संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले अफगानिस्तानका बालबालिका निरन्तर सङ्कटमा फसेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
युनिसेफका अनुसार, शिक्षा, स्वास्थ्य सेवा, सफा खानेपानी र बाल संरक्षणजस्ता आधारभूत सेवा अब उनीहरूका लागि जीवनरक्षक बनेका छन् ।
विगतका दशकदेखि द्वन्द्व, गरिबी र सामाजिक प्रतिबन्धहरूले बालबालिकाको अधिकार र भविष्यमा गम्भीर असर पारेको बताइएको छ ।अफगान बालबालिकाहरू अहिले पनि भोक, रोग र असुरक्षाको चपेटामा परिरहेका छन् । यस्तो अवस्थामा जापानको सहयोगले केही आवश्यक सेवा पुर्याउन मद्दत पुगेको युनिसेफले जनाएको छ ।
यसैबीच, पाकिस्तानबाट हालै जबर्जस्ती फर्काइएका अफगान शरणार्थीहरुले पनि गम्भीर कठिनाइ भोगिरहेका छन् । उनीहरू खाद्यान्न, आवास र आधारभूत राहतको अभावमा रहेका छन् ।
‘हामीलाई बस्नका लागि जमिन चाहिएको छ, बच्चाहरू भोकै छन् । जाडो आउँदैछ, हामीलाई सहयोग आवश्यक छ,’ एक शरणार्थी बिबी शम्सले भने ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी आयोग (यूएनएचसीआर) का अनुसार, सेप्टेम्बरको पहिलो सातामा मात्रै करिब एक लाख अफगान नागरिक पाकिस्तानबाट देशनिकाला भएका छन् ।
युनिसेफले अन्तर्राष्ट्रिय समुदायलाई बालबालिकाको भविष्य जोगाउन तत्काल कदम चाल्न आह्वान गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।