१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

डा. तोसिमा कार्कीको चारबुँदे प्रस्ताव : रास्वपाको नेतृत्व पुनरावलोकन गरौँ
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निवर्तमान सांसद डा. तोसिमा कार्कीले पार्टी पुनर्गठनका लागि चारबुँदे प्रस्ताव अघि सारेकी छन् ।


हालै सम्पन्न जेन–जी आन्दोलनपछिको परिस्थितिलाई जोड्दै उनले विशेषतः युवापुस्ताको आकांक्षालाई आत्मसात गर्नेगरी पार्टीले मार्गचित्र तय गर्नुपर्नेमा जोड दिएकी छन् । 



‘लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै सुशासनमा आधारित नैतिक र जनउत्तरदायी सरकार निर्माण गर्ने उद्देश्यले स्थापित हाम्रो पार्टीलाई जनताले ठूलो विश्वासका साथ हेरेका छन् । तर, पछिल्ला घटनाक्रमले उठाएका प्रश्नलाई हामीले आत्मसात गर्नैपर्छ,’ उनले भनिन् । 

‘संवेदनशील वर्तमान परिस्थितिमा पार्टीले खेलेको भूमिकाले नयाँ नेपाल निर्माणको यात्रामा सुशासनको म्यान्डेटसहित अगाडि बढ्ने सुनिश्चितता दिनुपर्छ । त्यसका लागि महत्त्वपूर्ण निर्णयहरू ढिला नगरी लिन जरुरी छ ।’    



उनको पहिलो धारणा अनुसार सुशासन र भ्रष्टाचारविरुद्ध उठेको जेन–जी आन्दोलनलाई तत्कालीन सरकारले नृशंस दमन गर्दा कम्तीमा ७२ जनाको ज्यान गएको, हजारौं घाइते भएको र व्यापक तोडफोड, आगजनी तथा लुटपाटका कारण देश ठूलो संकट र संक्रमणमा फसेको छ । यस्तो अवस्थामा जेन–जी मात्र होइन, जेन–अल्फा पुस्तादेखि सबै उमेर समूह, जातजाति, भाषाभाषी र भौगोलिक क्षेत्रका अपेक्षा र पीडालाई सम्बोधन गर्नु अपरिहार्य रहेको उनले उल्लेख गरेकी छन् । 

दोस्रो धारणा राख्दै उनले जेन–जी आन्दोलनलाई ‘तेस्रो जनआन्दोलन’ को रूपले व्याख्या गर्दै यसपछि नेपाल पहिलेकै अवस्थामा रहन नसक्ने प्रस्ट पारिन् । ‘सबै क्षेत्रमा आमूल सकारात्मक परिवर्तनको माग उठेको छ। त्यसैले राजनीतिक दलहरूले पनि पुरानो ढाँचालाई चिरेर महत्त्वपूर्ण सुधार गर्नैपर्छ,’ उनको भनाइ छ।

तेस्रो प्रस्तावमा उनले वर्तमान र भविष्यको नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण आजको अपरिहार्य आवश्यकता भएको औंल्याइन् । ‘पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम सबैको पुनरवलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यममार्गी शक्ति निर्माण गर्न उपयुक्त समय हो,’ उनले भनिन् ।

अन्तिम प्रस्तावमा उनले पार्टीलाई अर्थपूर्ण रूपान्तरण गर्न तत्कालै प्रक्रिया सुरु गर्नुपर्ने माग गरेकी छन् । साथै, अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिसँग संवाद गर्दै जेन–जी आन्दोलनको आकांक्षा संस्थागत गर्न सक्ने मध्यममार्गी राजनीतिक शक्ति निर्माणमा रास्वपा अग्रसर हुनुपर्ने उनको आग्रह छ । 



  • प्रकाशित मिति : ३ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया