२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

नेपालविरुद्ध सिरिज खेल्ने वेस्ट इण्डिजको टिम कति बलियो ?

नेपाल र वेस्ट इण्डिजले केही दिनभित्र पहिलोपटक तीन खेलको टी–२० आई सिरिज खेल्दै छन् । यो ऐतिहासिक सिरिज यही ११ असोजदेखि यूएईमा आयोजना हुन लागेको हो ।


श्रृंखलाको लागि नेपाल र वेस्ट इण्डिज दुवैले टोली घोषणा गरिसकेका छन् । नेपालले रोहितकुमार पौडेल र वेस्ट इण्डिजले अकिल होसेनको कप्तानीमा टोली घोषणा गरेका हुन् । नेपाली टिममा तीन खेलाडीले पुनरागमन गरेका छन् ।



पुनरागमन गर्नेमा अलराउन्डर मोहम्मद आदिल आलम, ब्याटर सन्दीप जोरा र स्पिनर ललितनारायण राजवंशी रहेका छन् । उता दुईपटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इण्डिजले पनि नयाँ–पुराना खेलाडी मिश्रित टोली घोषणा गरेको छ । 



कति बलियो छ वेस्ट इण्डिजको टिम ?

वेस्ट इण्डिजले भारतविरुद्धको टेस्ट सिरिजका कारण केही प्रमुख खेलाडीबिना नेपालसँगको श्रृंखला खेल्नेछ । उसले टी–२० टिमका खेलाडी रोस्टन चेस, ब्रेण्डन किंग, साई होप, अल्जारी जोसेफ र एलिक एथानाजेलाई भारतसँगको टेस्ट सिरिजमा समावेश गरेको छ ।

उनीहरूको अनुपस्थितिमा वेस्ट इण्डिजले युवा खेलाडीलाई मौका दिएको छ । उससँग प्रारम्भिक ब्याटरको रूपमा कायल मेयर्स, अमिर जाङ्गो र एकिम अगस्टे रहेका छन् । उनीहरूमध्ये अगस्टे र जाङ्गोले टी–२० आईमा डेब्यू गरेका छैनन् ।



जारी सिपिएल संस्करणमा उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरूले वेस्ट इण्डिजको टी–२० टिममा मौका पाएका हुन् । मेयर्सले भने ३८ टी–२० आई खेलिसकेका छन् । उनीसँग आइपिएल, पिएसएल, बिपिएललगायत लिग खेलेको अनुभवसमेत छ । 

यस्तै, नेपालविरुद्ध खेल्ने वेस्ट इण्डिजको टिममा अरू ब्याटरको रूपमा ज्वेल एन्ड्रयू, नवीन बिदाइसी, करिमा गोरे र केसी कार्टी रहेका छन् । वेस्ट इण्डिजले बलरको रूपमा जेसन होल्डर, अकिल होसेन, फाबियन आलेन, ओबेद म्याककोय, रामोन सिमन्ड्स, शमर स्प्रिंगर, जेडिया ब्लेड्स र जीशान मल्होत्रालाई टोलीमा स्थान दिएको छ ।

उनीहरूमध्ये जेसन, अकिल, फाबियन र शमर अलराउन्डर हुन् । समग्रमा वेस्ट इण्डिजको टिम सन्तुलित छ । उससँग हार्टहिटर ब्याटरदेखि विश्स्तरीय बलरसम्म छन् । नेपालविरुद्ध खेल्ने वेस्ट इण्डिजका १५ मध्ये १२ खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरिसकेका छन् । उनीहरूमध्ये अलराउन्डर करिमा गोरेले अमेरिकाबाट १६ ओडिआई र आठवटा टी–२० आई खेलेका छन् । 

हाल राम्रो लयमा रहेकाले उनले अब वेस्ट इण्डिजको टिमबाट पनि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने सम्भावना छ । गोरेले जारी सिपिएलको १० इनिङमा २ सय १९ रन बनाएका छन् । बलरको रूपमा परिचित उनी पछिल्लो समय ब्याटिङमा सफल देखिएका छन् ।

जेसन होल्डर, फाबियन आलेन, अकिल होसेन, कायल मेयर्स र ओबेद म्याककोयसँग विश्वका कयौँ चर्चित फ्रेन्चाइज लिग खेलेको अनुभव छ । उनीहरू सबैले आइपिएलमा पनि डेब्यू गरिसकेका छन् ।

तीव्र गतिका बलर ओबेद म्याककोय र फाबियन आलेन त गत वर्ष वेस्ट इण्डिज ‘ए’ बाट नेपालविरुद्ध सिरिजसमेत खेलेका थिए । उक्त श्रृंखला नेपालले ३–२ ले गुमाएको थियो । 

नेपाल यसपालि त्यो प्रदर्शनमा सुधार गर्दै वेस्ट इण्डिजको प्रमुख टिमविरुद्धको सिरिज जितेर इतिहास रच्ने योजनामा छ । हालसम्म नेपालले कुनै पनि टेस्ट टिमलाई हराउन सकेको छैन । नेपाल यसपालि त्यो उपलब्धि हासिल गर्न पूरा कोसिस गर्नेछ ।

नेपाल र वेस्ट इण्डिजबीचको खेल २७, २९ र ३० सेप्टेम्बरमा हुने तालिका छ । यो सिरिजपछि नेपाली टिमले ओमानमा आयोजना हुने टी–२० विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ । छनोट प्रतियोगिता ८ अक्टोबरदेखि आयोजना हुनेछ ।

  • प्रकाशित मिति : २ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया