२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

विद्रोहको आगो सल्केको त्यो दिनको चाहना र अबको बाटो

२०४६को जनआन्दोलनमा कलेजको विद्यार्थीको हैसियतले सहभागी भइयो भने त्यसपछि  दश वर्षे जनयुद्ध, ०६२, ०६३को ऐतिहासिक जनआन्दोलन, संविधान निर्माण लगायतका आन्दोलनलाई पत्रकारिताको विद्यार्थीको हैसियतले प्रत्यक्ष हेर्ने र लेख्ने काम गरियो । आम नागरिक समक्ष जे भएको छ त्यही जस्ताको तस्तै पस्किने काम  गरेको पनि ३३ वर्ष नाघेछ । 


शान्ति , विकास , मानव अधिकार र स्वतन्त्रताका लागि भएका कैयौँ सङ्घर्षहरूमा घटेका घटनाहरू कहाली लाग्दा नै थिए । जघन्य मानव अधिकार उल्लंघनका घटना भएकै थिए । दश वर्षे सशस्त्र द्वन्द्व जनयुद्धमा राज्य र आन्दोलनकारीबाट भएका जघन्य आपराधिक घटनाहरू सम्झिदा अहिले पनि मुटु नै पोल्छ । 



अहिले पनि त्यसमा देखिएका दोषीलाई कारबाहीको दायरामा ल्याइएको छैन । किनकि सत्तामा पालैपालो बसेका जिम्मेवार भनिएका दलका नेता , ब्यूरोक्रेसीका केही अधिकारीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरूको भूमिकाले कारबाहीमा नल्याउनका लागि काम गरेको छ ।

देशमा गणतन्त्र आन्दोलनबाटै आयो तर जनताको अपेक्षा बिना संघीयता लादियो अनि प्रारम्भ भयो पुनः कुशासन र लुटतन्त्र । परिवर्तनका लागि लडेका कतिपय राजनीतिक दल र नेताहरूमा चढेको अहम् घमन्ड मात्र होइन अब त हामीलाई कसले दिन्छ चुनौती भन्ने सोचको विकास हुँदै गयो ।  



नेता र दलले संघर्ष गरेर परिवर्तन त गरे तर परिवर्तनलाई जनभावना अनुसार काम गर्नुको साटो आफन्त , आफ्ना र गुटलाई संस्थागत गर्ने गरी कुशासनमा लिप्त भए  । ब्यूरोक्रेसी , संवैधानिक निकाय सहित अन्य सेवा क्षेत्रमा रहेका धेरै आफ्नो स्वार्थमा मात्र केन्द्रित भए ।

केही प्रतिशत इमानदार पनि  थिए तर तिनीहरू छायामा परे ।  त्यसको कटु आलोचना हुँदा पनि संविधान, कानुनको खिल्ली उडाउँदै घमन्ड अहम्ताले सीमा नै नाघ्यो । सच्चिन गरिएका आग्रहलाई खिसिट्यूरी गर्ने काम भयो । 

अति भएपछि खति हुन्छ भनेझैँ ०८२ भाद्र २३ गते युवाहरू भ्रष्टाचार विरुद्ध , सुशासन कायम गर्न र केपी ओली नेतृत्वको  एमाले कांग्रेसको सरकारबाट भएको  सामाजिक सञ्जाल बन्द  विरुद्ध  प्रदर्शनमा उत्रिए । युवा विद्यार्थीहरू स्वस्तफूर्त रूपमा देशव्यापी रूपमा एक साथ उत्रिए । पहिलो दिन  नै शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले सयौँ राउन्ड अश्रुग्याँस, हवाई फायर मात्र प्रहार गरेन कि अबोध युवा युवतीमाथि अन्धाधुन्ध गोली ठोक्यो । म लगायत मेरो अफिसका साथीहरू अश्रुग्यास खादै घटनाको प्रत्यक्ष प्रसारणमा जुटेका थियौ । हाम्रै आँखा अगाडि ती युवाहरू रगताम्मे भएर ढले । 

टाउकाको गिद्धी क्षतविक्षत हुने गरी  गोली लागेपछि अस्पताल नपुर्याउदै कैयौँको ज्यान गयो । ज्यान जोगाउन     कलेज र घर भित्र  पसेका युवाहरूलाई पनि प्रहरीले  छोडेन । पचासौँ हजार युवाहरू सडकमा थिए ।   १९ जना एकै दिन ठहरै भए । युवाहरूको रगतले मुलुक लतपतियो ।



देशमा रोजगारी नदिने  सरकार , शिक्षा स्वास्थ्यका लागि मतलब नगर्ने भ्रष्ट शासकहरूले देश कङ्गाल बनाए आफूहरू मोटाए । त्यसैले  देशमा बढ्दै गएको चरम भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर सडकमा उत्रिएकामाथि गरिएको आक्रमणबाट झण्डै १५ सय घाइते भए  भने ७५ बढीको मृत्यु भएको छ ।  

भदौ  २३ गते  दिनभरि  आँखा अगाडि युवाहरू ढलेको घाइतेहरूको अवस्था सहितको समाचार बनाएर घर फर्किदा  १० कक्षामा पढ्दै गरेको मेरो छोरा समाचार हरेर निकै स्याड भएको अवस्थामा थियो । बाबु दुखी भएको देख्दा  मेरो आँखाबाट बगेको आशु निकै बेर थामिएन   । दिनभरि अश्रुग्यास खानुपर्दा रसाएका आँखा यसै पनि  थामिएका थिएनन् ।  म जस्तै साथीहरूलाई कस्तो नराम्रो गरी गोली हानेर मारेको रहेछ है पापा भनी छोराले भन्दै थिए  । राति अबेर सम्म छोराले निद्रा नै लागेन भन्दै छटपटिँदा मैले सम्झाउने  प्रयास त गरे  तर... !

मलाई लाग्छ त्यस दिन  प्रत्येक घरका बच्चाहरू र अभिभावकहरू बिछिप्त भएका थिए ।कोही पनि  निदाउन सकेका थिएनन्  । तर के गर्ने पत्रकारिता गर्ने हामी जस्तोसुकै कठिन अवस्था र रगताम्य मैदान हुँदा पनि घटनाको यथार्थ कुरा  आम नागरिकमा पुर्‍याउने भूमिकाबाट पछि हट्नुहुँदैन ।  त्यति मात्र कहाँ हो अहिले र भन्न र लेख्न बस्दा पनि आङ  सिरिङ्ग हुन्छ  । आन्दोलनको दोस्रो दिन देश नै खरानी भयो भन्दा पनि हुन्छ ।  त्यो देखेर बिछिप्त मन  बनाएर अफिस पुगेर समाचार लेख्ने प्रसारण गर्ने  भयो जब काम सकेर राति साढे साढे ९ बजे घर फर्किँदै गर्दा धेरै ठाउँ ठाउँमा आगो बलेको थियो ।

आगो र उत्तेजित भीडबाट तर्किँदै सिंहदरबार, सुकेधारा हुँदै चक्रपथ पुग्ने वेला भाटभटेनी दनदनी बोलिरहेको, बारीपारिबाट ढुङ्गा हान्ने काम प्रदर्शनकारीले गरेका थिए निकै डर पनि लाग्यो  ।  गाडीमा एक्लै  । फनक्क फर्किऊ भने भाग्यो भन्लान् झम्टिएलान् भन्ने डर भो ।  तत्काल निर्णय गरे  जे होला अगाडि बढ्छु भनेर आगो, आगोमा ढुङ्गा मुडामा गाडी ठोक्काउँदै अगाडि बढे  तीन मिनेट पार गर्न कैयौँ  दिन जस्तो लाग्यो मात्र होइन अनेक कुरा सम्झिए दुई हप्ताका लागि नर्वे गएकी छोरीले पटक पटक  कुनै हालतमा बाहिर निस्कनु है पापा । यस्तो बेला अफिस नगएर जागिर जान्छ भने जावस् भनिरहेको कुरा मात्र होइन घरमा दाजुको अवस्था त्यस्तो छ आदि के के सम्झे, सम्झे । 

हरेक अभाव बिर्सिएर ज्यानको वाजी थापेर पत्रकारले  जस्तोसुकै अप्ठ्यारोमा पनि भूमिका निर्वाह गर्ने गरेका छन् । 

 नभन्दै एक दुई जनाले ठोक ठोक भन्दै थिए अनि केहीले गाडी भित्र हेरेर ए मिडियाकै साथी हुनुहुँदो रहेछ भन्दै जानुस् ,जानुस् भने अनि बल्ल लामो सास फेरेँ । चोक कटेपछि नयाँ जीवन पाएको अनुभूति गरे । इमानदारितापूर्वक पत्रकारिता गर्नेलाई कुनै समयमा चिनिँदो रहेछ भन्ने पनि महसुस भयो   ।   त्यो घटना र  संघीय संसद् जलिरहेको बेला भित्रै  प्रदर्शनकारीले यी मिडिया पनि झोले त होइनन् भन्दै गरेको एवं गाडी भित्रै आँखाको तारो र आफ्नै आँखा अगाडि ती अबोध युवाहरू ढलेको झल्को आइरहेको थियो । दोस्रो दिनको नरसंहार भएको घटना   अहिले पनि  दिमागमा  घुमिरहेको छ । 

मिति नाघेका अश्रुग्यास प्रहारले आँखामा पानी छम्किँदै रिपोर्टिङ गर्दा कतिपय बेला आफैंलाई पनि कतै केही त हुने होइन भन्ने पनि हुन्थ्यो नै  । तर अरूको भन्दा कमजोर होइन थप राम्रो सामग्री लिने ध्येयको हुटहुटी पहिले देखिको थियो र यस पटक पनि  स्रोत साधनले भ्याए सम्म कमी हुन दिइएन । फिल्डमा म सहित साथीहरू युवगाहा मगर , चन्द्र धामी , दिनेश लोहनी, जेपी श्रेष्ठ, बिजेश शाक्य सहितको टिम लागेका थियौँ । अफिसमै रहेर भूमिका खेल्ने साथीहरूको योगदान पनि उत्तिकै थियो  । हरेक अभाव बिर्सिएर ज्यानको वाजी थापेर पत्रकारले  जस्तोसुकै अप्ठ्यारोमा पनि भूमिका निर्वाह गर्ने गरेका छन् । 

पहिलो दिनको कहाली लाग्दो सरकारी हस्तक्षेपबाट अन्तर्राष्ट्रिय समुदायले  गम्भीर चिन्ता मात्र गरेन  सरकारले चरम मानव अधिकार उल्लङ्घन गरी कालो  दिनको रूपमा परिणत गरायो भनी सरोकार राख्यो पनि ।  तर ओली सरकारलाई त्यसले छोएन ।  सत्ता साझेदार दल नेपाली कांग्रेसका पदाधिकारीको दबाबमा गृहमन्त्री रमेश लेखक सम्मले राजीनामा त दिए तर पश्चात्ताप भने गरेनन् । सत्तामा गएपछि यथार्थ पक्ष कुनै पनि व्यक्तिले पनि भुल्दो रहेछ भन्ने यो घटनाले पुनः साबित गरेको छ । 

पहिलो दिनको घटनाले आम नागरिक , युवा विद्यार्थीहरूको रगत यति तात्यो कि त्यस दिन राति शायद कोही पनि सुत्न सकेनन् । तर राज्यको नेतृत्व गरेका केपी ओलीले माफी मागेर राजीनामा दिनुको साटो उल्टै उडाउने काम गरे । अहम् घमन्ड र दम्भले सीमा नाघेको झल्को स्पष्ट देखिन्थ्यो । अहम् र घमन्डले नै यो युवाहरूको प्रदर्शनका लागि बिउ रोपेकै हो ।  एकातिर अबोध बालबालिकामाथि चरम दमन अर्कोतिर ओली सरकारको बहुलट्ठीपनको कारण दोस्रो दिन युवाहरू मात्र होइन अभिभावक पनि देशव्यापी रूपमा सडकमा उत्रिए ।  

एकातिर अबोध बालबालिकामाथि चरम दमन अर्कोतिर ओली सरकारको बहुलट्ठीपनको कारण दोस्रो दिन युवाहरू मात्र होइन अभिभावक पनि देशव्यापी रूपमा सडकमा उत्रिए ।  

जेनजी समूहले आह्वान गरेको प्रदर्शनमा अन्य नदेखिने शक्ति पनि मिसियो । अनि संघीय संसद् भवन , सिंहदरबार , सर्वोच्च अदालत सहित अन्य अदालत, राष्ट्रपति भवन , प्रधानमन्त्री निवास , मन्त्री निवास , राष्ट्रिय उद्योगहरू , पाँचतारे होटल , अन्य महत्त्वपूर्ण सरकारी कार्यालय ,पार्टी कार्यालय , नेताका घर मात्र होइन , प्रहरी चौकी माथि केही   घण्टाको बिचमा ध्वंस हुने गरी आगो मात्र लगाइएन कि तोडफोड पनि गरियो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा , उनकै पत्नी आरजु राणा देउवाले कुटाइ पनि खाए ।  नेपाली सेना सहितका सुरक्षा निकायको अगाडि संसद् भवन जल्यो , सिंहदरबार जल्यो , सर्वोच्च अदालत ध्वस्त भयो । सिंहदरबार र सर्वोच्च अदालत सहित  महत्त्वपूर्ण सरकारी कार्यालय ध्वस्त मात्र होइन देशको इतिहास नै खरानी भएको छ । 

प्रधानमन्त्री निवास,  नेपाली सेनाको परमाधिपति राष्ट्रपतिको कार्यालय समेत ध्वस्त हुँदा सुरक्षा निकायले किन जोगाउन सकेन ।  स्वाभाविक रूपमा गम्भीर प्रश्न अहिले पनि सर्वत्र छ ।  प्रधानमन्त्री , मन्त्रीहरू भागाभाग हुन थालेपछि बल्ल प्रधानमन्त्री  पदमा बसेका केपी ओलीले  राजीनामा दिए ।  समयमै सङ्कटकाल घोषणा गर्न सिफारिस गरेर राजीनामा दिएको भए यो क्षति नेपाली सेनाले हुन दिने थिएन । प्रहरीलाई  हतियारले सुसज्जित र बलियो नबनाउने ,नेपाली सेनालाई निर्णय गरेर आदेश नदिने अनि आफ्नो अकर्मण्यता ढाकछोप गर्न दल र नेताहरू सुरक्षा निकाय माथि लगाउन पछि परेनन् ।  

सत्तामा गएपछि सामदाम षडयन्त्र चलखेल पनि नछोड्ने, पार्टीको नेतृत्वमा पुगेपछि हिँड्न सकुञ्जेल दोस्रो पुस्तालाई हस्तान्तरण गर्न नखोज्ने प्रवृत्तिले पनि आम नागरिकहरू वाक्क दिक्क भएका थिए । अहिले यो सङ्कटको घडीमा पनि मूल नेतृत्वमा अब हामी नेतृत्वमा बस्दैनौ अभिभावक भएर युवा पुस्तालाई हस्तान्तरण गर्छौ भन्न नसक्ने कस्तो निर्लिप्तता हो । कस्तो घमन्ड हो ।  

समयमै सङ्कटकाल घोषणा गर्न सिफारिस गरेर राजीनामा दिएको भए यो क्षति नेपाली सेनाले हुन दिने थिएन ।

आज भागेर सुरक्षा निकायको शरणमा बस्नुपर्छ भन्ने यिनीहरूले कहिल्यै  सोचेका थिए  त ? दुई दिन त्यो ४० घण्टामा यो खालको विध्वंस र निर्दोष युवाको  हत्या  नेपालमा त के विश्वमै यस्तो भएको थिएन । युद्धमा बाहेक यस्तो नरसंहार संसारमा यति छिटो कहीँ भएको थिएन ।  देशको सार्वजनिक सम्पत्ति खरानी भएको छ खर्बौँको नोक्सान भएको मात्र होइन फेरि देश धेरै वर्षका लागि पछाडि परेको छ । 

प्रदर्शनकारीको माग अनुरूप संसद् बाहिरबाट सरकार त बन्यो तर आम नागरिक र युवाहरूको चाहना अनुसार अहिले पनि काम हुने छाँट छैन । यदि त्यसो भयो भने पुनः आन्दोलन हुने निश्चित छ  ।    भाद्र २४ गते नरसंहार भएपछि रातिदेखि नेपाली सेनाले  संयोजनकारी भूमिका निर्वाह गर्यो र सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्की  प्रधानमन्त्री नियुक्त भएपछि सेना ब्यारेक फर्कियो ।  अर्थात् सेनाको समन्वयमा शान्ति कायम  गर्ने प्रयास भयो ।

यो सकारात्मक पक्ष हो  तर प्रदर्शनको दोस्रो दिन पनि कर्फ्यू त थियो तर लाखौँ जनता सडकमा उत्रिए , जेलहरू पनि तोडिए । जनता ओर्लिएपछि कसैको केही लाग्दैन र विद्रोहले संविधान ऐन कानुन जान्दैन, यथार्थ त्यही  हो । तर पनि नेपाल रहे मात्र  हाम्रो शिर ठाडो  हुने हो हामी नेपाली हौ गौरव गर्ने पनि नेपाल रहेमा न हो त्यसैले नेपाललाई अब नयाँ संरचनामा लगेर पूर्ण रूपमा परिवर्तन गर्नुपर्छ  । त्यसैले जिम्मेवार ठाउँमा बसेका जोकोहीले समयमा सचेत भएर नागरिक र देशको पक्षमा काम गर्नुपर्छ भन्ने कुरा अब त हेक्का राख्छन् कि । परिवर्तनले  अबको बाटो भनेको  प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको नेतृत्वमा मुलुक सञ्चालन गर्ने गरी चुनाव गर्नुपर्छ ।

 संविधान संशोधन गर्ने मात्र होइन संवैधानिक निकायमा रहेका केही बाहेक अधिकांश अयोग्य छन् । पार्टी र नेताका नजिक भएका सहित कतिपयले  नेतालाई रकम नै  बुझाएर नियुक्ति खाएकाहरूलाई राजीनामा गराउनुपर्छ ।  भ्रष्टहरूलाई कारबाही गर्ने , भ्रष्टाचार गरेर जम्मा गरेको अकुत सम्पत्ति खोसेर  ध्वंस भएका संरचना पुनर्निर्माण र विकासमा  लगाउने । कर्मचारी र न्याय क्षेत्रमा काम गर्नेहरूको परम्परागत कार्यशैलीमा आमूल परिवर्तन गर्नु  नै युवाहरू र आम नागरिकहरूको चाहना हो । 

अब यो मुलुकले थेग्न नसक्ने संघीयता जस्ता संरचना खारेज गरी आम नागरिकहरूको चाहना अनुसार अगाडि बढ्नुको विकल्प छैन । अन्यथा विद्रोहको आगो निभ्ने छैन । फेरि त्यो आगो लागेमा अहिले सम्म भाग्न नपरेकाहरू भाग्न पनि पाउने छैनन् त्यो बेला जनताले मृत्यु दण्ड दिने अवस्थामा पुर्‍याउने छन् । समय छदै  त्यो स्थिति आउनबाट जोगाउने गरी मुलुकलाई लैजान शासकहरू र नागरिकहरूको प्रभावकारी भूमिका  जरुरी छ ।  

पन्त वरिष्ठ पत्रकार हुन् 
 

  • प्रकाशित मिति : ३१ भदौ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया