१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

पर्यटन सिजनमै थिलथिलो, आन्दोलनले होटल क्षेत्रमा अर्बौँको क्षति
‘नेपाल सुरक्षित गन्तव्य हो’ भन्ने सन्देश दिन पर्यटन व्यवसायी सक्रिय

दुई दिन चलेको जेनजी आन्दोलनका कारण धेरै क्षेत्रले अपूरणीय क्षति बेहोरेको छ । जसमा पर्यटन क्षेत्र पनि एक हो ।


आन्दोलनले नेपालका होटल, ट्राभल एजेन्सी, पर्यटक, ट्रेकिङ गाइडदेखि साना व्यवसायसम्म प्रभावित भएका छन् । क्षतिको विवरण अझै पनि सङ्कलन भइनै रहेको छ । यसैबीच, देशभर होटल क्षेत्रमा मात्रै करिब २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ । 



प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका होटलका करिब दुई हजार कामदारको रोजीरोटी गुमेको छ । आन्दोलनमा राज्यका तीन अंगका मुख्यालय सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन मात्र नभएर निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । 

जेनजीको प्रदर्शनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको होटल संघले जनाएको छ । संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित होटल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी, लुटपाट भएको छ । जसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ । 



२३ र २४ भदौमा भएको प्रदर्शनले धेरै पर्यटकीय पूर्वाधारमा पनि क्षति पुगेको छ । त्यस्तै अन्तर्राष्ट्रिय पहिचान र साखको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय सिजन सुरु भएको समयमा विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनाएको हो । 

नेपाल भ्रमणका लागि सबैभन्दा मुख्य सिजन सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई मान्ने गरिन्छ । मौसम अनुकूल हुने हुँदा यो बेला विदेशी पाहुना नेपाल घुम्न रुचाउँछन् । नेपालमा हुने साहसिक गतिविधिमा रमाउने पर्यटकको चाहना हुन्छ । पदयात्रादेखि पाराग्लाइडिङ, हाइकिङ, अल्ट्रालाइट बेलुन जस्ता गतिविधिमा रम्छन् । 

यो सिजनमा पर्यटन व्यवसायीले पनि निकै अपेक्षा गरेका हुन्छन् ।  तर, यस वर्ष सिजनको सुरुमै पर्यटन क्षेत्रमा धक्का लागेको होटल एसोसियसन नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् । ‘दैनिक झण्डै तीन हजारको दरले पर्यटक नेपाल भित्रिरहेका थिए । नेपालमा उनीहरूलाई स्वागत गर्ने तयारी भइरहेका बेला जेन जी आन्दोलन भयो,’ उनी भन्छन्, ‘हाल नेपालमा रहेका सबै पर्यटक सुरक्षित छन् । तर आन्दोलनका कारण यहाँ आउन खोज्ने पर्यटक त्रसित मात्र भएका छैनन्, धेरैले बुकिङ रद्द गरेका छन् । नेपाल आउन चाहनेहरूले पनि सुरक्षा सम्बन्धी तीव्र सोधपुछ गर्न थालेका छन् ।’

विदेशी पर्यटकका लागि सुरक्षा नै प्रमुख प्राथमिकता हो । तर, जेन–जी आन्दोलनको क्रममा देखिएका आन्दोलन, तोडफोड, यातायात बन्द र सुरक्षाको कमीले सर्वप्रथम पर्यटकको मनोविज्ञानमै असर परेको हानका अध्यक्ष शाह बताउँछन् । ‘प्रविधिको युगमा नेपालमा भएको जेन जी आन्दोलनको खबर विश्वभर छरिएको छ,’ उनी भन्छन्, ‘आन्दोलनका दृश्यहरूले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक प्रभाव पारेका छन् । यसको सीधा असर पर्यटन क्षेत्रमा परेको छ ।’



भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र बिस्तारै पुरानै लयमा फर्किँदै थियो । सन् २०२५ को सेप्टेम्बरमा मात्रै साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । अगस्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०२३ मा १० लाख १४ हजार पर्यटक नेपाल भित्रिएका थिए । हलसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

तर, पछिल्लो विकसित परिस्थितिले पुनः पर्यटन क्षेत्रलाई झस्काएको उनी बताउँछन् । उनका अनुसार हाल अवस्था सामान्य भए पनि केही अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले भदौ ३० गतेदेखि लागू हुने गरी १५ दिनलाई नेपाल उडान रोकेको छ । 

तर, पर्यटनको आम्दानीमा केही ह्रास आए पनि पर्यटन क्षेत्र चाँडै पुनरुत्थान हुने विश्वास रहेको उनी बताउँछन् । ‘नेपालको स्थिति सामान्य बनिसकेको छ,’ उनी भन्छन्, ‘तर, अब चाँडै पर्यटकलाई त्रसित नहुन आग्रह गर्दै ‘नेपाल अझै सुरक्षित गन्तव्य हो’ भन्ने सन्देश प्रवाह गर्न आवश्यक छ । हामीले पर्यटकलाई सकारात्मक सन्देश दिइरहेका छौँ । यसमा सबैको साथ आवश्यक छ ।’

अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन् । उनीहरूमध्ये अधिकांश गन्तव्यमा छन् भने कतिपय पर्यटक यात्रा सकेर स्वदेश फर्किने प्रतीक्षामा छन् । नेपालमा रहेका पर्यटकलाई कुनै पनि नकारात्मक धारणा नबनोस् भनेर बढी प्राथमिकता दिइएको छ । हानका अध्यक्ष शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी हुन नदिने पनि उनी बताउँछन् । 

उनी भन्छन्,‘आन्दोलनबाट होटल क्षेत्रमा क्षति पुगे पनि हामी अझै विदेशी पाहुनाहरूको सेवामा कुनै कमी राख्ने छैनौँ । अझै हामी सयौँ पर्यटकलाई स्वागत गर्न सक्ने अवस्थामा छौँ । तर, सुरक्षाबारे सबै पर्यटकहरूलाई सुरक्षित रहेको सन्देश दिन आवश्यक छ ।’

देशलाई आर्थिक समृद्धि दिन सक्ने महत्त्वपूर्ण क्षेत्र पर्यटन नै हो । पर्यटकीय सिजनमै सिर्जित विषम परिस्थितिले पर्यटनमा नकारात्मक असर परेको छ तर, आशा गरौँ छिट्टै सामान्य अवस्था आउनेछ र पर्यटन क्षेत्र पनि चलायमान बन्ने छ । 

  • प्रकाशित मिति : ३ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया