२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

आजको आवश्यकता : राष्ट्रिय एकता

जेनजी आन्दोलनको क्रममा भएको अराजक घटनाले नेपाललाई गम्भीर सङ्कटको मोडमा पुर्‍याएको छ । साइबर हमलादेखि सडक आन्दोलनसम्म फैलिएको अशान्तिले केवल सरकारको संरचना मात्र होइन, आम नेपालीको मनोविज्ञानमा पनि गहिरो आघात पुर्‍याएको छ । सरकार ढलेर अर्को बने पनि मूल प्रश्न उस्तै छ,राष्ट्रिय एकता र सामाजिक सद्भाव अझै कायम छन् कि छैनन् ? आजको अवस्थामा यही प्रश्न सबैभन्दा ठूलो चुनौती हो ।


पुराना दलको दायित्व र संयमताको आवश्यकता



देशलाई अस्थिरताबाट स्थिरतामा डोर्‍याउने जिम्मेवारी मूख्यतः पुराना दलको काँधमा छ । जेनजी पुस्तालाई केवल राजनीतिक अङ्कगणितमा प्रयोग गर्ने प्रवृत्तिबाट बाहिर नआए मुलुक फेरि जात, धर्म वा पहिचानको नाममा विभाजनतर्फ धकेलिन सक्छ । यस बखत आवश्यक छ– संयमता, विवेक र दीर्घ दृष्टि । आक्रोशमा आएर प्रतिशोध खोज्ने हो भने मुलुक अझै गहिरो सङ्कटमा फस्नेछ ।

केही तत्त्वहरूले हिंसालाई उचित ठहर गर्ने प्रयास गरिरहेका छन् । तर इतिहासले प्रमाणित गरेको छ–हिंसा कहिल्यै सही हुँदैन । यसले समाजमा स्थायी पीडा मात्र ल्याउँछ र यसको समर्थन गर्नेहरूलाई इतिहासले कहिल्यै माफ गर्ने छैन ।



अन्तर्राष्ट्रिय परिप्रेक्ष्य र सिक्नुपर्ने पाठ 

नेपाल आज संवेदनशील अवस्थामा छ । केवल आन्तरिक राजनीतिक अस्थिरता मात्र होइन, बाह्य शक्तिको हस्तक्षेपको सम्भावना पनि उच्च छ । भदौ २३–२४ का घटनाबाट प्रतिशोध होइन, विवेकपूर्ण पाठ सिक्ने समय आएको छ । 

विश्व इतिहासले दिने चेतावनी पनि हामीले बिर्सनु हुँदैन । सन् १९९४ मा रुवाण्डामा जातीय विभाजनका कारण केही महिनामा लाखौँ मानिसको ज्यान गएको त्रासदी हाम्रो लागि गम्भीर चेतावनी हो ।

अवसरका रूपमा आगामी निर्वाचन



यदि नेपालले मेलमिलाप र एकताको बाटो रोज्न सकेन भने परिणाम भयावह हुन सक्छ । तर आगामी फागुन २१ मा हुने भनिएको निर्वाचन मुलुकलाई नयाँ दिशातर्फ लैजाने अवसर पनि हो । पुराना दलहरूले अतीतका गल्ती स्वीकार गर्दै युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने साहस देखाउनुपर्छ । 

केवल पद र सत्ता कब्जा गर्ने सोचले होइन, लोकतन्त्रप्रतिको जिम्मेवारी बोधसहित जनतासमक्ष स्पष्ट अडान लिनुपर्ने समय यही हो ।

विवेक नगुमाउने, संयमता राख्ने राष्ट्रिय एकता प्रदर्शन गर्ने 

आज मुलुक स्तब्ध छ, तर निराश हुनुपर्ने अवस्था छैन । राजनीतिक दलहरूले संयमता अपनाए, हिंसालाई ठाडै अस्वीकार गरे र राष्ट्रिय एकतालाई प्राथमिकता दिए भने नेपाल अस्थिरताबाट स्थिर भविष्यतर्फ अघि बढ्न सक्छ । प्रश्न उही रहन्छ,पुराना दलहरूले साँच्चिकै लोकतान्त्रिक संस्कृति बोकेका छन् कि केवल सत्ताकै लागि लालायित मात्रै छन् ? अब नागरिकले कथित सुधारको वाचा होइन,ठोस कार्य देख्न चाहेका छन् ।

यो समय राष्ट्रिय एकता,सहमति र विवेक प्रदर्शन गर्ने अवसर हो । यही बेला पुराना दलले आफ्नो राजनीतिक अस्तित्व मात्र होइन,मुलुकको भविष्यको परीक्षा पनि उत्तीर्ण गर्न सक्नेछन् ।

  • प्रकाशित मिति : १ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया