Mon, 24 Jun, 2019


गुठी विधेयक विवादबारे मानवअधिकार आयोगले मुख खोल्यो, वार्ताबाट समाधान खोज्न सरकारलाई आग्रह
फरकधार / जेठ ३०, २०७६

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले गुठीसम्बन्धी विधेयकका विषयमा देखिएको असन्तुष्टिको समाधान वार्ता र संवादमार्फत खोज्न सरकारसँग आग्रह गरेको छ । गुठीसम्बन्धी विधेयकविरुद्ध सडकमा उत्रेका प्रदर्शनकारीमाथि सरकारले धरपकड गरेकाे तीन दिनपछि आयोगले मुख खोलेको छ । 



बुधबार एक विज्ञप्ति जारी आयोगले गर्दै वार्ता र संवादमार्फत असन्तुष्टिको हल खोज्न सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा आयोगले शान्तिपूर्ण रूपमा भेला हुने तथा प्रदर्शन गर्ने नागरिकको अधिकारको सम्मान गर्न आग्रह गरेको छ । घाइतेको उपचार गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याई वार्ता गर्न पनि आयोगले सरकारसँग माग गरेको छ ।

सरकारले संघीय संसद्मा दर्ता गराएको गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै जेठ २६ गते गुठियारले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारी घाइते भएका थिए ।

प्रदर्शनकारीलाई पनि आयोगले विरोधका कार्यक्रम संयमित भएर सञ्चालन गर्न आग्रह गरेको छ ।

सांस्कृतिक अधिकार मानवअधिकारकै अभिन्न अंग भएको स्मरण गराउँदै आयोगले परम्परादेखि चलिआएको विभिन्न वर्ग तथा समूहका मानवहरुको संस्कृति लोप हुने अवस्था आउन नदिनेतर्फ संवेदनशील हुन सरकारलाई सुझाव दिएको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्