राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा सम्पन्न भएको छ । बैठकले हालैको जेनजी आन्दोलन र त्यसपछि बनेको अन्तरिम सरकारबारे सात बुँदे निष्कर्ष सार्वजनिक गरेको छ ।
बैठकले भदौ २३–२४ गतेको आन्दोलनमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्यमी, व्यवसायी, सर्वसाधारण तथा राप्रपा नेता–कार्यकर्ताको सम्पत्तिमा भएको आगजनी र तोडफोडप्रति गहिरो दुःख व्यक्त गर्यो । साथै, मृतकका परिवारलाई सहायता, घाइतेको उपचार र क्षतिग्रस्त संरचनाको बीमा तथा उचित क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारसँग माग गरियो ।
राप्रपाले आन्दोलनको मूल मुद्दा भ्रष्टाचारविरुद्ध भए पनि त्यसको जरोमै प्रहार नगरी केवल सरकार निर्माणमा हतारिएको आरोप लगाएको छ । पार्टीको धारणा अनुसार समस्या केवल नेतृत्वमा नभई अहिलेको व्यवस्थामै छ ।
बैठकले यसपटकको विद्रोहले संविधान र हालको व्यवस्थाको असफलता पुष्टि गरेको दाबी गर्दै असफल संविधानकै आधारमा मुलुकलाई अघि बढाउने प्रयास देशलाई थप संकटमा धकेल्ने चेतावनी दिएको छ। राप्रपाले अबको समाधानका लागि नयाँ राजनीतिक समझदारी आवश्यक रहेको बताएको छ।
पार्टीले जेनजी विद्रोहपछि कम्तीमा अन्तरिम सरकार, अन्तरिम संविधान, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी र गैरदलीय स्थानीय तहको व्यवस्था गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।