श्रीलंकाका युवा स्पिनर दुनिथ वेललागेले एसिया कपअन्तर्गत अफगानिस्तानविरुद्ध खेलिरहेकैक्रममा आफ्नो बुबा गुमाएका छन् ।
२२ वर्षीय वेललागेका बुबा सुरंगाको कोलम्बोमा बिहीबार साँझ हृदयाघातका कारण निधन भएको हो । खेल भइरहेका बेला वेललागेलाई खबर दिइएको थिएन । खेलपछि मात्र टिम व्यवस्थापकमार्फत उनले यो दुःखद् जानकारी पाए ।
बिहीबारको खेल वेललागेका लागि पाँचौँ टी–२० अन्तर्राष्ट्रिय म्याच थियो । अफगानिस्तानविरुद्ध उनले चार ओभरमा ४९ रन दिए । मोहम्मद नाबीले उनको अन्तिम ओभरमा लगातार पाँच छक्का प्रहार गरेका थिए ।
खेलपछि वेललागेका बुबाको निधनको खबर सुनेर नाबी स्तब्ध बनेका थिए । रंगशालाबाट सार्वजनिक फुटेजमा पत्रकारले जानकारी दिँदा उनको अनुहारमा चिन्तित अभिव्यक्ति देखिन्थ्यो ।
नाबीले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गर्दै लेखेका छन्, ‘आफ्नो प्रिय बुबाको निधनमा दुनिथ वेललागे र उनको परिवारप्रति हार्दिक समवेदना ।’ बुबाको आकस्मिक निधनपछि वेललागे आगामी खेलमा सहभागी हुने नहुने अनिश्चित बनेको छ ।
श्रीलंकाले अब २० सेप्टेम्बरमा बंगलादेश, २३ सेप्टेम्बरमा पाकिस्तान र २६ सेप्टेम्बरमा भारतसँग खेल्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।