इतिहासले प्रायः राष्ट्रहरू शान्ति र स्थिरताको क्षणमै मात्र बन्ने होइनन्, बरु सङ्कट, उथलपुथल र सामूहिक सहनशीलताबाट पुनः आकार लिने गर्छन् भन्ने यथार्थ सम्झाउँछ। भाद्र २३ र २४ गते युवा शक्ति जेनजीबाट भएको आन्दोलनले नेपाललाई मूलसम्म हल्लाइदियो।
असङ्ख्य युवा पिँढीको ज्यान गयो, कैयन घाइते भएका छन्, सम्पत्तिको अपूरणीय क्षति भयो, र केही बेरका लागि देश पूर्ण अराजकताको छायामा परेको देखियो। तर, लगभग चमत्कारिक रूपमा, अर्को दिन २४ गतेदेखि नै स्थिरताको झिल्को देखा पर्यो। सामूहिक विवेक जागृत भयो र अन्तरिम सरकार गठन गरियो। यसले प्रमाणित गर्दछ कि विनाशभित्रै पनि नेपालसँग खरानीबाट उठ्ने शक्ति छ।
यो नेपालको ऐतिहासिक विशेषता हो, जुन बंगलादेश वा श्रीलङ्काको अनुभवभन्दा भिन्न छ। हाम्रा छिमेकीहरू समान परिस्थितिमा लामो अस्थिरता र आर्थिक पतनमा डुबेका बेला नेपाल आफ्ना जनताको काँधमा, विशेष गरी युवा शक्तिको काँधमा, आफूलाई सन्तुलनमा राख्न सफल भयो। क्रोध र निराशाबाट जन्मिएको जेनजीको आन्दोलन नै आशंकाबीचैमा पनि आशाको दियो बनेर बलेको छ।
यो निर्णायक मोडमा एउटा कुरा प्रस्ट भएको छ। अब हामीले दलगत कार्यकर्ताजस्तो व्यवहार गर्न रोकिनुपर्छ, वा युवाहरूको आकाङ्क्षा कमजोर पार्ने विपक्षी शक्ति बन्नु हुँदैन। जेनजीले उठाएका माग कुनै दलगत नारा होइनन्; ती न्याय, समानता र बाँच्न लायक भविष्यका लागि हामी सबैका राष्ट्रिय स्वर हुन्। तिनीहरूप्रति शङ्का देखाउने होइन, तिनीहरूप्रति पूर्वाग्रही भएर प्रतिशोधको रापमा जल्ने पनि अवश्यै होइन। आन्दोलनको प्रमुख सिकार भएका परम्परागत राजनीतिक वर्गले पनि यसलाई अवसरका रूपमा लिनुपर्छ। किनकि युवा शक्तिले नेपाललाई बिउँझाएका छन्, र उनीहरूको ऊर्जा सामूहिक राष्ट्रिय शक्तिमा रूपान्तरण हुन सक्छ।
दलगत राजनीतिले नेपाललाई दशकौँसम्म विभाजित गर्यो। नागरिकलाई कार्यकर्ता, वर्ग, जात र क्षेत्रका आधारमा बाँड्यो। नेताहरूले पुल चाहिने ठाउँमा पर्खाल खडा गरे, नागरिकलाई भन्दा पनि आफ्ना निष्ठावान् ‘झोले’ अनुयायीलाई महत्त्व दिए। जेनजीको आन्दोलनले त्यो भ्रम चकनाचुर गरिदियो। आन्दोलन कुनै व्यक्ति वा दलको विपक्षमा होइन, कुशासन र असफल राज्यव्यवस्था विरुद्ध थियो। त्यसैले अब पुराना विभाजनका राजनीतिक खेल दोहोर्याउने समय होइन। पारदर्शी चुनाव नै भविष्यको बाटो हो।त्यसैले एकता, इमानदारी र युवाको आकाङ्क्षा अनुसार सबैका एजेण्डा स्पष्ट हुनुपर्छ। राजनीतिक दलहरूले अब सुरक्षित संरचना होइन, नयाँ पुस्ताका सपनासँग मेल खाने संस्था बन्नु पर्छ।
नेपालको वास्तविक शक्ति यसको सहनशीलता हो। जुन सङ्कटमा पनि उभिन सक्ने, सहअस्तित्व गर्न सक्ने, एकताबद्ध हुन सक्ने क्षमतामा आधारित छ। निकट विगतका आन्तरिक द्वन्द्वदेखि प्राकृतिक प्रकोपसम्म, नेपालले फेरि फेरि आफ्नो सहनशीलता देखाएको छ। जेनजीको विद्रोह अन्तिम होइन, फेरि एक पटक हाम्रो एकता र सहनशीलताको अम्ल परीक्षा हो। यदि हामी राजनीतिज्ञ, बौद्धिक वर्ग, नागरिक समाज र साधारण नागरिक सबै मिलेर भविष्यका लागि जुट्यौँ भने, अझ बलियो भएर पुनर्निर्माण गर्न सक्छौँ। यसमा सबैको समावेशी भूमिका आवश्यक छ। कुनै पनि नेपाली अव पनि दल, वर्ग, जात वा क्षेत्रका आधारमा पछाडि पर्नु हुँदैन। पार्टीको सदस्य नहुनेहरू अछुत हुनु भएन।
त्यसैले अगाडिको बाटो सामूहिक विवेकमै छ - यही हो जेनजी आन्दोलनको आत्मा। यो कुनै नेताले योजनाबद्ध ढंगबाट सञ्चालन गरेको होइन, कुनै दलले नियन्त्रण गरेको होइन। यो साधारण नेपालीहरू, विशेष गरी युवाहरूको हृदयभित्रैबाट उठेको हो। यही सामूहिक विवेक नेपालको सबैभन्दा ठूलो शक्ति हो। जब संस्था असफल हुन्छन्, यही अदृश्य बन्धनले हामीलाई बचाउँछ। यदि यसलाई थप मलजल गरियो भने, यो नयाँ राजनीतिक संस्कृतिको आधार बन्न सक्छ, जसले सत्ताको खेलभन्दा बढी जबाफदेहिता, पारदर्शिता र राष्ट्रिय प्रगतिलाई महत्त्व दिन्छ।
अब नेपालले विगतका गल्तीहरू दोहोर्याउनु कदापि हुँदैन। धेरै पटक, सम्भावनाका अहम् क्षणहरू निराशाका चक्रमा परिणत भएका छन्। राजनीतिक विद्रोहहरू अभिजात वर्गका सम्झौतामा परिणत भए, जसले जनतालाई धोका दियो। यो पटक त्यस्तो हुन सक्दैन। युवाहरूले आफ्नो ज्यान कुनै फेरि सत्ता हेरफेरका लागि होइन, वास्तविक परिवर्तनका लागि जोखिममा राखेका हुन्। यदि हामीले उनीहरूलाई अहिले धोका दियौँ भने, केवल प्रगतिको अवसर मात्रै गुमाउँदैनौँ, हाम्रो सार्वभौमिकता पनि जोखिममा पार्नेर्छौँ। किनकि आफ्नै भविष्यप्रति विश्वास हराएको राष्ट्र आफू भित्रैबाट ढल्छ।
मूलभूत रूपमा जेनजी आन्दोलनले एउटा सरल तर गहिरो सत्य उजागर गरेको छ। युवाहरू भोलिका नेता होइनन्, उनीहरू आजकै शक्ति हुन्। उनीहरूको आकाङ्क्षालाई न त बचकना ठान्न मिल्छ, न त असम्भव। राष्ट्रिय पुनर्जागरणका लागि उनीहरूको आकाङ्क्षालाई बचाउनु पर्छ, यसलाई सबैले मार्गदर्शन र समर्थन गर्नुपर्छ। यसको अर्थ अनुभवहीन हातमा राज्य सुम्पनु होइन। यसको अर्थ राष्ट्रिय नीति, दलगत एजेण्डा र विकास रणनीतिलाई युवाका चाहनासँग मेल गराउनु हो, जहाँ रोजगारी, न्याय, मर्यादा र स्वच्छ शासनको परिकल्पना गर्न सकिन्छ। यसले उनीहरूको आवाजलाई शिक्षा सुधार, आर्थिक योजना र राजनीतिक जबाफदेहितामा रूपान्तरण गर्नुपर्छ। यदि उनीहरूको आकाङ्क्षा असफल हुन्छ भने, अन्ततः हामी सबै असफल हुन्छौँ। त्यो पतन उनीहरूको मात्र होइन, राष्ट्रकै हुनेछ।
यो क्षण नेपाल र हामी नेपालीका लागि अन्तिम मौका पनि हुन सक्छ। हामी यसअघि २००७ साल, २०४७ साल, २०६२ सालहरूमा पनि यस्तै मोडमा पुगेका थियौँ। प्रत्येक पटक आशा जगाइयो, तर राजनीतिक लोभ र कुसंस्कारले अवसरहरू खेर गए। तर यो पटक दाउ अझै ठूलो छ। विश्व निर्दयी छ, र नेपालका युवाहरू विश्वसँग जोडिएका छन्। यदि धोका दिइयो भने, उनीहरू चुप लागेर बस्ने छैनन्, फेरि अझ शक्तिशाली रूपमा उठ्नेछन्, सबै बाँकी अवरोधको समूल अन्त्य गर्नेछन् । देशले अझै चर्को मूल्य चुकाउनु पर्नेछ। तर यदि समर्थन गरियो भने, उनीहरूले नेपाललाई सार्वभौमिकता, सम्मान र प्रगतिका नयाँ युगमा पुर्याउन सक्छन्। उठ्ने कि ढल्ने, के गर्ने, विकल्प हाम्रो हो।
यो केवल राजनीतिज्ञका लागि मात्रै आह्वान होइन। बुद्धिजीवी, लेखक, पत्रकार, इतिहासकार, शिक्षक, उद्यमी र सबै तह तप्काका सारा नेपालीको साझा जिम्मेवारी हो। नेपाल अब विफल प्रयोगशाला होइन; यो पुनर्जन्मको किनारमा उभिएको राष्ट्र हो। समाजका प्रत्येक क्षेत्रले सकारात्मक योगदान दिनुपर्छ, नकारात्मकता र विभाजनलाई अस्वीकार गर्नुपर्छ। कुसंस्कार र कुशासनको अन्त्य यहीँबाट सुरु गर्नुपर्छ। सम्झनुपर्छ कि, हामी एकाकार भए मात्रै सँगै सबै उठ्न सक्छौँ। होइन भने सँगै ढल्छौँ।
जेनजी आन्दोलनको पिडा र खरानीमा दुःख पनि छ, सम्भावना पनि। यदि हामी फरक ढङ्गले सोच्ने र काम गर्ने साहस गर्छौँ भने विनाशबाट सिर्जना सम्भव छ । युवा शक्तिले बाटो देखाइसकेका छन्; अब बाँकी राष्ट्र उनीहरूको पछाडि लाग्ने हो। नेपाल खरानीबाट उठ्न सक्छ; पुराना गल्ती दोहोर्याएर होइन, दलगत राजनीतिमा अड्किएर होइन, सामूहिक विवेक, एकता र समावेशितालाई अङ्गालेर। युवाहरूले त्यसका लागि झिल्को दिइसकेका छन् । अब त्यो आगो बलिरहने बनाउनु हाम्रो कर्तव्य हो, भविष्यलाई प्रकाशमान पार्नु हाम्रो जिम्मेवारी हो। विकल्प स्पष्ट छ र युवाको आकाङ्क्षा जुटाएर राष्ट्रलाई उठाउने कि धोका दिई पतनमा धकेल्ने जिम्मेवारी अब हाम्रो हो। इतिहासले हाम्रो आजको रोजाइबाटै नेपाललाई न्याय गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।