२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

गाजा शहरमा आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई सहायता समूहको अनुरोध

संयुक्त राष्ट्रसङ्घका विज्ञको आयोगले गाजामा इजरायलले नरसंहार गरिरहेको निष्कर्ष निकालेपछि प्रमुख सहायता समूहहरूको गठबन्धनले बुधबार अन्तर्राष्ट्रिय समुदायलाई गाजा सहरमा इजरायलको आक्रमण रोक्न र कडा कदम चाल्न आग्रह गरेको छ । 


इजरायलले पहिले नै विनाश भइसकेको उत्तर क्षेत्रमा सैन्य अभियानलाई विस्तार गर्दै जाँदा गाजामा प्यालेस्टिनी मृतकको सङ्ख्या ६५ हजार नजिक पुगेको छ ।



‘गाजामा देखिएको अवस्था केवल अभूतपूर्व मानवीय प्रकोप मात्र होइन, संयुक्त राष्ट्रसङ्घीय अनुसन्धान आयोगको निष्कर्षअनुसार यो नरसंहार हो’, सहायता समूहहरूको वक्तव्यमा भनिएको छ, ‘राज्यहरूले उपलब्ध सबै राजनीतिक, आर्थिक र कानूनी उपकरण प्रयोग गरेर हस्तक्षेप गर्नुपर्छ । बयानबाजी र आधा उपाय पर्याप्त हुँदैनन् । यो क्षण निर्णायक कार्यको माग गर्दछ ।’

सन्देशमा नर्वेली शरणार्थी परिषद्, अनेरा, सेभ द चिल्ड्रेनलगायत २० भन्दा बढी संस्थाका नेताहरूले हस्ताक्षर गरेका थिए । यो बयान इजरायलले गाजा सहरमा आफ्नो आक्रमण सुरु गरेको एक दिनपछि आएको हो । युद्ध सुरु भएको करिब दुई वर्षपछि इजरायलले सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिने प्रतिज्ञा गरेको छ ।



बुधबार गाजास्थित अस्पताल अधिकारीहरूले रातभरका आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा १३ प्यालेस्टिनी मारिएको जनाए । शिफा जिल्लाका अधिकारीका अनुसार गाजा सहरको आक्रमणमा मृत्यु भएकामध्ये आधाभन्दा बढी एकै परिवारका थिए, जसमा आमासहित एक बालक पनि थिए ।

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा घरमा प्रहार हुँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको अल–अवाडा अस्पतालले जनाएको छ । त्यस्तै, खान युनिस नजिकै मुवासी क्षेत्रमा त्रिपालमा भएको आक्रमणमा दुई आमाबाबु र उनीहरूको बच्चाको मृत्यु भएको नासेर जिल्लाले पुष्टि गरेको छ ।

इजरायली सेनाले ती आक्रमणबारे तत्काल टिप्पणी गरेन, तर विगतमा उसले हमासलाई नागरिक क्षेत्रभित्र सैन्य पूर्वाधार बनाएको आरोप लगाउँदै आएको छ ।​गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि हालसम्म ६४ हजार नौ सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । मृतकमध्ये झन्डै आधा महिला र बालबालिका भएको बताइएको छ । मन्त्रालय हमासद्वारा सञ्चालित भए पनि त्यहाँका चिकित्सकहरूले यसलाई पुष्टि गरेका छन् ।

यसैबीच, इजरायली सेनाले गाजा शहरबाट दक्षिणतर्फ भाग्नेहरूका लागि सालाह अल–दिन सडकमार्ग दुई दिनका लागि खोलिने जनाएको छ । आक्रमण अघि करिब १० लाख मानिस गाजा सहर क्षेत्रमा रहेका थिए, जसमा करिब तीन लाख ५० हजार पलायन भइसकेको सेनाले दाबी गरेको छ । 



संयुक्त राष्ट्रसंघका अनुसार गत महिना मात्र दुई लाख २० हजारभन्दा बढी उत्तरी गाजाबाट विस्थापित भएका थिए । अझै सयौं हजार नागरिक सहरमै फसेका छन् । एक इजरायली सैन्य ग्राफिकअनुसार यस अभियानपछि समुद्रतट छेउको केही भूभागबाहेक सम्पूर्ण गाजा पट्टी नियन्त्रणमा लिने लक्ष्य राखिएको छ । 

सेनाले यसअघि पनि गाजा सहरमा ठूला–ठूला छापा मारेको थियो, जसले विस्थापन र विनाश निम्त्याएको थियो, तर उग्रवादीहरू फेरि समूहबद्ध हुनसक्ने देखिन्थ्यो । यस पटक भने सम्पूर्ण सहर नियन्त्रणमा लिने दाबी गरिएको छ । 

  • प्रकाशित मिति : १ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया