ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल र धुलिखेल–खावा सडकखण्डको अवलोकन गरेका छन् । चाडपर्वमा यात्रुहरूको सहजता सुनिश्चित गर्न उनले सम्बन्धित निकायलाई काममा तीव्रता दिन निर्देशन दिएका छन् ।
मन्त्री घिसिङले भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण व्यवसायीसँग स्थलमै छलफल गरेका थिए । उनले ‘सडकमा खाल्डाखुल्डी भए पनि तत्काल पुरेर यात्रा सहज बनाउनुपर्छ’ भन्दै निर्देशन दिएका थिए । भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार मन्त्रीको निर्देशनअनुसार आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको छ ।
वर्षाका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडकखण्डको स्तरोन्नति भदौदेखि पुनः सुरु भएको छ । बनेपा–१० जनागाल क्षेत्रमा कालोपत्रका लागि ‘सिटिबी’ (स्ट्रक्चर ट्याक बेस) को काम भइरहेको छ । जनागालदेखि भैँसेपाटी हुँदै साँगा क्षेत्रमा पनि काम सुरु भएको आयोजनाले जनाएको छ । तर, बनेपाको पुलबजार क्षेत्रमा करिब २०० मिटर सडक खण्डमा स्थानीय अवरोधका कारण करिब छ महिनादेखि काम ठप्प छ ।
‘सेन्टर लाइन’ मापदण्डअनुसार दुवैतर्फ बराबरी छुट्याउनुपर्ने स्थानीय मागका कारण विस्तारकार्य अघि बढ्न सकेको छैन । समस्या समाधानका लागि प्रयास भए पनि सहमति अझै भएको छैन ।
हाल बनेपाको पूर्वी क्षेत्रमा चण्डेश्वरी खोलादेखि चारदोबाटोसम्म करिब एक किलोमिटर सडकमा ढल निर्माण भइरहेको छ । धुलिखेल क्षेत्रमा भने कामले गति लिएको छ । त्यहाँ पर्खाल, ड्रेन र पेभमेन्टको काम सकिएको छ भने छिट्टै कालोपत्र गर्ने तयारी भइरहेको छ । तर, धुलिखेल २८ किलो क्षेत्रमा एक घर हटाउनुपर्ने र केही ठाउँमा हाइटेन्सन पोल सार्न बाँकी छ ।
१६ किलोमिटर लम्बाइको यो सडक वि.सं २०७९ पुस २४ गतेदेखि सुरु गरिएको हो । ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित परियोजना दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको छ । सूर्यविनायक–साँगा खण्डमा ३ अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल खण्डमा ४ अर्ब ५ करोड ६४ लाखमा सम्झौता भएको हो ।
हालसम्म सूर्यविनायक–साँगा खण्डमा ३७ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ५० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । सहरी क्षेत्रका निजी घर र संरचना भत्काउने विवादका कारण ढिलाइ भए पनि समयसीमासम्म करिब ६५ प्रतिशत काम हुने लक्ष्य राखिएको छ ।
मन्त्री घिसिङले चालू आर्थिक वर्षभित्र सडक बिस्तार कार्य सम्पन्न गर्न आवश्यक बजेट र स्रोत व्यवस्थापन गर्न मन्त्रालय सक्रिय हुने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘चाडपर्वलाई ध्यानमा राख्दै सडक सहज बनाउन तत्काल आवश्यक काम गर्नु पर्छ । दीर्घकालीनरूपमा भने राजमार्गको स्तरोन्नति निर्धारित समयमै सम्पन्न गर्नुपर्छ ।’
अरनिको राजमार्ग काठमाडौं उपत्यकाबाट काभ्रे हुँदै सिन्धुली र बर्दिबासतर्फ जोडिने प्रमुख मार्ग हो । साँघुरो सडक र बढ्दो ट्राफिक चापका कारण लामो समयदेखि यसलाई चार लेनमा विस्तार गर्नुपर्ने माग हुँदै आएको छ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।