विनासूचना हाइड्रोपावरले ड्याम खोल्दा युवतीलाई खोलाले बगायो

धादिङ– धादिङको टारीबेँसीछेउ आँखुखोलाले बगाएर बुधबार १९ वर्षीया युवती बेपत्ता भएकी छिन् । दिउँसो नुहाइधुवाइ गर्न गएका वेला आँखुखोला हाइड्रोपावरले ड्याम खोलिदिएपछि युवतीलाई खोलाले बगाएको हो । 

दाङ घर भएकी युवती काठमाडौंस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी प्राक्टिकलका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी हुन् ।

धादिङका प्रहरी प्रमुख डिएसपी राजकुमार बैदवारले आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलामा रहेकी युवतीलाई बगाएको बताए । जानकारी नदिई ड्याम खोल्दा यसअघि पनि मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले बताए ।

पाँच सय बढी कामदार लगाएर गणेशस्थान र खहरे नजिकै स्थानीयवासीले वारिपारि गर्न बनाएको काठेपुल पनि आँखुखोला हाइड्रोपावरले ड्याम खोलिदिँदा बगाउने र स्थानीयवासीलाई समस्या पर्ने उनले बताए । बेपत्ता युवतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलेको दाबी गरे । – रासस





  • प्रकाशित मिति : जेठ ३०, २०७६ बिहीबार ११:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया