१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

वेस्ट इण्डिजविरुद्धको सिरिज : विश्वकप छनोटअघि नेपालका लागि ठूलो परीक्षा

नेपाली क्रिकेट टोली ऐतिहासिक सिरिज खेल्न यूएई पुगिसकेको छ । नेपालले त्यहाँ पहिलोपटक दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट इण्डिजको सामना गर्नेछ । यी दुई टिमबीचको खेल २७, २९ र ३० सेप्टेम्बरका लागि तय गरिएको छ ।


श्रृंखलाको सबै खेल शारजाह क्रिकेट स्टेडियममा हुने छन् । वेस्ट इण्डिजविरुद्धको शृंखला नेपाली टिमका लागि आफूलाई प्रमाणित गर्ने सुनौलो मञ्च हुनेछ । हालसम्म नेपालले कुनै पनि टेस्ट टिमसँग द्विपक्षीय श्रृंखला खेलेको छैन । समग्रमा भने अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजविरुद्ध नेपालको यो दोस्रो भेट हुनेछ । 



यसअघि नेपालले वेस्ट इण्डिजविरुद्ध सन् २०२३ मा ओडिआई विश्वकप छनोटमा प्रतिस्पर्धा गरेको थियो, जहाँ ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २ सय ३८ रनमा अलआउट भयो । र, नेपालले त्यो खेलमा १ सय १ रनको हार बेहोर्यो ।



नेपाली टिम यसपालि त्यो हारको बदला टी–२० आई सिरिजमा लिने योजनामा छ । ताजा आइसिसी टी–२० वरीयतामा वेस्ट इण्डिज छैटौँ तथा नेपाल १८औँ स्थानमा छ । वरीयतामा आफूभन्दा १२ स्थानमाथि रहेको क्यारेबियन टिमविरुद्ध नेपालले कस्तो प्रदर्शन गर्छ, त्यो हेर्नलायक हुनेछ ।  

वेस्ट इण्डिजले केही प्रमुख खेलाडीबिना नेपालविरुद्धको सिरिजमा प्रतिस्पर्धा गर्नेछ । यद्यपि उसले टिममा समावेश गरेका युवा खेलाडी पनि उच्च लयमा छन् । उनीहरूले सोमबार सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यता नेपालले पनि वेस्ट इण्डिजविरुद्ध इतिहास रच्न बलियो टिम घोषणा गरेको छ । नेपालले कुनै पनि प्रमुख खेलाडीलाई विश्राम दिएको छैन । नेपाली खेलाडीहरू पछिल्लो केही महिनायता नियमित प्रशिक्षणमा छन्, जसले गर्दा वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपालले अपेक्षाकृत प्रदर्शन गर्नेमा आशावादी छन्, कप्तान रोहितकुमार पौडेल ।



‘हामी विश्वकप छनोट र वेस्ट इण्डिज शृंखलाका लागि तयार छौँ । अस्ट्रेलिया र भारतमा भएको अभ्यासले हामीलाई धेरै सहयोग गरेको छ । ऐतिहासिक सिरिज खेल्न नेपाली टिम उत्साहित छ,’ यूएई जानअघि कप्तान पौडेलले भनेका थिए ।

नेपालले यो सिरिजलाई विश्वकप छनोटको तयारीको रूपमा पनि हेरेको छ । उक्त प्रतियोगिता ८ अक्टोबरदेखि ओमानमा आयोजना हुँदैछ । समूह चरणमा नेपालले ८ अक्टोबरमा कुवेत तथा १० अक्टोबरमा जापानसँग खेल्ने तालिका छ ।

समूह चरणमा तालिकाको शीर्ष दुईमा रहने टिमले सुपर सिक्सको यात्रा गर्नेछन् । यदि सुपर सिक्सको शीर्ष तीनमा स्थान बनाउन सके नेपालले तेस्रोपटक विश्वकप खेल्न पाउनेछ । आउँदो संस्करणको टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गर्ने छन् । 

विश्वकप छनोट खेलेर नेपाली टिम फेरि यूएई नै फर्किने छ, जहाँ नेपालले आइसिसी विश्वकप लिग–२ श्रृंखला खेल्ने तालिका छ । उक्त सिरिजमा नेपालले आयोजक यूएई र अमेरिकाको सामना गर्नेछ ।

अक्टोबरमा हुने हुने उक्त श्रृंखलाको पूर्ण तालिका सार्वजनिक हुन बाँकी छ । जारी लिग–२ मा नेपाल सातौं स्थानमा छ । १६ म्याच खेलिसकेको नेपालले ९ मा हार तथा पाँच खेलमा मात्र जित निकालेको छ ।

यस्तै, नेपालले दुई खेलमा अंक बाँडेको छ । लिग–२ मा नेपालले अब २० म्याच खेल्न बाँकी छ । सन् २०२६ को डिसेम्बरसम्म चल्ने लिग–२ संस्करणको शीर्ष चारवटा टिमले सोझै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छन् ।

पुछारका चारवटा टोलीले विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ । यसअघि सन् २०१९ देखि २०२३ सम्म चलेको लिग–२ मा ७ टोलीको सहभागिता थियो, जहाँबाट स्कटल्याण्ड, ओमान र नेपालले शीर्ष तीनमा स्थान बनाएर सोझै विश्वकप छनोट खेलेका थिए । नेपाल यसपटक पनि शीर्ष चारमा रहेर सिधै विश्वकप छनोट खेल्ने योजनामा छ । 

  • प्रकाशित मिति : ७ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया