क्रिकेट प्रेमीहरू अहिले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको प्रतीक्षामा छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो सिजनको लिग १ मंसिरदेखि आयोजना गर्ने तालिका सार्वजनिक गरिसकेकाे छ । तर, केही दिनअघि भएको जेनजी आन्दोलनले त्रिवि क्रिकेट मैदानको निर्माण कार्यमा असर पुर्याएको छ ।
विशेषगरी फ्लडलाइट जडानमा अवरोध आउँदा एनपिएल निर्धारित समयमै नहुने होकि भन्ने चिन्ता बढेको छ । फ्लडलाइट निर्माणको जिम्मेवारी विसान–ईश्वरी जेभीले पाएको छ ।
मैदानमा ६ फ्लडलाइट जडान गरिने योजना छ । तर, आन्दोलनका कारण फ्लडलाइटको सामग्री भारतबाट नेपाल ल्याउन सकिएको छैन । कम्पनीका अनुसार वीरगन्ज भन्सार कार्यालयमा फ्लडलाइटका हेडफ्रेम र लाइट रोकिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनले गर्दा भन्सार बन्द भएसँगै फ्लडलाइटका सामान त्यहीँ अड्किएका छन् । भारतीय नाकाबाट नेपाल आउँदै गर्दा सामग्री रोकिएको हो ।’ यदि फ्लड लाइट जडान कार्य समयमै नसकिएमा यसपटक पनि एनपिएलमा दिउँसो र बिहान मात्र म्याच खेलाइने छ ।
त्रिवि मैदानको प्याराफिट जडान कार्य भने पूरा भएको छ । मैदान निर्माणको काम बिटिओआई–केसिडिसी–पिजी कन्स्ट्रक्सन्सले गरिरहेका हुन् । मैदानलाई पूर्वीय र पश्चिमीय ब्लक गरी तीन भागमा विभाजित गरिएको छ । र, त्यहाँ १० हजार सिट जडान भइसकेको छ ।
‘हामीले प्याराफिटको काम भदौको दोस्रो हप्तामा सम्पन्न गरेका थियौँ । मैदानमा जोड्नुपर्ने लगभग सबै सिट जडान भइसकेको छ । प्याराफिटको काम शतप्रतिशत सम्पन्न भएको छ,’ निर्माण कम्पनीले भनेको छ ।
प्याराफिटको काम सकिएकाले एनपिएल पूर्वनिर्धारित मितिमै आयोजना गर्ने क्यानको योजनामा छ । लिगको मिति र खेल तालिकाबारे हाल टिमहरूसँग छलफल भइरहेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
‘क्यान एनपिएल १ मंसिरमै आयोजना गर्ने तयारीमा छ । आठवटै टोलीका प्रतिनिधिले लिग १ मंसिरमै आयोजना गर्ने विषयमा सहमति जनाएका छन्,’ क्यानका प्रवक्ता लामाले भने । उनले सुरक्षा व्यवस्थाका विषयमा पनि तयारी भइरहेको जानकारी दिए ।

‘सुरक्षा व्यवस्थासहितका सबै तयारीका लागि हामी सम्बन्धित निकायसँग छलफल गर्दैछौँ । टोलीहरूबीचको छलफल र परिस्थितिको मूल्याङ्कनपछि मात्रै प्रतियोगिता अघि बढाइने योजना बनाइएको छ,’ प्रवक्ता लामाले भने ।
क्यानले समयमै एनपिएल आयोजना हुने संकेत देखाएपछि टिमहरू आन्तरिक तयारीमा जुट्न थालेका छन् । उनीहरू अब बन्द प्रशिक्षण र विदेशी खेलाडी अनुबन्ध गर्ने काम अगाडि बढाउँदै छन् । गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले विदेशी खेलाडीको रूपमा अस्ट्रेलियन स्टार क्रिस लिनलाई अनुबन्ध गरिसकेको छ । उनी पहिलोपटक एनपिएलमा देखिन लागेका हुन् ।
लिनले आइपिएल, बिबिएल, पिएसएल, सिपिएललगायत चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् । यस्तै, सुदूरपश्चिम थप विदेशी स्टार भित्र्याउने योजनामा छ ।
अरू टिम पनि यसपालि चर्चित खेलाडी अनुबन्ध गरेर उपाधि जित्ने योजनामा छन् । गत संस्करणमा कर्णाली याक्सले भारतका शिखर धवन, विराटनगर किंग्सले न्यूजिल्याण्डका मार्टिन गप्टिल, चितवन राइनोजले इंग्ल्याण्डका रवि बोपारा, लुम्बिनी लायन्सले अस्ट्रेलियाका बेन कटिङ, जनकपुर बोल्ट्सले न्यूजिल्याण्डका जिमी नीशमजस्ता स्टारलाई अनुबन्ध गरेको थियो ।

पहिलो सिजनमा अधिकांश टिमले पाँचजना विदेशी खेलाडी भित्र्यायो । यसपटक पनि उनीहरू क्यानको मापदण्डअनुसार पाँच जनासम्म विदेशी खेलाडी भित्र्याउन पाउने छन् । एनपिएल–२ मा पनि आठवटा टिमको सहभागिता रहनेछ ।
यसपालि जनकपुर उपाधि रक्षा गर्ने योजनामा हुँदा सुदूरपश्चिम गत वर्षको फाइनलको पीडा बिर्सेर च्याम्पियन बन्ने योजनामा हुनेछ । यस्तै, कर्णाली, चितवन, काठमाडौं, विराटनगर, लुम्बिनी र पोखरा पनि गत सिजनको प्रदर्शनमा सुधार गर्दै पहिलोपटक उपाधि जित्ने दाउमा हुने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।