जापानको कोबेमा एक २० वर्षीया युवतीमा एमपक्स भाइरसको ‘क्लेड १बी’ प्रकारको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी भर्खरै अफ्रिका भ्रमण गरेर फर्किएकी थिइन् ।
यो जापानमा सो भाइरसको पहिलो घटना हो । ‘क्लेड १बी एमपक्स’ भाइरस भनेको एमपक्स भाइरसको एउटा विशेष उपप्रकार हो, जुन मुख्यतया मध्य अफ्रिकाका केही क्षेत्रमा फैलिएको छ ।
यो उपप्रकार क्लेड १बी नामले चिनिन्छ र यसको जेनेटिक संरचना अन्य एमपक्स भाइरसका प्रकारभन्दा फरक हुन्छ । १बी एमपक्स भाइरसले शरीरमा ज्वरो, छालामा रैश र अन्य सङ्क्रमणका लक्षणहरू देखाउँछ । यस भाइरसको सङ्क्रमण क्षमतामा भिन्नता हुन सक्छ र यसको पहिचानले रोगको रोकथाम र नियन्त्रणमा सहजीकरण पुर्याउँछ ।
जिनेटिक परीक्षणबाट पत्ता लागेको यो भाइरस मध्य अफ्रिकामा प्रचलित क्लेड १बी समूहमा पर्दछ । सङ्क्रमित महिलालाई ज्वरो र छालामा रैश देखा परेको थियो । उनले १२ सेप्टेम्बरमा कोबेको एक स्वास्थ्य संस्थामा उपचार गरेकी थिइन् ।
अधिकारीहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन् ।
अहिलेसम्म जापानमा समुदायमा यस सङ्क्रमणको फैलावट भएको कुनै सङ्केत नभएको पनि उल्लेख गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।