२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

जेनजी आन्दोलनले नेपाललाई गरेको दिशानिर्देश

नेपालको राजनीतिक धरातल फेरि एक पटक ठूलो युवा कम्पबाट गुज्रिएको छ। ‘जेनजी आन्दोलन’ मार्फत पुरानो राजनीतिक संरचनाले जनमानसमा सिर्जना गरेको निराशा विस्फोट भएको छ र दशकौँदेखि दलहरूलाई नियन्त्रणमा राखिरहेका पुराना पुस्ताका नेताहरूलाई उखेलिदिएको छ। 


तीन शीर्ष नेताहरू र उनीहरूको पूर्ण असफलतासँगै दोस्रो, तेस्रो र चौथो तहका नेता कार्यकर्ताहरूको अन्धानुकरणले नै आजको संकट जन्माएको थियो। अब भने यो आँधीपछिको शून्यता नयाँ अवसरको रूपमा उपस्थित भएको छ।



संकट व्यवस्थापनको उपायबाट यो राजनीतिक तुफानले शान्त हुने बाटो समातेको छ र निर्वाचन–मुखी मन्त्रिपरिषद् गठन भइसकेको छ। यो नयाँ सुरुवातको क्षण हो। नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका परम्परागत राजनीतिक दलहरू, सबैले यस क्षणलाई एउटा साझा आधारमा अघि बढाउनुपर्छ। राजनीति गर्ने र देशको नेतृत्व गर्ने दलहरूले नै हो। त्यसैले,

पहिलो, जेनजीको सन्देशलाई आत्मसात् गरौँ।



जेनजी आन्दोलन कुनै क्षणिक भावनात्मक विस्फोट मात्रै नभएर यो हाम्रो समाजको कठोर यथार्थ हो। दलहरूले यसलाई अस्वीकार गर्ने कि आत्मसात् गर्ने भन्ने निर्णयले नै अब देशको भविष्य निर्धारण गर्नेछ। पुरानो बुढो नेतृत्वमा अड्किएर दलहरू भविष्य खोज्दैनन्; र नयाँ पुस्ताको आवाजलाई स्वीकार नगर्ने हो भने उनीहरू जनतासामु थप अस्वीकार्य बन्नेछन्।

दोस्रो, पुरानो शीर्ष नेतृत्वलाई बिदा गरौँ।

दलहरूमा दशकौँदेखि नेतृत्व गरिरहेका शीर्ष नेताहरूले अब बिदा लिनुपर्ने बेला आएको छ। उनीहरूले लोकतन्त्रलाई आफ्नो निजी सम्पत्ति बनाएका छन्। अब पार्टीभित्रै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ढिलाइ गर्नु राष्ट्र घात हुनेछ। कम्तीमा पनि शीर्ष र दोस्रो तहका नेताहरूले स्वतः अवकाश लिने घोषणा गर्नुपर्छ। संरक्षक बनेर देशको भविष्य अड्काइरहने होइन, राष्ट्रिय राजनीतिबाट बिदा लिनुपर्छ।

तेस्रो, स्थिरता, राष्ट्रिय एकता र आगामी निर्वाचनप्रति प्रतिबद्धता व्यक्त गरौँ।



नेपाल दशकौँदेखि राजनीतिक सङ्क्रमणको अनिश्चिततामा थिलथिलो भइरहेको छ। अब दलहरूको पहिलो दायित्व भनेको देशमा स्थिरता र राष्ट्रिय एकता कायम गर्नु हो। आगामी निर्वाचन तोकिएको समयमा सम्पन्न गर्ने प्रतिबद्धता मात्र होइन, त्यसलाई सफल बनाउने ग्यारेन्टी पनि दलहरूले नै दिनुपर्छ।

चौथो, भ्रष्टाचारविरुद्ध निःसन्देह जाँचबुझ गरौँ।

भ्रष्टाचारले हाम्रो राज्यलाई खोक्रो बनाएको छ। नेतादेखि उच्च प्रशासक र ‘बिचौलिया’ सम्मको गैर कानुनी सम्पत्ति आर्जन र शक्ति कब्जा अब जाँचबुझको कठघरामा उभिनै पर्छ। राजनीतिक दलहरूले यो विषयमा अब जेनजी गरौँ। आन्दोलनको मर्म र भावना अनुरूप स्पष्ट उच्चारण गर्न जरुरी छ कि भ्रष्टाचारीहरूलाई कुनै छुट छैन, कुनै सम्झौता हुँदैन।

पाँचौँ, सुरक्षा र प्रशासनको पुनर्गठन गरौँ।

राज्य संयन्त्र, विशेषतः सेवा प्रदायक प्रशासन र सुरक्षा निकायहरू, आफ्नै कमजोरी र अप्रभावी मोडस अपरेन्डीका कारण असफल भएका छन्। प्रहरी, गुप्तचर, र प्रशासनलाई नयाँ सोच र दक्षतासहित नतिजामुखी बनाउन पुनर्गठित गर्न ढिलाइ गर्नु हुँदैन। नेपाली सेनामा पनि आवश्यक छ भने अहिले नै गर्नुपर्छ।

छैटौँ, राष्ट्रिय एकता प्रवर्धन गर्न घृणा–विरोधी राजनीति तत्काल बन्द गरौँ।

यस कठिन घडीमा सामाजिक सद्भाव र राष्ट्रिय एकता सबैभन्दा ठूलो आवश्यकता हो। हरेक दलले आफ्ना मञ्चहरूबाट एकताको सन्देश दिनुपर्छ। घृणात्मक भाषण, प्रतिशोधको भावना वा विभाजनकारी राजनीति अबको नेपालको लागि घातक साबित हुनेछ। यसले राष्ट्रिय चेतना विकासको जरुरत देखाएको छ। 

निष्कर्ष : जेनजी आन्दोलनले पुरानो राजनीतिक ढाँचा भत्काउनुपर्छ भन्ने सन्देश दिएको छ, तर मुलुकलाई शून्यमा छोडेको छैन। बरु यसले नयाँ सम्भावनाको ढोका खोलेको छ। आजको प्रश्न अब ‘राजनीतिक दलहरू यस अवसरलाई समात्छन् वा फेरि गुमाउँछन्?’ भन्ने नै हो। त्यसैले, सन्देश स्पष्ट छ :

• पुराना नेताहरू हटाउनै पर्छ,
• नयाँ पुस्ताले जिम्मेवारी लिनै पर्छ,
• स्थिरता, पारदर्शिता र राष्ट्रिय एकताको बाटोमा सबै मिलेर अघि बढ्नै पर्छ।
• नेपालले फेरि उठ्ने हो भने बाटो यही हो।

  • प्रकाशित मिति : ३ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया