२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

के नेपाली यस्तो हुन सक्छ ?

के नेपाली यस्तो हुन सक्छ ? यो प्रश्नले सियोले झैँ घोचिरहेछ मनमा । 


यो कुरा सुनेपछि मेरो स्वचालित मन विचलित भइरहेको छ । यो पढेपछि सायद तपाईँको पनि हुन सक्छ । 



एकादेशको कथा हैन यो । हाम्रै देशको कथा हो । 

जेनजी पुस्ताको आन्दोलनको कुरा हो । समय क्रममा यसका धेरै पाटो खुल्दै जाला । राजनीतिक कारण र देशी विदेशी तत्त्वका कुरा हुँदै जाला । आन्दोलनभित्रका असामान्य हैन सामान्य तर मन हल्लाउने कथा थाहा पाउन मलाई पाँच दिन लाग्यो । २०८२ भाद्र २४ को घटना मलाई थाहा पाउन २९ गते आइपुग्नु पर्‍यो । यसै पनि,मान्छेहरू तीन चार दिन रनभुल्ल र ट्वाल्ल परेकै थिए । मेरो पनि स्थिति यस्तै थियो ।  



कथा चाहिँ के हो ? यहाँहरूलाई लागिसक्यो होला । 

वियोगान्त कथा हो । काठमाडौं जलिरहेको समयकै कथा हो । सिंहदरबारदेखि संसद् र सबैतिर जलिरहँदा मान्छेको मन पनि जलिरहेको समयकै कुरा हो । 

काग कराइरहेको थियो । अपशकुन हो वा शकुन भन्न सकिरहेको थिइन । यसै टोलाइरहेकै बेला मेरो नजिकै एक जना आइपुगिन र उनले भनिन् “थाहा पाउनु भो भाटभटेनीमा त ११ जनाको लास फेला परेछ नि ?”

समाचार पढिसकेकै थिए र भने “अँ थाहा पाए न्युजमा आइसकेको छ, समाचारले कंकाल मात्र भेटिएको र मान्छे पनि को,के केही थाहा नहुने भयो भनेको छ ?”



उनले भनिन् “ला अरूको हो त भन्यो, त्यो हाम्रो घरमा डेरा बस्ने मान्छे पनि त्यहीँ मरेछ त ?”

निकटताले नजिकपनले र भावनाले मान्छेसँग मान्छे जोडिन्छ । चीनको बाढीले चीनमा सयौँ मान्छे मरेको भन्दा घर अगाडीको गाई मर्यो भने त्यो ठुलो घटना र दुःख लाग्दो हुन्छ ।

देखिरहेको मान्छे मर्यो भन्ने कुराले मलाई बहुतै पोल्यो । 

अनि सोधे “ला हो र ? के भएर मरेछन् ?”

उनले भनिन् “भाटभटेनी तोडफोड भइरहँदा उसले दुई पल्ट काँधमा सामान बोकेर ल्याएछ,तेस्रो पल्ट पनि गएछन्,भित्र सामान छानिछानी बटुले होलान्,बाहिरबाट आगो लागिसकेछ,सामान बटुल्दा बटुल्दै त्यहीँ परमधाम भएछन् ।”
“अनि कसरी उ नै हो भन्ने थाहा भयो र” मैले सोधे ।

उनले भनिन् “मोबाइल लगेको थियो रे मोबाइलको लोकेसनमा त्यहीँ भाटभटेनीको देखाएपछि त्यही मर्यो भन्ने थाहा भएन त !” 

थप्दै उनले भनिन् “हेर्नुस् धेरै त चोर्न गएका मान्छे मरेका छन् रे भाटभटेनीमा ।”

 ०००

जेनजी आन्दोलनबारे समाचार आइरहँदा म आफैभित्र तीन पल्ट मरेथे । 

एकपल्ट भाद्र २३ गते आन्दोलनको रात १९ जना मरे भन्ने खबरले खुत्रुक्कै भएथेँ । अर्कोपल्ट दोस्रो दिन शेरबहादुर देउवा दम्पतीले त्यस्तरी कुटाई खाएको देखेर भिडियो हेर्दा हेर्दै ट्रमा होला भन्ने डर भयो । त्यति बेला पनि म भरङ्ग भए । तेस्रो पलट सिंहदरबार,संसद् र अदालत जलेको भिडियो हेरिरहँदा पनि म आफै मरे झैँ भएको थिए । 

२३ र २४ गते रिकभर हुँदै २९ गते आइपुगेको थिए । यो घटना सुनेपछि चौथोपल्ट मरे झैँ भए । दृश्यहरू हेर्दछु अनि प्रश्न आउँछ ।

के नेपाली यस्तो हुन सक्छ ? 

मनमनै भन्छु–भइसक्यो । एक जना जेनजी बहिनीको स्कुल ड्रेसको भिडियो भाइरल छ । चर्की चर्की उनी कराउँछिन् पहिलो दिन । दोस्रो दिन टेडी बियर र ब्याग बोकेर हिँड्छिन् । अझ कराउँदै भन्छिन्, “यो हाम्रो करको सम्पत्तिले बनाएको हो,हाम्रो हो ।”
जो चोर उसको ठुलो स्वर गर्ने उनलाई मैले मनमनै सोधिरहेछु । “तिम्रै हो भने अघिपछि किन पैसा तिरेको त नानी ?”

अर्को आमा छोरा भएर भाटभटेनीकै सामान ओसारिरहेछन् र भन्छन् ।

“यो हाम्रै त हो,हाम्रै पैसाले बनाएको ।”

आरजु देउवाको ब्याग बोक्न सके जति लिएर एक केटीले फोटो,भिडियो हालेकी छन् र भनेकी छिन्–“यो हाम्रै हो,हाम्रो पैसाले किनेकी त हुन् ।”

सिराहाको लहानमा खाद्य संस्थानबाट चामल लुटेको ताँती एक किलोमिटर लामो भिडियो अहिले पनि हेर्न पाइन्छ र भनिरहेछन्–“यो हाम्रै त हो हामीले लैजानु परेन ।”

रक्सी चोरेको छ । जुत्ता चोरेको छ । हरे,जे देख्यो त्यहीँ चोरेको छ । आन्दोलन हैन लुट भइरहेको छ । लाज सरम नभएका र लुट्न आएका, यो मेरो पसल हो भाटभटेनीमा मेरो पसल छ भनेर रुँदै कराउँदै गरेको भिडियोमा सुनिन्छ । तर आन्दोलन हैन यो लुट हो झैँ अटेसमटेस गरी सामान लिँदै हिँड्दै गरेका छन् । हरे कहीँ कहीँ त एकै घरको तीन जना पनि सके जति बोक्न दुई दुई पल्ट आएको भिडियो हेरियो । 

लुट्ने र चोर्ने सबैको एकै लोलि छ । “यो हाम्रै सम्पत्ति हो ।”

म्यान आर एनिमल भन्ने वाक्य सम्झे । मान्छे भित्र रहेको जनावर मौका पाउने बित्तिकै जाग्दछ भनेको यहीँ हो भन्ने लाग्यो । 

एक छिनको खुसीको लागि आइसक्रिम खाँदै बाहिर निक्लेका छन् लुटेर । चोरेको ती समानले एक दुई दिन खालान् । एक वर्ष लगाउलान् त्यसपछि उनीहरूलाई कस्तो हुँदो हो भन्ने लागिरह्यो । 

अनि फेरि मनमनै उहीँ माथिको प्रश्नले हान्यो ।  के नेपाली यस्तो हुन सक्दछ ? 

सरकारी गाडी चढेर हिँड्ने एक प्राज्ञ सिंहदरबार जलाउन लागिरहेका छन् । 

वकिल अदालत जलाउन हिँडिरहेका छन् । 

विद्यार्थी निजी क्याम्पस र स्कुल जलाउन हिँडिरहेका छन् । 

चोरहरू भागेर जेलबाट फरार हुँदै प्रहरी बिट जलाउन हिँडिरहेका छन् । 

देख्न नसक्ने र हेर्न नसक्ने यस्ता दृश्यहरू हेरिरहँदा मन एक तमासको भएको छ र प्रश्न मनमनमा आइरहेछ–के नेपाली यस्तो हुन सक्छ ? 

  ०००

सानैमा एउटा कथा पढेथे । कथा लामो छ । छोटोमा लेखौँ ।

कतै केही सामान भेटियो तीन पल्ट सोध्नु पर्दछ । 

यो कसको ? 

यो कसको ?

यो कसको ? 

तीन पल्ट सोध्दा पनि कोही आएनन् भने मात्र त्यो आफूले लिएर आउन मिल्दछ नत्र पाप लाग्दछ । 

कथाले जीनलाई नै परिवर्तन गरिदिन्छ । लाटा मान्छे कथाकै कारण बाठो हुन्छन् । यहीँ भएर नै आएको हो,पञ्चतन्त्रका कथाहरू पढाइएका । नैतिकता र धर्मपापका कथाहरू पढाइएका । 

कथाले जीन नै परिवर्तन गरिदिन्छ दाइ भनेर मेरो भाइको साथी लक्ष्मीप्रसाद खनालले भन्दैथेँ ।  

अब त धर्म पापको युग सकिए झैँ भयो । जल्ले गर्यो पाप उसको फलिफाप भन्ने सुनिन थाल्यो । भ्रष्टाचारलाई कारबाही गरौँ भन्नेहरू नै मौका पाउँदा अर्काको पसलको सामान आफ्नै हो भनेर भ्रष्ट आचरणमा लागेपछि उनीहरूले मौका पाउँदा के गर्लान् ? भन्ने यक्ष प्रश्न मथिङ्गलमा घुमिरहेको छ । 

कति बेरको खुसीको लागि यसो गरेको होला ? 

अहिले त माथिको कथा पढेर हुर्केका मान्छे नै पैसा खसालेको देखेँ भने यो कसको भनेर सोध्दैनन् । अरूले देख्ला भनेर पैसा कुल्चेर बस्ने र यता उता छड्के पर्दा लुसुक्क टिपेर खुसुक्क खल्तीमा हाल्ने भएका छन् । 

समाजको संस्कृति बिग्रियो । नैतिक शिक्षा पढाउन पर्ने त्यो शिक्षा नै हरायो ।

समाजको संस्कृति बिग्रियो । नैतिक शिक्षा पढाउन पर्ने त्यो शिक्षा नै हरायो । भ्रष्ट्राचार बढ्यो । नैतिकता हरायो । इमानदारिता कुलेलाम ठोक्यो । जो जति ठुलो ओहदामा छ उसले त्यति बढी कमाएको देखाउनु पर्ने भयो । 

पूर्वीय दर्शनमा,सनातन धर्ममा पाप गरयो भने यो जुनिमात्र कैयौँ जुनी के के हुन्छ भनेर तर्साइन्छ । त्यो पढाउने र भन्ने ब्राह्मण आफै अनैतिक भए । अनि कहाँबाट हामी बन्दछौ । 

पश्चिमी दर्शन ऋणम कृतम घृतम पिवेतम् । ऋण गरेर पनि घिउँ खाउँ मरेपछि कसले देख्दछ र भन्ने ठाउँमा भने जिम्मेवारी लिएपछि मज्जाले काम गर्नु पर्दछ भन्ने भयो । 

अमेरिकाबाट लक्ष्मी भाइ भन्दैथे,“दाइ अमेरिका त्यसै अमेरिका भएको हैन । उनीहरूलाई कुनै पनि कामको जिम्मेवारी दिएपछि त्यो कसरी बेस्ट अफ द बेस्ट दिने ? भनेर सोच्छन् । प्राइभेट नै होस् जिम्मेवारीमा बसुन्जेल यताउता दायाबायाँ गरयो भने परिवारकै सदस्य,इष्टमित्रले घृणा गर्दछन् । अझ सरकारी सेवामा काम गर्दा जति वर्ष गर्ने हो मज्जाले इमानदारीतापूर्वक गर्दछन् । यहाँको यो गज्जबै लाग्दछ दाइ मलाई, कसरी यो संस्कृति बनाए बनाए उनीहरूले ?”

भाइको कुरा सुनेर यसो फेसबुक खोलेथे । जलेर रोइरहेको भाटभटेनीबाट हाँस्दै सामान चोरेर मान्छे लैजाँदै थिए । चोरेर मात्र नलगि कत्ति रिस उठेर होला घर पनि जलाइरहेको थिए । 

आफ्नै आगोले पोलेर रोइरहेको सिंहदरबारबाट हाँस्दै मेच , टेबुल समेत चोरेर लैजाँदै थिए । 

जलिरहेको घरबाट शीतल बन्दै रक्सी , पैसा , ब्याग समेत चोरेर लैजाँदै थिए । 

चोरेको धनले कतिन्जेल पुग्दछ र भनेर हामीले किन सोचेनौ ? 

लाग्दछ नीति र नैतिकता हरायो । लाग्दछ,चार पुस्ता एकै घरमा बस्ने देशमा अहिले परिवार अलगअलग भयो । हजुरआमा,हजुरबा गाउँमा । बच्चा पढ्न सहरमा । बाबु आमा काममा विदेशमा । 

लाग्दछ,बच्चाहरूमा डिभाइस संस्कृति बढ्यो । आफ्नो संस्कार घट्यो ।

लाग्दछ,बच्चाहरूमा डिभाइस संस्कृति बढ्यो । आफ्नो संस्कार घट्यो । मोबाइलमा जे आउँछ त्यो हेर्दै जाँदा नकारात्मक कुरामा मात्रै ध्यान दिइयो । संसारमा को–कसरी धनी भएका रहेछन् । गहिराइमा नभई सतहमा आएका रिल,टिकटक,फेसबुक,युट्युब हेर्दा हेर्दै बच्चाहरूमा भएको सनातन संस्कृति ओइलायो । नकारात्मक संस्कृति मौलायो । लाइक, कमेन्ट र फलोअर्स बढाउने धुनमा मानवता गुम्दै गयो । मान्छेभित्रको स्याडिस्ड नेचर कल्चर बन्दै गयो । देवता जस्तो नेपाली राक्षस जस्तो बन्यो । 

 ०००  

मलाई त नेपाली भनेको वाह नेपाली जस्तो लाग्दछ । 

नरेन्द्र मोदीले मणिपूरमा भाषण गर्दै भने “नेपाली युवाले युगान्तकारी परिवर्तन गरे,महिला प्रधानमन्त्री बनाए,आफूले गरेको आन्दोलनको फोहर आफै सफा गर्दै हिँडे,वाह नेपाली ।”

बंगलादेशी मिडियाले भने “आन्दोलन गर्न त नेपालबाट सिकौँ,न कुनै मस्जिद जलाए,न मन्दिर,न कसैको कट्टु देखाए,सभ्य र भव्य आन्दोलन गरे,वाह नेपाली ।”

अष्ट्रेलियनहरुले भने “नेपालीहरू सहृदयी छन्,उनीहरूको देश आन्दोलनमा पनि मज्जाले घुमे हुन्छ,टुरिस्टलाई नमस्ते गर्दै बाई गर्दै पठाए र मलाई पनि पानीहरू खुवाए,वाह नेपाली ।”

गिरिजाप्रसाद कोइरालाको किताब लेखेपछि थाहा पाएँ । जापानीज प्रधानमन्त्रीले गिरिजाप्रसाद कोइरालालाई ढोगेछन् । अनि भनेछन् “तपाई त बुद्धको देशको मान्छे हो ।”

गिरिजाप्रसाद कोइरालाको क्यारेक्टर हैन बुद्ध जन्मेको देशको लागेर बुद्धिस्ट धर्मका जापानीज प्रधानमन्त्रीले ढोगे । हामी सीता जन्मेको देश हौ । संसारकै उच्च छानो भएको देशको मान्छे हौं । गोर्खाको देशको मान्छे हौ । दुई महिनाअघि भारतको मसूरी जाँदा पनि नेपालीलाई गरेको विश्वास देखेर द्रवीभूत भएथे । लाग्यो ।  

यो हो नि नेपाली पन भनेको । 

यस्तो नेपाली पन किन मर्दै गएको ? 

नेताहरूले संस्कार बिगारेकै हुन् । शिक्षाको पनि पार्टी भएर शिक्षकहरू बिग्रिएर हद्दु भयौ । प्रायको मौका पाउँदा लोभ फुत्त बाहिर आउँछ । काम,क्रोध,लोभ,मोह,अहङ्कार एक बाहिर आएपछि त्यसले पाँच वटा तानेर ल्याउँछ । उनीहरूले गर्नु हुने हामीले नहुने भन्ने लाग्न सक्दछ । जो  सुखी हुन चाहन्छ । उ अनुशासनमा बस्ने हो । धैर्यतामा बस्ने हो । मेहनत गर्ने हो । 

चोरेर पनि कहीँ खुसी हुन्छ र ?

एक विशिष्ट बौद्ध गुरुले भन्थे “नेपाल बुद्ध जन्मेको देश हो,यो देशमा पाँच वर्षको बच्चालाई अनिवार्य रूपमा ध्यान सिकाउने हो भने उसले पच्चिस वर्षको उमेरमा गएर कहिल्यै अप्रिय बोल्ने हुँदैन,पचास वर्षमा त त्यो मान्छे नै अर्कै हुन्छ ।”

नैतिकता,विवेक,धर्म,कर्तव्यपरायणता पालना गर्ने कथाहरू बच्चै देखि शिक्षकले फिल्डमै लगेर पढाए भने कति जाति हुन्थ्यो । कथा नभएको पनि हैन । बनाउनु पर्ने पनि हैन । एक सय एक कथा छन् त्यस्तो ।  

केही घण्टामा त्यत्रो तोडफोड आगजनी भएको यो देशमा मान्छेहरू धेरै दिन ट्रमामा नबसी सडक जाम हुन थालिसक्यो । यहीँ कुरा बंगलादेश र श्रीलंकामा आउन कति समय लागेथ्यो । अनि लाग्यो के भने हरेक दिन विद्यालयमा नैतिक कथा र ध्यान अब अनिवार्य गरेमा नेपाल कस्तो हुन्छ होला ? 

  ०००

आजकल भाटभटेनीमा मान्छे नचिनिएका कंकालले मलाई तर्साइरहेको छ । मौका पर्दा त मान्छेहरू चोर्न लाग्ने रहेछन् भन्ने भइरहेछ । चिसो छिँडीमा डेरामा बसेका कति मान्छे भाटभटेनी छिर्ने रहर मात्रै भएका पनि होलान् सहरमा । तर पनि उनीहरू आफ्नै जीवन बाँचिरहेका थिए । चैत्रको राजावादीको आन्दोलनमा पनि भाटभटेनी तोडफोड र लुटपाट भयो र अहिले पनि । कारण मान्छेको आफूभित्रको जनावरलाई लगाम चाहियो । दण्ड चाहियो । 

महँगो रक्सी भनेर एकजनाले ट्वाईलेट सफा गर्ने एसिड खाएर बिमारी भई अस्पताल बसेको सुनेको छु । चोरेर खाएर भलो त हुँदै हुँदैन भन्ने फेरि उहिँ छ ।  यी सबै पढेर,सुनेर,देखेर पनि लुटपाट भोलि फेरि हुन्छ । त्यसैले दण्ड र पुरस्कार राज्य हुनुको अभिन्न कुरा हुन् । जोगाउनेलाई पुरस्कार र भत्काउने र बिगार्नेलाई दण्ड दिनै पर्दछ । 

अरब देश बनाउने नेपालीलाई अरबले भिसा रोकेको कुराले अपमानित बनाइरहेछ । 

मलाई भाटभटेनीमा मान्छे मर्यो भन्दा पनि संस्कार मर्यो भन्ने कुराले चिथोरिरहेको छ । बुढी मर्नु भन्दा पनि काल पल्कनुले पिरोलिरहेको छ। मर्नु पर्ने मान्छेभित्रका झारहरू लोभ,काम क्रोधहरू नमरेर मौलाइरहेको कुराले चिन्तित बनाइरहेको छ । अरब देश बनाउने नेपालीलाई अरबले भिसा रोकेको कुराले अपमानित बनाइरहेछ । 

जुन कुरामा मेरो केही दोष छैन । राम्रो काम गरिरहेर राम्रैसँग बसेर देशको भलो होस् भन्ने म जस्ता लाखौँ नेपाली यसमा सहभागी छैनन् । तर तिम्रो नेपालमा त यस्तो भएछ भनेर बेकारमा अपजस बोक्नु परेको छ। संसारभरका नेपालीलाई प्रश्न–के नेपाली यस्तो हुन्छ ? भन्ने प्रश्नमा सोझा,इमानदार र सक्षम नेपालीले  उत्तर दिन नसकी यस्तै हुन्छ भन्नु पर्ला भन्ने कुराले चहराइरहेको छ । 

हिजो गोर्खाले बहादुरी कमाउँदा । सज्जन नेपालीहरू भेट्दा । मेहनत पूर्वक काम गरेर नाम कमाइरहँदा । साराका सारालाई मद्दत गरिरहँदा । दुःखमा पनि निश्चल हाँसो हाँस्दा पनि सारा विश्वले भन्थ्यो के नेपाली यस्तो हुन्छ ? यी आन्दोलनपछि पनि यही प्रश्न आइरहेछ ।

के नेपाली यस्तो हुन्छ ? 

प्रश्न उही दृश्य र दृष्टिकोण फरक भयो । मलाई पछिल्लो जस्तै नेपाली मन पर्दछ र भन्न मन लाग्दछ हो नेपाली यस्तै हुन्छ । कोमल,धैर्यवान्, परिश्रमी,साहसी,बुद्ध जस्तै सीता जस्तै,अग्लो सगरमाथा जस्तै, कलकल बग्ने नदी जस्तै । हो नेपाली यस्तै हुन्छ । 

चोरी,डकैती,फटाहा,लुच्चा लफुङ्गा देखेर,हत्या हिंसामा संलग्न भएर ती कुरालाई लिएर अबदेखि नेपालीलाई संसारले प्रश्न नगरोस् ।  के नेपाली यस्तो हुन्छ ? भनेर । यो लेखको सार यहीँ हो । फेरि यस्तो सुन्न र देख्न नपरोस् । 

  • प्रकाशित मिति : ५ असोज, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया