सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिजका लागि १६ सदस्यीय टोली घोषणा गर्दा हार्ड हिटर मोहम्मद आदिल आलमको नाम पनि समावेश गरेको छ । उनले तीन वर्षपछि नेपालको प्रमुख टिममा मौका पाएका हुन् ।
२०७९ को मंसिरमा नेपाल टी–२० क्रिकेट लिगको क्रममास्पट फिक्सिङको आरोप लागेपछि आदिल राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेल्न प्रतिबन्धित भए । त्यसपछि आइपरेको कठिनाइले उनलाई राष्ट्रिय टोलीबाट बाहिर राख्यो । ९ माघ २०७९ मा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गर्यो ।
आदिल लगभग एक महिना हिरासतमा बसेर अदालतबाट रिहा भए । १२ चैत २०८० मा जिल्ला अदालतले स्पट फिक्सिङ दाबी नपुगेको भन्दै उनलाई सफाइ दियो । तर, क्यानले तत्काल टोलीमा फर्काएन । र, उसले निलम्बन फुकुवा पनि गरेन । २०७१ देखि सुरु भएको राष्ट्रिय टिम यात्रा फिर्ता पाउन आदिललाई लामो समय कुर्नुपर्यो । २०८१ भदौमा क्यानले आइसिसीको निर्देशनअनुसार निलम्बन फुकुवा प्रक्रियालाई अघि बढायो । गत ११ वैशाखमा आदिलको प्रतिबन्ध फुकुवा भयो ।
योसँगै उनलाई राष्ट्रिय टोलीमा फर्किन बाटो खुल्यो । राष्ट्रिय टोलीमा फर्किनुअघि आदिलले नेपाल ‘ए’ टिमबाट भारतको आसाम राज्य स्तरीय टोलीसँग खेलेको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस प्रदर्शनले उनलाई राष्ट्रिय टोलीमा पुनः स्थान दिलाएको हो ।
अब आदिलको ध्यान आगामी टी–२० सिरिजमा प्रदर्शन गरेर आफ्नो योग्यता प्रमाणित गर्नमा केन्द्रित छ । नेपालले यही सेप्टेम्बरमा वेस्ट इण्डिजविरुद्ध खेल्ने तालिका छ । सिरिजको खेल २७, २९ र ३० सेप्टेम्बरमा यूएईमा हुने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।