दुई दिन चलेको जेनजी आन्दोलनका कारण धेरै क्षेत्रमा ठूलो क्षति पुग्यो । प्रदर्शनका क्रममा ७२ जनाले ज्यान गुमाए । अर्बौँ मूल्य बराबरको सम्पत्ति ध्वस्त भयो । यति मात्र होइन जेनजी आन्दोलनको प्रभाव वैदेशिक रोजगारमा पनि पर्यो ।
सामान्यतया राजनीतिक आन्दोलनले तत्कालीन सत्ता परिवर्तन र नीति निर्माणमा मात्र प्रभाव पार्छ भन्ने बुझाइ थियो । तर, यसपटकको आन्दोलनले नेपाली नागरिकको व्यक्तिगत जीवनदेखि अन्तर्राष्ट्रिय श्रम बजारमा समेत असर पर्यो । २३ र २४ भदौमा दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि नेपालीलाई विभिन्न देशले रोक लगाउन थालेका छन् ।
प्रदर्शन हिंसात्मक बनेपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली कामदारलाई वर्किङ भिसा दिन रोकेको छ । यूएईले हाल भिजिट भिसा मात्र नभई वर्किङ भिसा पनि बन्द गरिएको छ । यूएईले भिसा कहिलेसम्मका लागि बन्द गरेको भन्ने जानकारी भने नदिएको बताउँछन्, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी ।
वैदेशिक रोजगारीकै मुख्य गन्तव्य मुलुक मानिने यूएईमा वर्किङ भिसा रोकिएपछि हजारौं कामदार प्रभावित भएका छन् । यस्तै, दक्षिण कोरियाले पनि नेपालीलाई दिँदै आएको ई–७ भिसा रोकेको छ । नेपाली दक्ष कामदारलाई ई–७ भिसामा कोरियाले लैजाँदै आएको थियो । यूएई र कोरियापछि कतार र मलेसियाले नेपालीलाई दिँदै आएको भिसामा पनि रोक लगाउने तयारी गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा देखिएका हिंसात्मक गतिविधि, सुरक्षा व्यवस्थामा आएको कमजोरी र राजनीतिक स्थायित्वको संकटलाई देखाउँदै धेरै देशले नेपाली कामदारलाई रोक्न सक्ने उनी बताउँछन् ।

‘अहिलेसम्म समस्या केवल यूएईमा देखिएको भए पनि विस्तारै नेपाली कामदारका प्रमुख गन्तव्य मुलुकहरूले रोजगारीमा बन्देज लगाउने सम्भावना बढ्दै गएको छ,’ उनी भन्छन्, ‘यसले विदेशमा गइसकेका कामदारलाई समेत काम गर्न समस्या सिर्जना हुन्छ ।’
औपचारिकरूपमा पत्र नपठाए पनि खाडीका कतिपय देशले नेपालबाट आउने कामदारलाई भिसा प्रक्रियामा कडाइ गरेका छन् । विभिन्न देशले धमाधम नेपालीलाई रोक लगाउनु स्वाभाविक भएको पनि उनी बताउँछन् । जेनजी आन्दोलनमा नेपालका कारागारबाट ठूलो मात्रामा कैदीबन्दी भागेका छन् । कारागारबाट भागेका कैदी÷बन्दीहरू आफ्नो देशमा आउलान् र अपराध बढ्ला भन्ने चिन्ताले विदेशी मुलुकले रोक लगाउन सक्छन् ।
भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनमा १५ हजार कैदी/बन्दी कारागारबाट भागेका थिए । भागेको यतिका दिन बितिसक्दा पनि हालसम्म अझै कैदी÷बन्दी फर्केका छैनन् । साथै जेनजी आन्दोलनमा धेरै सार्वजनिक सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी भयो, जसले विदेशीमा नेपालीको स्वभावमै हिंसात्मक हुन्छ भन्ने प्रभाव परेको संघका निवर्तमान अध्यक्ष भण्डारी बताउँछन् ।
वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य राष्ट्रले नेपालीलाई भिजिट र वर्किङ भिसामा रोक लगाउँदा यसले नेपाल र नेपालको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ । रोजगारीमा विदेशीने नेपालीको संख्या ठूलो मात्रामा छ ।
चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका छन् । गएको भदौमा मात्र ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।
गएका साउनमा भने ६८ हजार ११० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १६.२४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट कुल ८ लाख ३९ हजार २६६ जना वैदेशिक रोजगारी लागि विश्वका १५१ देश गएका थिए । तर, जेनजी आन्दोलनपछि अवस्था असामान्य बनेको छ ।
नेपालजस्तो मुलुकका लागि वैदेशिक रोजगारी केवल रोजगारीको विकल्प मात्र नभइ आर्थिक मेरुदण्ड पनि हो । विगत दुई दशकभन्दा बढी समयदेखि लाखौं नेपाली कामदार खाडी मुलुक, मलेसिया, कोरिया, जापान, युरोपलगायत विभिन्न गन्तव्यतर्फ जाने गरेका छन् ।
वैदेशिक रोजगारबाट आउने विप्रेषणले मुलुकको विदेशी मुद्राको भण्डारलाई सन्तुलनमा राख्ने काम गरेको छ । उनीहरूले पठाउने विप्रेषण रकमले देशको विदेशी मुद्रा सञ्चिति, घरेलु बजारको माग, परिवारको शिक्षा–स्वास्थ्य खर्च र ग्रामीण भेगको जीवनस्तर उकास्न ठूलो टेवा पुर्याएको बताउँछन्, श्रम तथा वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङ ।

‘वैदेशिक रोजगारीमा रोक लाग्दा यसका बहुआयामिक असरहरू देखिन थाल्छन्,’ उनी भन्छन्, ‘यसै पनि नेपालमा रोजगारीको अभाव छ । अब विदेशीने अवसर नै बन्द हुँदा लाखौं युवा बेरोजगारी हुन्छन् । हाम्रो अर्थतन्त्रमा प्रत्यक्ष धक्का पुग्छ ।’
त्यसले नेपालले अन्तर्राष्ट्रिय समुदायमा विश्वास पुनः कायम गर्ने, सुरक्षा संयन्त्रलाई मजबुत पार्ने र श्रम आप्रवासन गर्ने मुलुकसँग कूटनीतिकरूपमा सम्बन्ध सुधार गर्नुपर्ने विज्ञ गुरुङ बताउँछन् । उनका अनुसार जेनजी आन्दोलनले नेपाललाई हेर्ने नयाँ दृष्टिकोण बनाएको छ । दुई दिनको आन्दोलनले देखाएको प्रभाव सामान्य छैन, यसको असर नेपालीको रोजीरोटी, मुलुकको अन्तर्राष्ट्रिय छविसम्म पुगिसकेको छ ।
नेपाललाई अब तुरुन्तै स्थिरता र विश्वसनीयतामार्फत वैदेशिक रोजगार बजारमा आफ्नो उपस्थिति पुनः सुरक्षित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।