सबै तहगत समितिलाई गल्ती स्वीकार गर्दै आत्मसमीक्षा, आत्ममूल्याङ्कन र आत्मसंकल्प गर्न आह्वान गरे ।

थापाले सभापति शेरबहादुर देउवासहित कांग्रेसका धेरै नेता, कार्यालय र लोकतान्त्रिक संस्थामाथि भएको साङ्घातिक आक्रमणको निन्दा गर्दै घाइतेहरूका शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

उनले आन्दोलनमा मारिएका युवाको स्मरण गर्दै भनेका छन्, ‘जलेका संरचना पुनर्निर्माण गर्न सकिन्छ, तर गुमेको जीवन फर्किँदैन । भ्रष्टाचारमुक्त, स्वच्छ र जनमुखी राजनीतिको सपना देखेका युवाहरूको बलिदान खेर जान दिने छैनौँ ।’

  • प्रकाशित मिति : ३० भदौ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया