नेपाली महिला क्रिकेट टोलीले पछिल्लो चार महिनायता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । नेपालमा बर्खाको मौसम हुनु र अन्य देशहरूसँग तालमेलको अभावका कारण महिला टोलीले नियमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नसकेको हो ।
अब भने नेपाली टिम मैदान उत्रने भएको छ । नेपाली टोली मलेसियाविरुद्ध टी–२० सिरिज खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्न लागेको हो । नेपाल र मलेसियाबीचको श्रृंखला आउँदो अक्टोबर २ देखि ८ तारिखसम्म सञ्चालन हुनेछ ।

कस्तो छ पछिल्लो प्रदर्शन ?
पछिल्लो ६ खेलको प्रदर्शन हेर्दा नेपाल र मलेसियाको रेकर्ड बराबर छ । नेपालले मलेसियाविरुद्धको ६ मध्ये तीन खेलमा जित र तीन म्याचमा हार बेहोरेको छ । अन्तिमपटक यी दुई टिमले १६ फेब्रुअरी सन् २०२४ मा खेलेका थिए ।
उक्त एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा आयोजक मलेसियाविरुद्ध नेपाल चार विकेटले स्तब्ध भयो । त्यसयता यी दुई टिमले एकअर्काविरुद्ध प्रतियोगिता खेलेका छैनन् ।
नेपाली टिम यसपालि गत वर्षको हारको बदला लिँदै उत्कृष्ट लय समात्ने योजनामा छ । नेपाली टिम मलेसिया भ्रमणमा सिरिज जितेर आफ्नो वरीयतामा पनि सुधार गर्ने योजनामा छ । ताजा आइसिसी टी–२० वरीयतामा नेपाल २१औँ र मलेसिया २७औँ स्थानमा छ ।

यस्तै, नेपालले मलेसिया भ्रमणलाई आउँदो वर्षको जनवरीमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटको अभ्यासको रूपमा पनि हेरेको छ । उक्त प्रतियोगिता १२ जनवरीदेखि १६ फेब्रुअरीसम्म नेपालमा आयोजना हुनेछ ।
प्रतियोगितामा १० टिमले भाग लिने छन् । तीमध्ये उत्कृष्ट चारवटा टोलीले आउँदो वर्षको टी–२० विश्वकपमा स्थान बनाउने छन् । विश्वकप छनोटमा नेपालसहित बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, जिम्बाब्वे, पपुवा न्युगिनी र अमेरिकाले प्रतिस्पर्धा गर्ने छन् ।
१० टिमलाई दुई समूहमा बाँडिएको छ । नेपाल समूह ‘बी’ मा परेको छ । यो समूहमा नेपालले बंगलादेश, नेदरल्याण्ड्स, पपुवा न्युगिनी र नामिबियाको सामना गर्नेछ । नेपालले पहिलोपटक टी–२० विश्वकप छनोट खेल्न लागेको हो । र, नेपाली टिम यही प्रतियोगिताको तयारीमा जुट्न थालेको छ ।
पाँच खेलाडीको पुनरागमन
मलेसियाविरुद्धको सिरिजका लागि नेपालले इन्दु बर्माको कप्तानीमा बलियो टोली घोषणा गरेको छ । टिममा अनुभवी अलराउन्डर सीता राना मगरले पुनरागमन गरेकी छन् । उनीसहित सोमु विष्ट, रचना चौधरी, यशोदा विष्ट र सावित्री धामीले पनि टिममा कमब्याक गरेका हुन् ।

उनीहरू टिममा फर्किँदा टी–२० विश्वकप एसिया छनोट खेलेका ईश्वरी विष्ट, सबनम राई, विन्दु रावल, रोमा थापा र मनीषा उपाध्याय बाहिरिएका छन् ।
यसअघि टोलीमा रहेका कप्तान इन्दु, रुबिना क्षेत्री, पूजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, रुबी पोद्दार र कविता कुँवरले भने मलेसिया भ्रमणमा पनि निरन्तरता पाएका छन् ।
टी–२० सिरिजअघि नेपाली खेलाडीले क्वालाम्पुरमै ‘मलेसियन सुपर वुमन सिरिज’ पनि खेल्ने छन् । उक्त प्रतियोगितामा १२ नेपाली खेलाडीले फरक–फरक पाँच क्लबबाट खेल्ने छन् ।
यशोदा विष्ट, राजमती ऐरी, सीता रानामगर र रिया शर्माले सेन्ट्रल सुपर गर्ल्स, कविता जोशी र सम्झना खड्का इस्टर्न लायनेस, रुबी पोद्दारले नर्थन क्विन्स तथा पूजा महतो र सोमु विष्टले साउथर्न जागुअर्सबाट खेल्ने भएका हुन् ।
त्यस्तै, कप्तान इन्दु बर्मा, सावित्री धामी र रचना चौधरी वेस्टर्न वन्डर वुमनमा आबद्ध भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।