२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

अब हामी नेपाली नागरिक पनि सभ्य बन्ने कि ?

राजनीतिक परिवर्तनले मात्र मुलुक बन्ने होइन, नागरिक चेतना र आचरणले नै समाजको सभ्यता निर्धारण गर्छ।


नेपाल राजनीतिक दृष्टिले धेरै परिवर्तन भोगेको मुलुक हो । राणा शासनको अन्त्यपछि प्रजातन्त्र, पञ्चायती प्रणाली, बहुदलीय व्यवस्था, राजतन्त्रको पतन हुँदै देश संघीय गणतन्त्रमा प्रवेश गर्‍यो ।



हालै जेनजी पुस्ताले सेप्टेम्बर ८ र ९ गते देखाएको राजनीतिक हस्तक्षेपका कारण परम्परागत दलका शीर्ष नेतृत्व गुमनाम बन्न पुगे। त्यसपछि मुलुकले पहिलो महिला अन्तरिम प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरेको छ।

अहिले सरकारले सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, नोक्सानी, आगजनी र लुटपाट नियन्त्रण गर्ने, त्यसका दोषीलाई कानुनी दायरामा ल्याउने जस्ता चुनौतीहरू सामना गर्नुपर्ने छ।



आन्दोलनको क्रममा खटिएका सुरक्षाकर्मीहरूको क्षति पुगेका भौतिक पूर्वाधार पुनर्स्थापना गर्नु, उनीहरूको मनोबल उकास्ने काम गर्नु, निजी क्षेत्रको विश्वास जित्दै पुनः लगानी आकर्षित गर्नु, उद्योगी–व्यवसायीलाई भयमुक्त वातावरणमा व्यापार गर्ने आश्वासन दिनु, रोजगारीका अवसर खोल्नु र वैदेशिक लगानी पुनर्स्थापित गर्न अन्तर्राष्ट्रिय विश्वास जित्नु सरकारअगाडि खडा प्रमुख जिम्मेवारी बनेका छन्।

त्यसमाथि पुराना राजनीतिक दलहरूदेखि जेन-एक्स, जेन-जी र अल्फा पुस्तासम्मको विश्वास जित्दै निर्वाचन समयमै सम्पन्न गर्नु र संविधानलाई पुनः मार्गमा हिँडाउनु अन्तरिम सरकारको प्रमुख दायित्व बनेको छ।

राजनीति र प्रशासनमा सात दशकमा धेरै मोड आएका छन्। यी परिवर्तनका साक्षी रहेका कर्मचारीदेखि सम्पूर्ण तह–तप्कामा पनि आमूल परिवर्तन आएको आभास दिलाउनुपर्ने साथै राजनीतिक दलहरूले पनि समयअनुसार सुधार गर्नुपर्ने आवश्यकता छ। संविधान बनेर लागू भयो, संघीयता आयो, लोकतान्त्रिक अभ्यास विस्तार हुँदै गयो। तर आज पनि एउटा प्रश्न भने अनुत्तरित छ—हामी नागरिकका रूपमा सभ्य भएका छौँ कि छैनौँ ?

भारतसँग तुलना



हाम्रो छिमेकी भारत राष्ट्र बनेदेखि नै प्रगति र उन्नतिको बाटोमा तीव्र गतिमा अघि बढिरहेको छ। आज भारत विश्व शक्तिमाझ एक प्रमुख राष्ट्रका रूपमा उदाउँदै छ। यद्यपि त्यहाँ पनि गरिबी, अशिक्षा र वैदेशिक रोजगारीका लागि पलायन उच्च छ। तर भारतीयहरूको मेहनत, राष्ट्र प्रेम र कर्तव्य बोध भने अनुकरणीय छ।

हाम्रो राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा कतिपय अवस्थामा असभ्य विरोध, अव्यवस्थित प्रदर्शन, नकारात्मक नाराबाजी र तुच्छ शब्दहरूको प्रयोग हुने गरेको देखिन्छ। त्यो मध्यपूर्व होस् वा युरोप–अमेरिका पुगेका नेपालीबाट हुने गरेको पाइन्छ। तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विदेश भ्रमणमा जाँदा भारतीयहरूले गर्ने सभ्य र भव्य स्वागतसँग तुलना नै गर्न सकिँदैन। त्यसैले प्रश्न उठ्छ—हामी पनि कहिले सुध्रिने?

अधिकारको खोजी, कर्तव्यको बेवास्ता

नेपालमा प्रायः नागरिक अधिकारका लागि सजग हुन्छन्—सडकमा नारा लाग्छ, सभा–जुलुस हुन्छ, आन्दोलन हुन्छ। तर कर्तव्यतर्फ भने उदासीनता देखिन्छ।

उदाहरणका लागि :

सार्वजनिक ठाउँमा फोहोर फ्याँक्ने

बाटो काट्दा नियम नमान्ने

कर नतिर्ने, समयमा कार्य सुचारु नगर्ने

लाइन मिच्ने, नपर्खने

हालै जेनजी आन्दोलनको क्रममा थुप्रै लुटपाट घटनामा युवा मात्र होइन, विभिन्न तह–तप्काका व्यक्तिहरूको संलग्नता देखिनु अझै डरलाग्दो सामाजिक अवस्था हो। यी असभ्य बानी अझै पनि हाम्रो दैनिकीमा गढिएका छन्।

सभ्यता स–साना बानीबाट सुरु हुन्छ, सभ्य नागरिक बन्ने भनेको ठूलो काम गर्नु होइन । बाटोमा सानो फोहोर नफ्याँक्ने, सार्वजनिक सवारीमा महिला, ज्येष्ठ वा बिरामीलाई सिट दिने, ट्राफिक नियम पालना गर्ने, कार्यालयमा समयमा सेवा दिने वा लिने, विचार भिन्न भए पनि सहनशीलता देखाउनेलगायतका यी सामान्य अभ्यास नै सभ्यताको जग हुन्।

नेतामाथि मात्र आशा गरेर हुँदैन

हामी प्रायः नेतामाथि मात्र दोषारोपण गर्छौँ- ‘राजनीतिज्ञ असफल भए, मुलुक बिग्रियो ।’ तर, कर्मचारी, शिक्षक, पत्रकार, बुद्धिजीवी र नागरिक समाज सबैले समाजलाई सभ्य बनाउन दायित्व बिर्सन मिल्दैन। नेताले पारदर्शिता र जबाफदेहिता देखाउनुपर्ने जस्तै, हामीले पनि आफ्ना जिम्मेवारी पूरा नगरी केवल बहाना गर्ने हो भने मुलुक अघि बढ्दैन।

नयाँ पुस्ताको भूमिका

आजको युवा पुस्ता सामाजिक सञ्जालमा सचेत र जागरूक देखिन्छ। भ्रष्टाचारविरुद्ध आवाज उठाउने, अन्यायविरुद्ध लेख्ने, सचेतना फैलाउने जस्ता काम भइरहेका छन्। तर त्यो आवाज व्यवहारमा बदल्न सके मात्र प्रभावकारी हुन्छ। नयाँ पुस्ताले आफ्नो जीवनशैलीमै अनुशासन, नैतिकता र सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ।

निष्कर्ष

राजनीतिक परिवर्तनले मुलुकलाई नयाँ ढाँचामा ल्याउन सक्छ, तर सभ्यता र प्रगति भने नागरिककै चेतना र व्यवहारले निर्धारण गर्छ। विद्यालयदेखि घरपरिवारसम्म सभ्य बानी–व्यवहारको अभ्यास बढाउनु आजको प्रमुख आवश्यकता हो । 

  • प्रकाशित मिति : १ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया