२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

नेपाल एकादेशको लावण्य देश होइन

पञ्चबिँशोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त मुनि ! तहाँ उप्रान्त लावण्य देशमा त्यहाँका मन्त्रीहरूले हात्तीलाई सुवर्णको कलश फूलको माला दिई राजा खोज्न लगाई राखेका थिए । लोकहरूले नाना वस्त्र,अलङ्कार पहिरी राजा होइजाउँला कि भनी हात्तीका नजीक गै अघिपछि हिँड्न लागे । 


नवराज ब्राह्मण पनि पाटीमा बसी हेरिरहेका थिए । हरिहर हात्तीमा प्रवेश गरी नवराज ब्राह्मणका नजिकमा गई फूलको माला गलामा लाइदिई सुवर्णको कलशले अभिषेक गरे । त्यो देखी लोकहरू भन्न लागे “हे लोकहो ! यो हात्ती बहुलायो,यस देशमा क्षेत्रीय कोही छैनन् र ! यस्ता ब्राह्मणलाई अभिषेक गरयो” भन्न लागे । कसैले हात्ती बहुलाएको होइन, तिमीहरू बोहुलाया ,मुखले नबोले पनि हात्ती देवता हो,हे मुर्ख हो जुन जात भए पनि उसका तपस्याले राजा भयो,विनानारायणको अंशले नारायणले नदिई राजा हुन उसै पाइँदैन,चुप लाग भनी सम्झाए । 



माथिको कथा श्री स्वस्थानी धार्मिक ग्रन्थको एक अंश हो । यो नेपालीहरूको निजी विशेषता भएको कथा हो । पहिले पहिले हामी पनि श्री स्वस्थानी व्रत–कथा पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमाका दिनसम्म एक महिना पुरा परिवार बसेर सुन्थ्यौँ । कथा पनि मिठो र प्रसाद पनि मिठो हुने हुनाले म पनि प्राय वाचक हुन्थे बच्चैमा । प्रायलाई थाहै होला एक महिना शाली नदीमा यसैको मेला हुन्छ । यो कथा कहिलेदेखि सुरु भयो त थाहा छैन । तर निकै मार्मिक कथाहरू छन् यसमा । 

नवराज राजा हुनुअघि कथा यसरी जोडिन्छ ।  



एक गोमा ब्राम्हणी हुन्छीन् । उनलाई छल गरी सात वर्षमै सत्तरी वर्षको बुढासँग विवाह गराइन्छ । ती वृद्ध आफ्नी गर्भिणी स्त्रीलाई फलफूल खुवाउन रुखमा चढ्दा हाँगो भाँच्चिएर लडी उनको मृत्यु हुन्छ । गोमाले गर्भे टुहुरो पुत्र जन्माउँछिन् । एक्ली गोमा ब्राम्हणीले ढिकी जाँतो गरी,चर्खा काटी आफ्नो पुत्रलाई सुसंस्कार दिँदै हुर्काउँछिन् । राजयोग परेको पुत्र पूर्णमासको चन्द्र बढे झैँ हलक्कै बढ्दै जान्छन् । एक दिन लावण्यदेशमा जसले हात्तिलाई माला पहिराउँछन् उनै राजा हुन्छन भनेर घोषणा हुन्छ । अनि मान्छेको ताँतीमा नवराजलाई माला पहिराएको कथा श्री स्वस्थानी व्रत कथाको माथिको झैँ २५ अध्यायमा आइहाल्छ । 

  ०००

एकादेशको त्यो कथा यति बेला मेरो देशमा औधी याद आइरहेछ । 

श्री स्वस्थानीको कथा झैँ हाम्रो देशमा पनि अहिले मन्त्रीहरूको खोजी भइरहेछ । हात्तीले माला लगाएझैँ छानाछानी मन्त्रीहरू बनाइँदै छ । 



चमत्कारिक आन्दोलन भयो जेनजीको । २७ घन्टामा सत्ता परिवर्तन भयो । सत्तामा सुशीला कार्की प्रधानमन्त्री बनेर आइपुग्नुभयो । जब उहाँ प्रधानमन्त्री हुनुभयो तब मन्त्रीको खोजी भयो । २५ मन्त्रालयमा ११ जना मन्त्री राख्ने भनियो । बल्ल तल्ल हात्तीले माला पहिराए झैँ गरी मन्त्री छानियो । 
एकादेशको लावण्यदेशजस्तै मन्त्री खोजिरहेछ मेरो देशले ।

सुन्छु प्रधानमन्त्री निवासमा म मन्त्री हुन्छु भन्दै केही दिनमा सात आठ सय कल आए । निवेदन पनि मागियो । चाङ्का चाङ् निवेदन परे ।

सुन्छु प्रधानमन्त्री निवासमा म मन्त्री हुन्छु भन्दै केही दिनमा सात आठ सय कल आए । निवेदन पनि मागियो । चाङ्का चाङ् निवेदन परे । पूर्व प्रधानमन्त्री मध्ये एक र पूर्व मन्त्री मध्ये एकले हालको प्रधानमन्त्रीलाई सचिवालयमा बसेर मन्त्रीहरू केलाए ! निफने । छाने ।  

प्रक्रिया उहीँ हात्तीले माला लगाउने शैलीको !

मन्त्री बनाउँछ कि भनेर मुख मिठ्याउनेहरूले आफै समाचार बनाउँदै आफैलाई मन्त्री भन्दै चर्चा गर्दै चर्चित भइरहेका छन् । अब यति त भइहाले अब फलानो फलानो मन्त्रालयमा म हुन्छु कि भनेर नवराज पाटीमा उभिए झैँ उभिने ताँती देखिरहेछु । पङ्क्तिबद्ध हुन कताबाट जाने हो ? बाटो होस् वा चोर बाटो मान्छेहरू मन्त्री हुन दौडिरहेको भेटिरहेको छु । देशैभरबाट छानिने भनिएपछि बाहिरका आफूलाई राम्रो ठान्नेहरूको पनि राजधानी आगमन भइरहेछ । राम्रा मान्छेको खोजीमा पहिलो नम्बरमा परेको छ पार्टीको सदस्य नभएको व्यक्ति । दोस्रो लब्ध प्रतिष्ठित व्यक्ति र केही गर्न सक्ने व्यक्ति । तेस्रो अघिल्लो सरकारबाट अपमानित भएका मान्छेहरू । पार्टीले हद्दु बनाएका र स्वच्छ मान्छेहरू । 

यसो हेर्दा त्यस्तो मान्छेहरू अनगिन्ती रहेछन् झैँ लागिरहेछ । 

आफूलाई आफैले र समाजले राम्रो भन्नेहरू नेपालमा असङ्ख्य रहेछन् झैँ लागिरहेछ । 

नवराजलाई माला पहिराए झैँ तपाईँलाई पो मन्त्री बनाउने हो कि जानुस् भनेर एकले अर्कोलाई भनिरहेको सुनेको छु । एउटा कुरा मलाई पनि राम्रो लागेको छ । कम्तीमा पार्टीमा नलागेका र राम्रो काम गरेका मान्छेको कुनै न कुनै दिन आउँदो रहेछ भन्ने पनि त भएको छ । नराम्रो यो लागेको छ यति थोरै मन्त्री दिन पनि कति दिन लागेको ? 

  ००० 

यति चाँडै सरकारको बारेमा विवेचना त हुने बेला हैन यो । एक दिनमा,एक छिनमा,एक एक घण्टाको कार्यपालिका बनाएर त्यसलाई फलो गर्दै अपडेट भएर द्रुत गतिमा काम गर्नु पर्ने समय छ । उही शोक मनाउने,बिदा दिने गरेर बसिरहेको र अन्यमनष्क स्थितिमा पुगिरहेको देखेको छु सरकार । रात रहे अग्राख पलाए झैँ भइरहेछ । 

वायू वेगमा काम गर्नु पर्ने सरकारले धीमा वेगमा काम गरेकोले मन खिन्न भइरहेछ । म कुनै पनि हालतमा यो सरकारको विरोध गर्ने मान्छे हैन । अहिलेसम्म कुनै पार्टीमा लागेको पनि छैन । देश राम्रो होस् । देश सफल होस् । मेरो देश हो । म त अरू देश डुल्न मात्र जान्छु बस्न जान्न भनिरहेछु । यही अनुरूप आजको दिनसम्म पनि यहीँ छु । म मात्रै हैन यो देशमा म जस्ता लाखौँलाख छन् । यो सरकारले तीव्र गतिमा काम गरोस् । रामको धनु जस्तै रामवाणले काम गरोस् भन्नेहरू तमाम छन् । पार्टीहरूबाट,उनीहरूको दादागिरीबाट धेरै मान्छे दिक्दारीमा थिए । देश वारुदको पहाड बनिसकेको थियो । दिक्क भएर गुम्सिरहेका मान्छेहरूको लागि झ्यालढोकाको काम जेनजीले गर्यो । कलिला भाइबहिनीको मृत्यु नराम्रोसँग भयो । दुःखीरहेका ,आर्तनाद गरिरहेका,चहराइरहेका घाउहरू अस्पताल र घरमा लडिरहेका छन् । 

देशमा बा गए । आमा आए । पक्कै पनि अब आमाको शासन मायालु हुनेछ । भनाई नै छ–संसारमा निस्वार्थ माया आमाको मात्र हुन्छ ।

देशमा बा गए । आमा आए । पक्कै पनि अब आमाको शासन मायालु हुनेछ । भनाई नै छ–संसारमा निस्वार्थ माया आमाको मात्र हुन्छ । कामबाट घर फर्कँदा आधाअंङ्ग मान्ने श्रीमतीले श्रीमानले के ल्यायो भनेर हातमा हेर्छिन् र आमाले मेरो छोरा कति थाक्यो होला भनेर आँखामा हेर्छिन् । आम मान्छेले जनता थाकेको छ कि छैन भनेर आँखामा हेर्ने आमा खोजेका छन् । यस अर्थमा सुशीला कार्की सदियौँको लागि नेपाल आमा बन्न पाउने ऐतिहासिक मौकामा हुनुहुन्छ । 

  ०००

२०८२ भाद्र २७ मा प्रधानमन्त्री पाउँदाको उत्साह थियो । प्रधानमन्त्रीमा सुशीला आएपछि र अहिले मन्त्री पाएपछि मैले पृथ्वीनारायण शाहको एक कहानी सम्झेथे । जहाँ राजा पृथ्वीनारायण शाह विराज बखेतीलाई काजी बनाउन चाहन्थे । उनले बुझे–जनताले त कालु पाण्डे मन पराउने रहेछन् भनेर । अनि भने रे “ मेरो मन त विराज बखेतीलाई कजाई दिन आँटेको थियो,जनताले कालु पाँडेलाई चाहे अब जनताले र मैले चाहेको झैँ काम गर्नु काजी कालु पाँडे ।” जनता र राजा दुवैले विश्वास गरेको भनेपछि कालु पाँडेले दिलोज्यान दिएर काम गरे । परिणाम सकारात्मक आयो । इतिहास पढे भइहाल्छ । 

रामेश्वर खनाल,कुलमान घिसिङ र ओमप्रकाश अर्याललगायत जनताले रुचाएका मान्छे यो सरकारमा छन् । उनीहरूले पनि कालु पाँडे झैँ काम गर्दछन् कि भन्ने लागेको छ । 

वर्षको छैटौँ महिना ६ गते घटस्थापना भएको छ । यहीँ दिन मन्त्रीहरूको स्थापना भएको छ । यहाँ पनि अनुहार उहीँ कालु पाँडे जस्तै देखिएको छ । जनताले रुचाएको मान्छेहरू नै छन् । सुशीला कार्कीले बिबिसीलाई अन्तरवार्ता दिँदै भन्नुभएको थियो “हामी छानिछानी राम्रा मान्छेलाई मन्त्री बनाउँछौ ।”

लावण्यदेशमा हरिहर भगवान स्वयम हात्तीमा सवार भएर नवराजलाई राजा बनाएको कथा जस्तै कहिलेसम्म पूर्णता पाउँला मन्त्रीहरूले भन्ने लागेको छ । खटाई खटाई मन्त्रीहरू भएकोले अब को हुने ? भनेर उत्सुक भइरहेका छन् मान्छेहरू । न मै पो हुँ कि भनेर दौडादौड छ मान्छेहरूको । कुनाकाप्चाबाट विभिन्न व्यक्तिले विभिन्न खेल खेलिरहेका छन् । 

हाम्रो देश एकादेशको लावण्य देश पनि हैन । मन्त्रीहरू आजका नवराज पनि हैनन् र हात्तीमा हरिहर पनि सवार हुँदैनन् ।

तपाई मन्त्री हुन नगएको भनेर एकले अर्कोलाई व्यङ्ग हानिरहेका छन् । 
हाम्रो देश एकादेशको लावण्य देश पनि हैन । मन्त्रीहरू आजका नवराज पनि हैनन् र हात्तीमा हरिहर पनि सवार हुँदैनन् । लावण्यको शब्दार्थ उत्खनन् गर्ने हो भने सुशीलतामा जोडिन्छ । राम्रो,असल शिलस्वभाव हुनु नै लावण्य हो । प्रधानमन्त्री सुशील कार्कीले गरेको सौन्दर्य,माधुर्य कामले नै उहाँलाई यहाँ ल्याईपुराएको हो । हरिहर भनेको विष्णु र महादेव हो । स्थिति र संहारको स्वरूप हो हरिहर । एकादेशको हैन शब्दको अर्थ जस्तै लावण्य अर्थात् सुशील,राम्रो र असल शिलस्वभाव भएको आजको लावण्य देश बनाउनु छ । 

भन्नेले भन्छन् “सुशीला फसिसक्नु भयो विदेशीको चंगुलमा,अब धेरै गाह्रो छ।”

भन्न त जे गरे पनि भन्न छाड्दैनन् । गर्नेले गरिरहनु पर्दछ । देश सङ्कटमा छ भनेर नभनेको आजसम्मको कुनै अन्तरिम सरकार छैन र सरकार नै छैन भने हुन्छ २००७ साल पछि । अब दिन दुई गुणा रात चौगुणा काम गर्नु परेको छ । यो त्यो उ मन्त्री हुँदै छ नि भन्ने हल्लाको विकिरणको बिर्को बन्द गर्नु पर्नेछ । सरकारलाई मेरो बिन्ती छ–चाँडै चौतर्फी काम गरौँ । यो सरकारलाई लाखौँ छन् मद्दत गर्ने हातहरू । प्रधानमन्त्री निराश हुन नदिनोस् । नत्र देश एकादेशको लावण्य देश जस्तै नहोस् ।

  • प्रकाशित मिति : ७ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया