२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

टोकियो विश्व एथलेटिक्स च्याम्पियनसिपमा के-के भयो ?

विश्व एथ्लेटिक्स च्याम्पियनसिप २०२५, १३ देखि २१ सेप्टेम्बर (९ दिनसम्म) जापानको टोकियोमा सम्पन्न भएको छ । उक्त च्याम्पियनसिप बीसौं संस्करण हो । यसले टोकियोलाई यो प्रतियोगिता आयोजना गर्ने एसियाको पाँचौं शहर बनाएको छ ।


विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा २०० देशका २ हजारभन्दा बढी एथ्लेटहरूले ४९ खेलमा १४७ पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।



सुरुवात र इतिहास

विश्व एथलेटिक्स च्याम्पियनसिप अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा ओलम्पिक खेलकुदपछिको सबैभन्दा ठूलो प्रतिस्पर्धा हो । यसको सुरुवात अन्तर्राष्ट्रिय एथलेटिक्स संघ (आइएएएफ, हाल वर्ल्ड एथलेटिक्स) ले गरेको हो ।



-  प्रथम संस्करणको विश्व एथलेटिक्स च्याम्पियनसिप सन् १९८३ मा फिनल्यान्डको हेल्सिङ्कीमा आयोजना गरिएको थियो ।

- सुरुमा यो प्रतियोगिता हरेक चार वर्षमा आयोजना हुन्थ्यो । तर, सन् १९९१ देखि यसलाई हरेक दुई वर्षमा आयोजना गर्ने निर्णय गरियो (ओलम्पिक हुने वर्षहरू बाहेकको) ।

-  यो च्याम्पियनसिप सम्पूर्ण विश्वका सर्वोत्कृष्ट एथ्लीट(धावक)हरूको लागि एउटा प्रमुख मञ्च हो, जहाँ उनीहरूले ओलम्पिक बाहेक पनि आफ्नो श्रेष्ठता प्रमाणित गर्न पाउँदछन् ।  

नेपालको सहभागिता



-  हालै सम्पन्न विश्व एथलेटिक्स च्याम्पियनसिप २०२५, टोकियोमा धावक मुकेश पाल १५०० मी. दौड (३:५३:९९ मिनेटसहित कायम गरेका) मा सहभागी हुन पाएका थिए।   

 छनोट तथा सहभागिताका मापदण्ड 

विश्व एथलेटिक्स प्रतियोगितामा भाग लिनका लागि एथ्लीटहरूले विश्व एथलेटिक्सले तोकेको योग्यता, मापदण्ड र विश्व क्रमाङ्कन प्रणाली अनुसार छनौट हुनुपर्ने हुन्छ ।

यसका लागि निम्न प्रकारका  छनोट मापदण्ड हुने गर्दछन् :

 प्रवेश मापदण्ड 

प्रत्येक इभेन्टका लागि एक निश्चित न्यूनतम्  तोकिएका  समय, दूरी र उचाइ जस्ता मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । यो मापदण्ड इभेन्ट अनुसार फरक फरक हुन्छ। उदाहरणका लागि, 

· पुरुष १०० मिटर : १०.०० सेकेन्ड भित्र 
· महिला १०० मिटर: ११.०७ सेकेन्ड भित्र 
· पुरुष म्याराथन: २:०६:३० भित्र 
· महिला म्याराथन: २:२३:३० भित्र 

विश्व क्रमाङ्कन (वरीयता)

विश्व एथलेटिक्सले लगभग ५० प्रतिशत एथ्लीटहरू यसै प्रणालीबाट छनौट गर्दछ। क्रमाङ्कन (रैंकिङ) एथ्लीटहरूको प्रदर्शन, अन्य प्रतियोगिताको स्तर र अन्य कारकहरूको आधारमा गणना गरिन्छ ।

छनोट समयसीमा 

प्रत्येक इभेन्टको लागि छनौट योग्यता कायम रहने गरी समयसीमा पनि निर्धारित गरिएको हुन्छ। 

जस्तै:- साल २०२५ का लागि, 

-    म्याराथन र ३५ कि.मी. रेस वाक(हिडाईं) : ५ नोभेम्बर २०२३ - ४ मे २०२५ सम्म
-    १०००० मी. र २० कि.मी. रेस वाक(हिडाईं) र रिले : २५ फेब्रुअरी २०२४ - २४ अगस्ट २०२५ सम्म
-    अन्य सबै इभेन्टहरू: १ अगस्ट २०२४ - २४ अगस्ट २०२५ सम्म

रिले इभेन्टहरूको लागि छनोट

४×४०० मिटर रिले: बोत्स्वानालाई स्वर्ण

रिले इभेन्टहरू (४x१०० मी. र ४x४०० मी.) 

-     विश्व एथलेटिक्स रिलेमा उत्कृष्ट समयअनुसार १४ टिमहरू सिधैं छनौट हुन्छन्।

-    साथै, विश्व क्रमाङ्कन (रैंकिङ) सूचीबाट दुई टिमहरूलाई पनि छनौट गरिन्छ। 

विशेष छनोट (वाइल्ड कार्ड)

केही विशेष परिस्थितिहरूमा एथ्लीटहरू सिधै छनौट हुन सक्छन्। जस्तै:
-    डायमण्ड लिग विजेताहरू
-    वर्तमान विश्व विजेताहरू

क्षेत्रीय प्रतियोगिता 

 महाद्वीपीय च्याम्पियनसिप जस्तै: एसियन, युरोपियन च्याम्पियनशिप आदिमा गरिएको  प्रदर्शनको आधारमा पनि छनौट गरिन्छ।

आयोजक राष्ट्रको रूपमा सहुलियत 

आयोजक देशले प्रत्येक इभेन्टमा एक एथलीट प्रवेश गराउन पाउने सहुलियत  हुने गर्दछ।

विश्व एथलेटिक्स च्याम्पियनसिप : मुख्य आकर्षण र रोचक पक्ष 

एथलेटिक्स( ट्रयाक तथा फिल्ड) मा सबै खेल र इभेन्टहरुको आ-आफ्नै महत्व हुन्छ नै, तापनि केहि विधाहरूको ‘ग्ल्यामर’ चैं अवर्णनीय नै हुने गर्दछ, जस्तै: १०० मिटर,२०० मीटर, ८०० मीटर, १५०० मीटर आदि। 

डेकाथलन र हेप्टाथलन 

-  काथलनमा १० वटा विधाहरु हुन्छन् र दुई दिनमा {पहिलो दिन : १०० मीटर दौड, लङ्-जम्प, शटपुट, हाई-जम्प, ४०० मीटर; दोस्रो दिन : ११० मीटर बाधा दौड (हर्डल्स), डिस्क थ्रो, पोल भल्ट, ज्याभलिन थ्रो, १५०० मीटर दौड} सम्पन्न गर्नुपर्दछ।
-    हेप्टाथलनमा ७ वटा विधाहरू हुन्छन् र दुई दिनमा{पहिलो दिन : १०० मिटर बाधा दौड (हर्डल्स), हाई-जम्प, शटपुट, २०० मीटर दौड; दोस्रो दिन : लङ-जम्प, ज्याभलिन थ्रो, ८०० मिटर दौड सम्पन्न गर्नुपर्दछ।

१० विधाका डेकाथलन(पुरुष) र ७ विधाका हेप्टाथलन(महिला) का धावकहरू “पूर्ण खेलाडी” मानिन्छन् । किनभने,

विविध  प्रतिभा/दक्षता आवश्यक

यो इभेन्टले एकै धावकमा गति (स्पीड), दौड (स्प्रिन्ट/बाधा /मध्यम दूरी), उफ्रने क्षमता,  फेक्ने शक्ति (थ्रो), शारीरिक तथा मानसिक सहनशीलता आदि माग गर्दछ।

प्राविधिक क्षमताको जाँच 

विभिन्न विधाहरूमा फरक-फरक प्राविधिक चुनौतीहरू हुन्छन् , जस्तै: फेंक्ने इभेन्टमा शक्ति र विधि, उफ्रने इभेन्टमा गति र प्रगति, दौडहरूमा निर्देशन र रणनीति इत्यादिको परख हुनुपर्दछ।

अटुट प्रदर्शन र समय व्यवस्थापन

यी धेरै समय लाग्ने प्रतियोगिताहरू हुन् (साधारणत दुईदेखि तीन दिनसम्म) जसले शरीरलाई थकान, मौसमी असर, मानसिक दबाव आदि सामना गर्नुको साथै समयको सदुपयोग गर्नुपर्दछ। एक इभेन्ट पछि अर्कोमा पर्याप्त रिकभरी, ऊर्जा व्यवस्थापन, र रणनीतिक सोच आवश्यक हुन्छ।

पूँजी र प्रशिक्षणमा विविधता

यी धावकहरूले विभिन्न प्रकारका प्रशिक्षणहरू (शक्ति, स्फुर्ति, प्राविधिक तर्तिव, सहिष्णुता) मा दक्ष हुनुपर्छ। उनीहरूको प्रशिक्षण  समय-तालिका, पोषण-तालिका र लगानी(पूँजी) अत्यन्त बहुआयामी तवरले सम्पादन गरिनुपर्ने हुन्छ।

१०० मिटर, २०० मिटर र रिले दौड 

संयुक्त राज्य अमेरिकाले छोटो दूरीका दौडहरूमा अत्यधिक लगानी, मिहिनेत, प्रचार प्रसार र ग्ल्यामर बढाउन दशकौंदेखि लागी परेको देखिन्छ र यी विधाहरूलाई सधैं ‘जीवन्त’ बनाउन अग्रणी भूमिका खेल्दै आएको छ।

८०० मिटर र १५०० मिटर दौडहरू 

यी मध्यम दूरीका दौडहरूलाई निकै गाह्रो, कठिन र चातुर्यपूर्ण मानिन्छ। यी दौडहरूका आकर्षण पनि यही हो किनभने यिनले गति, सहनशीलता र रणनीतिको सही मिश्रण माग गर्दछन्। ल्याक्टिक एसिडको दुखाइ, भीडमा स्थिति कायम राख्ने चुनौती र प्रतिद्वन्द्वीहरूसँगको सानो मार्जिनले यी इभेन्टहरूलाई शारीरिक र मानसिक रूपमा अत्यन्त कठिन बनाउँछ। 

लामो दूरीको दौडमा अमेरिकी रुचि र प्रवेशले थप रोमाञ्चक बन्दै एथलेटिक्स संसार

पुरस्कार राशिको ढाँचा

-    कुल राशि : अमेरिकी डलर ८४,९८,०००/-
-    विश्व रेकर्ड कायम गरे बापत : अमेरिकी डलर १,००,०००/-

-  व्यक्तिगत तर्फ

स्थान  पुरस्कार राशि

स्वर्ण  अमेरिकी डलर ७०,०००/-
रजत  अमेरिकी डलर ३५,०००/-
कांस्य अमेरिकी डलर २२,०००/-
चौथो  अमेरिकी डलर १६,०००/-
पाँचौँ  अमेरिकी डलर ११,०००/-
छैटाैँ  अमेरिकी डलर ७,०००/-
सातौं  अमेरिकी डलर ६,०००/-
आठौं  अमेरिकी डलर ५,०००/-

-    टिमतर्फ 
     
स्थान  पुरस्कार राशि

स्वर्ण   अमेरिकी डलर ८०,०००/-

रजत   अमेरिकी डलर ४०,०००/-
कांस्य   अमेरिकी डलर २०,०००/-
चौथो    अमेरिकी डलर १६,०००/-
पाँचौँ   अमेरिकी डलर १२,०००/-
छैठौं  अमेरिकी डलर ८,०००/-
सातौं  अमेरिकी डलर ६,०००/-
आठौं   अमेरिकी डलर ४,०००/-

रोचक पक्ष 

अमेरिकी प्रभुत्व

संयुक्त राज्य अमेरिकाले यस संस्करणमा पनि सर्वाधिक स्वर्ण र कुल पदक जितेर तालिका शीर्ष स्थानमा रह्यो। 

केन्याको अफ्रिकी नेतृत्व 

केन्या  स्वर्ण ७, २ रजत र २ कांस्य गरी कुल ११ पदकले दोस्रो स्थानमा उक्लँदै अफ्रिकी पावरहाउसका रूपमा देखा पर्‍यो । ​

अप्रत्याशित ऐतिहासिक उपाधि 

-    बोत्स्वाना ले पुरुषहरुका ४×४०० मीटर   रिले दौडमा स्वर्ण, ४०० मीटर दौडमा स्वर्ण र कांस्य जितेर यो इभेन्टमा आफ्नो दरिलो प्रवेश जनायो। 
-    सानो राष्ट्र समोआका एलेक्स रोजले डिस्क थ्रो मा  कांस्य पदक जिते। 

निराशाजनक परिणाम 

-   सन् २००३ पछि पहिलो पटक  ग्रेट ब्रिटेन च्याम्पियनशिपमा स्वर्ण पदकविहीन रह्यो । 

-  आयोजक जापानले अपेक्षित रुपमा धेरै राम्रो प्रदर्शन गर्न नै सकेन; केवल २ कांस्यसहित चालीसौं स्थानमा चित्त बुझाउनु पर्‍यो । 

  
 

नोट :- यस प्रतियोगितामा कुल ५३ राष्ट्रहरूले न्यूनतम् १ (एक) कांस्य पदक प्राप्त गरेका छन्।

तल केही प्रमुख इभेन्टहरूको नतिजा उल्लेख गरिएको छ:

ट्रयाक तथा फिल्डतर्फ

डेकाथलन (पुरुष) : 

-    लियो नुगबोर(जर्मनी)-स्वर्ण 

डेकाथलन : जर्मनीका लियो नुगबोर साल २०२५ का विश्व विजेता
-    एडन ओवेन्स-डेलर्म(पोर्टरिको)-रजत 
-    काइल गारलेण्ड(संयुक्त राज्य अमेरिका)-कांस्य 

हेप्टाथलन (महिला) : 

-    आन्ना हल (संयुक्त राज्य अमेरिका)-स्वर्ण 
-    कैट ओ’कोनर (आयरल्यान्ड)-रजत 
-    कैटरिना जोन्सन-थम्पसन (संयुक्त अधिराज्य)-कांस्य 
-    टालिया ब्रुक्स (संयुक्त राज्य अमेरिका)-कांस्य 

फिल्डतर्फ

पोल भल्ट( पुरुष) : 

-    आरमोण्ड डुप्लान्टिस (स्विडेन)- स्वर्ण 
-    ईमानोइल करालिस (ग्रीस) - रजत 
-    कर्टिस मार्सल (अस्ट्रेलिया) - कांस्य 

पोल भल्ट(महिला) : 

-    केटी मून (संयुक्त राज्य अमेरिका) - स्वर्ण
-    स्यान्डी मोरिस (संयुक्त राज्य अमेरिका) - रजत
-    टिना सुटेज (स्लोभेनिया) - कांस्य 

डिस्कस थ्रो(पुरुष): 

-    डानियल स्टार (स्विडेन)-स्वर्ण 
-    माइकोलास अलेक्ना (लिथुवानिया)- रजत 
-    एलेक्स रोज (समोआ)- कांस्य

डिस्कस थ्रो (महिला): 

-    भ्यालारी अलम्यान(संयुक्त राज्य अमेरिका)-स्वर्ण 
-    योरिण्ड भान क्लिङकेन (नेदरल्यान्ड)- रजत 
-    सिलिण्डा मोरालेस (क्युबा)- कांस्य

हाई-जम्प (पुरुष): 

-    हमीस कर (न्युजिल्यान्ड)- स्वर्ण 
-    सांग्योक वू (दक्षिण कोरिया)- रजत 
-    जान स्टाफलाई (चेक गणतन्त्र)- कांस्य 

हाई-जम्प(महिला): 

-    निकोला ओलिस्लागर (अस्ट्रेलिया)-स्वर्ण
-    मारिया जोजिक (पोलेन्ड)- रजत 
-    यारोस्लाभा माहोचिख(युक्रेन)- कांस्य 
-    एन्जिलिना टोपिच (सर्बिया)- कांस्य 

ट्रयाकतर्फ

पुरुष : 

१०० मिटर दौड

-    ओब्लिक सेभिल (जमैका) - स्वर्ण
-    किशेन थम्पसन (जमैका) - रजत
-    नोआ लाइल्स (संयुक्त राज्य अमेरिका) - कांस्य 

२०० मिटर दौड

-    नोआ लाइल्स (संयुक्त राज्य अमेरिका) - स्वर्ण
-    केनी बेड्नारेक (संयुक्त राज्य अमेरिका) - रजत
-    ब्रायन लेभेल (जमैका) - कांस्य 

४०० मिटर दौड

-    बुसान्ग केबिनात्सिप (बोत्स्वाना) - स्वर्ण
-    जेरिम रिचर्ड्स (जमैका) - रजत
-    ब्यापो एन्डोरी (बोत्स्वाना) - कांस्य 

८०० मिटर दौड

-    ईमानोइल वानयोन्यी (केन्या) - स्वर्ण
-    जमिल सेजाती (अल्जेरीया) - रजत
-    मार्को अरोप(क्यानडा) - कांस्य 

१५०० मिटर दौड

-    आइज्याक नादर (पोर्तुगल) - स्वर्ण
-    जेक वाइटम्यान (संयुक्त अधिराज्य)- रजत
-    रेनोल्ड चेरुइयोट (केन्या) - कांस्य ​

म्याराथन 

-    अल्फोन्स फेलिक्स सिम्बु (तान्जानिया) - स्वर्ण
-    अमानल पेट्रोस (जर्मनी) - रजत
-    इलियास आउनी (इटाली) - कांस्य 

महिला

१०० मिटर दौड

-    मेलिसा जेफरसन-वुडन (संयुक्त राज्य अमेरिका) - स्वर्ण
-     टिया क्लेटन (जमैका) - रजत
-     जुलियन अल्फ्रेड (सेन्ट लुसिया) - कांस्य 

२०० मीटर दौड

-    मेलिसा जेफरसन-वुडन (संयुक्त राज्य अमेरिका) - स्वर्ण
-    एमी हन्ट (संयुक्तअधिराज्य) - रजत
-    शेरिका ज्याक्सन (जमैका) - कांस्य 

४०० मिटर दौड

-    सिड्नी म्याकलघलिन-लेभ्रोन (संयुक्त राज्य अमेरिका) - स्वर्ण
-     मरिलेडी पौलिनो (डोमिनिकन गणतन्त्र) - रजत
-     सल्वा इद नासर (बहराइन) - कांस्य 

८०० मिटर दौड

-    लिलियन ओडिरा(केन्या) - स्वर्ण
-    जोर्जिया हन्टर बेल (संयुक्त अधिराज्य) - रजत
-    किली होजकिन्सन (संयुक्त अधिराज्य) - कास्य

१५०० मिटर दौड

-    फेथ किपिएगन(केन्या) - स्वर्ण
-    डोर्कस इवोई(केन्या) - रजत
-     जेसिका हल(अस्ट्रेलिया) - कास्य 

म्याराथन 

-    पेरेस जेप्चिर्चिर (केन्या) - स्वर्ण
-     टिग्स्ट अस्सेफा (इथियोपिया) - रजत
-    जुलिया पाटरनाइन (उरुग्वे) - कांस्य 

विश्व रेकर्ड

यस च्याम्पियनसिपमा मात्र एक नयाँ विश्व रेकर्ड कायम भएको छ; पुरुष पोल भल्ट विधामा जुन आरमोण्ड डुप्लान्टिस (स्विडेन) ले ६.३० मिटर उचाइ नाघेर आफ्नै विश्व रेकर्ड तोडे।

समग्र मूल्याङ्कन

छोटो दूरीका दौडहरू : संयुक्त राज्य अमेरिका र जमैकाको नै वर्चस्व रह्यो । बोत्स्वाना (अफ्रिकी देश) ले भने सेंध लगाउन सक्यो; ४०० मिटर (पुरुष) र ४×४०० मिटर (पुरुष) दौडमा ।

मध्यम दूरीका दौड  : अफ्रिकी राष्ट्रहरूको वास्तविक वर्चस्व रहेता पनि अफ्रिकीमूलका युरोपियन खेलाडीले पनि राम्रै चुनौती दिएको देखियो । 

लामो दूरीका दौडहरू : अझै अफ्रिकी वर्चस्व नै कायम रह्यो । अमेरिकी (युएस) धावकहरूले  यस पटक लामो दूरीका दौडमा राम्रै चुनौती पेश गरेका थिए । तर, पूर्ण वर्चस्व स्थापित गर्न भने  सकेनन् ।

यस विश्व एथलेटिक्स च्याम्पियनसिपमा विशेषतः अफ्रिकी देशहरूले आफ्नो सांध (थ्रेशोल्ड) छोटो दूरीका दौडहरूमा पनि बढाउन सुरु गर्न थालेको हो कि भन्ने आभास भएको छ, जुन आगामी प्रतियोगिता प्रष्टिदै जानेछ ।  

  • प्रकाशित मिति : ७ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया