२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

यसकारण जल्दैनन् आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट

गत २३ र २४ भाद्रको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सयौँ निजी तथा सार्वजनिक गाडीहरू जलाइएका छन् । तर पूर्ण रूपमा जलेका अधिकांश गाडीहरूको नम्बर प्लेट भने जस्ताको त्यस्तै देखिएका छन् । नम्बर प्लेटमा राखिएका अङ्कहरू पनि मेटिएका छैनन् । 


यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीका अनुसार पूर्ण रूपमा गाडी जले पनि नम्बर प्लेट भने जस्ताको त्यस्तै रहेका प्लेटहरू प्रायः सबै ‘इम्बोस्ट’ नम्बर प्लेटहरू हुन् । उनले विशेष प्रविधिबाट इम्बोस्ट नम्बर प्लेट बनाइने भएका कारण इम्बोस्ट नम्बर प्लेटमा भएको अङ्क नमेटिने र नजल्ने जानकारी दिए । 



उनको अनुसार पुराना नम्बर प्लेट, धातु प्लेट माथिबाट, रातो अथवा सेतो कलर गरिन्छ । जसको कारण मेटिता अथवा जल्दा इनामेल मेटिन्छ । इनामेल जल्यो भने स्वतः अक्षर पनि मेटिन्छ, किनभने प्लेटमाथि अक्षरले लेखिएको हुन्छ । 

उनले भने, ‘नर्मलमा अव धातु प्लेट माथिबाट कलर गरिन्छ । रातो अथवा सेतो कलर गरिन्छ । त्यसपछि मेटिन्छ । मेटिँदा वा जल्दा खेरी के हुन्छ भने इनामेल मेटिन्छ । इनामेल जल्छ । इनामेल जल्यो भने स्वतः चाहिँ अक्षर पनि मेटिन्छ । किनभने त्यो खाले प्लेटमाथि अक्षरले लेखिएको हुन्छ ।’



किन जल्दैन इम्बोस्ट नम्बर प्लेट ?

निर्देशक तिवारीले विशेष प्रविधिबाट इम्बोस्ट प्लेटलाई कुच्च्याएर कुनै भाग उठाउने र यसलाई कुच्च्याएर अङ्कको शेप दिइने भएको कारण प्लेटहरू जले पनि अङ्गहरू देखिने स्पष्ट पारे । उनले भने,‘इम्बोस्टमा के हुन्छ भने त्यो प्लेटलाई कुच्च्याएर विशेष प्रविधिबाट त्यसलाई उठाउने, उठाएर त्यसलाई कुच्च्याएर चाहिँ अङ्कको शेप दिइन्छ । जस्तै ((शून्य) गर्नुपर्‍यो भने त्यसलाई कुच्च्याएर) गर्नुपर्‍यो ।’

उनले अगाडि भने, ‘एक गर्नुपर्‍यो भने कुच्च्याएर १ (एक) गर्नुपर्‍यो । त्यसलाई तलमाथि गर्नुपर्‍यो । इम्बोस्टिङ गर्ने भनेको त्यसलाई कोप्ने, कोपेर अथवा अङ्क, अक्षर बनाउने विधि हो । नर्मल्ली गाडीहरू जल्दा खेरी अब प्लेट त बाहिर हुन्छ । अरू नर्मल टाइपको सामान्य आगोमा बन्ने इनामेलहरू, पेन्टहरू चाहिँ जलेर जान्छ । इम्बोस्टमा भने, धातुमै कोपेर अक्षर, अङ्कको शेप दिएको हुनाले, त्यो इम्बोस्ट गरेका प्लेटहरू प्रायः जसो जले पनि अङ्कहरू देखिएको चाहिँ पाइन्छ ।’

त्यस्तै उनले इम्बोस्ट नम्बर प्लेटमा कति नम्बरको गाडी जल्यो भन्ने कुरा पत्ता लगाउन सकिने सकारात्मक पक्ष रहेको बताए । नवीनतम र फरक टेक्नोलोजीबाट इम्बोस्ट नम्बर प्लेटको निर्माण गरिएको उनको दाबी छ । 



उनले थप्दै भने,‘त्यसमा कति नम्बरको गाडी जल्यो भन्ने कुरा धेरैजसो पत्ता लगाउन सकेको स्थिति थिएन । त्यसैले अरू त फरक नै थियो तर टेक्नोलोजी पनि फरक हो । इम्बोस्ट फलामको धातुलाई कुच्च्याएर बनाइन्छ । पहिला चाहिँ पासवर्डहरूमा र ह्यान्ड रिटेन पासवर्डमा पनि अङ्कलाई थोप्ला थोप्ला गरेर बनाएको देखिन्छ । इम्बोष्टमा पेपर अथवा धातु उठेको हुन्छ । धातु हो भने धातु उठेको हुन्छ, पेपर हो भने पेपर उठेको हुन्छ । भौतिक रूपमै प्लेटमै इम्बोस्टिङ गरेर कुच्च्याएर अङ्क तयार गरिन्छ । अक्षर तयार गरिन्छ । त्यो चाहिँ फरक टेक्नोलोजी हो ।’ 

उनले इम्बोस्ट नम्बर प्लेट धातुमै खोपेर, मेसिनले नै कुच्च्याएर बनाइने भएको हुनाले अक्षर मेटिने भन्ने हुँदैन तर पुरानो नम्बर प्लेटमा भने रङ लेखेको भएर मेटिनसक्ने बताए । उनका अनुसार गाडी जल्दा नम्बर प्लेट नजल्ने भन्ने त हुँदैन । जल्दा दुई वटै जल्छन् तर कति टेम्परेचरमा जल्ने भन्ने विषय भने हुन्छ ।

उनका अनुसार दुई किसिमको नम्बर प्लेट हुन्छ । इम्बोस्ट गरेको फरक हो, पुरानो जडान गरेको फरक टेक्नोलोजी हो । जल्दा दुई वटै जल्छन् । कति टेम्परेचरमा जल्ने हो त्यसमा निर्भर हुन्छ ।

उनले अगाडि भने,‘जस्तै, तपाईँले हातमा ट्याटु खोप्नु भएको छ भने छाला जल्दा ट्याटु जल्छ नि । तर सामान्यतः हातले मेटाएर ट्याटु मेटिँदैन भनेजस्तै, इम्बोष्ट भनेको के हो भने, त्यो धातुमै खोपेर, मेसिनले नै कुच्च्याएर नम्बरको शेप दिन्छ । पुरानो भनेको तपाईँले गाडी, बाइक किन्नुहुन्छ । बाइकमा प्लेट हाल्दै भन्नुहुन्छ । त्यहाँ खाली प्लेट हुन्छ, त्यसलाई रङ्ग्याउँछ । यदि तपाईँको प्राइभेट नम्बर हो भने उसले प्राइभेट नम्बर दिन्छ । सरकारी नम्बर हो भने सरकारी नम्बर दिन्छ, त्यो नर्मल प्लेट हो । पुरानो भनेको नर्मल प्लेट हो । इम्बोस्ट भने पुरानो र नयाँ भन्ने छैन, सबै एउटै टेक्नोलोजी हो । त्यसमा के हुन्छ भने त्यसमा चाहिँ अक्षरहरू कुच्च्याएर बनाइन्छ ।’

इम्बोस्ट नम्बर प्लेट जलेपछि के गर्ने ?

इम्बोस्ट नम्बर प्लेट जलेर गइसकेपछि फेरि प्रयोग गर्न मिल्दैन, वान टाइम प्रयोग हुन्छ तर यदि नासियो, दुर्घटना भयो भने परिवर्तन गर्न भने मिल्ने पनि उनको भनाइ छ । 

उनले थपे, ‘सबै जलेर गइसकेपछि फेरि प्रयोग गर्न मिल्दैन भन्ने होइन । वान टाइम प्रयोग हुन्छ । यदि टुट्फुट भयो, नासियो, केही भयो, दुर्घटना भयो भने चेन्ज परिवर्तन गर्ने गरिन्छ । त्यसलाई अब एउटा गाडीमा एउटै खालको नम्बर प्लेट मात्र राखिन्छ । फरक फरक चेन्ज हुँदैन । त्यसैले हामीसँग इम्बोस्टको सबै टेक्नोलोजीहरू, मेसिनहरू जलेको अवस्था छ । त्यस कारण अब तत्काल इम्बोस्ट लागु हुने कुरा भएन, अब तत्काल अर्को निर्णय नभएसम्म सिस्टम नै बन्द भएको हुनाले अहिले त्यो सम्भावना छैन ।’  

  • प्रकाशित मिति : २ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया