२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

एसिया कप अब सुपर फोरमा : भारत-पाकिस्तान फेरि आमनेसामने

तेस्रो सिजनको एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा पुग्ने टिमको टुंगो लागेको छ । यसपालि एसिया कपको सुपर फोरमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले स्थान बनाए ।


भारत र पाकिस्तान समूह ‘ए’ तथा श्रीलंका र बंगलादेशले समूह ‘बी’ बाट सुपर फोरमा स्थान बनाएका हुन् । समूह चरणमा भारत र श्रीलंका अपराजित रहे । भारतले यूएईलाई ९ विकेटले हराउँदै एसिया कपको सुरुवात गरेको थियो ।



दोस्रो खेलमा उसले पाकिस्तानलाई ७ विकेटले हरायो । समूह चरणको तेस्रो म्याचमा ओमानविरुद्ध पनि भारतले खेल जित्ने निश्चितजस्तै छ । जारी एसिया कपमा समूह ‘ए’ को उपविजेता बनेको पाकिस्तानको प्रदर्शन भने अपेक्षाकृत रहन सकेन । उसले ओमानलाई ९३ रनले हराउँदै प्रतियोगिताको सानदार सुरुवात गरेको थियो ।



दोस्रो खेलमा भने पाकिस्तानको प्रदर्शन निकै कमजोर रह्यो । त्यस म्याचमा उसले पहिला ब्याटिङ गर्दै १ सय २७ रन मात्र जोड्यो । बलिङमा पनि भारतविरुद्ध पाकिस्तानको प्रदर्शन अपेक्षाकृत रहन सकेन । त्यस खेलमा उसका प्रमुख बलर विकेटविहीन बने ।

पाकिस्तानले समूह चरणको अन्तिम खेलमा यूएईविरुद्ध भने उत्कृष्ट पुनरागमन गर्दै सुपर फोरमा स्थान बनायो । उसले अब सुपर फोरको पहिलो खेलमा भारतको सामना गर्नेछ ।

भारत र पाकिस्तानबीचको खेल आइतबार हुनेछ । पाकिस्तानसामु अब समूह चरणमा भारतविरुद्धको हारको बदला सुपर फोर चरणमा लिने मौका छ । 



यस्तै, एसिया कप २०२५ को पहिलो चरणमा समूह ‘बी’ बाट श्रीलंका विजेता बन्यो । प्रतियोगितामा उसले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । श्रीलंकाले बंगलादेशलाई ६ विकेटले हराउँदै टुर्नामेन्टको सानदार सुरुवात गरेको थियो ।

यस्तै, उसले दोस्रो खेलमा हङकङविरुद्ध चार विकेटको जित निकाल्यो । जितमा ह्याट्रिक गर्नेक्रममा श्रीलंकाले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई ६ विकेटले हरायो । यस खेलमा उसले उत्कृष्ट ब्याटिङ गर्‍यो ।

अफगानिस्तानले दिएको १ सय ७० रनको चुनौतीपूर्ण लक्ष्य श्रीलंकाले १८.४ ओभरमा पूरा गर्दै समूह विजेताको रूपमा सुपर फोरमा स्थान बनायो । श्रीलंकाको जितले बंगलादेश पनि सुपर फोरमा पुगेको छ । 

बंगलादेशले समूह चरणको पहिलो खेलमा हङकङलाई ७ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्‍यो । दोस्रो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको पराजय बेहोरेको बंगलादेशले तेस्रो खेलमा अफगानिस्तानविरुद्ध ८ रनको रोमाञ्चक जित निकाल्यो ।

यसपालि अफगानिस्तान, यूएई, ओमान र हङकङ भने पहिलो चरणबाटै बाहिरिएका छन् । उनीहरूमध्ये अफगानिस्तान र यूएईले तीनमध्ये दुईमा हार तथा एक खेल मात्र जित निकाले ।

ओमान र हङकङले भने जितको खाता खोल्न सकेनन् । यता नेपाली टिमले यसपटकको एसिया कप खेल्न पाएन । एसिसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्न नसक्दा नेपालले एसिया कप खेल्न नपाएको हो । 

नेपालले सन् २०२३ मा भएको १६औँ संस्करणको एसिया कप भने खेल्न पाएको थियो । उक्त संस्करणको एसिया कप एकदिवसीय ढाँचामा खेलाइएको थियो । नेपालले टी–२० फर्म्याटको एसिया कपमा भने प्रतिस्पर्धा गर्न पाएको छैन ।

यसअघि यस फर्म्याटमा दुईपटक मात्र एसिया कपको आयोजना गरिएको छ । सन् २०१६ र २०२२ मा टी–२० एसिया कप भएको थियो, जसमध्ये पहिलो संस्करण भारत र दोस्रो संस्करणको उपाधि श्रीलंकाले जित्यो ।

तीन वर्षपछि हुन लागेको टी–२० एसिया कप जित्न पनि यी दुई टिम पूरा कोसिस गर्ने छन् । सुपर फोरमा भारत र श्रीलंकाबीचको खेल २८ सेप्टेम्बरमा हुने तालिका छ ।  

  • प्रकाशित मिति : ३ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया