१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

भारतविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा फर्किँदै नेपाली महिला टिम

पछिल्लो साढे २ महिनायता नेपाली महिला फुटबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । प्रतियोगिता नहुँदा खेलाडी अभ्यासमा मात्र सीमित देखिएका छन् । तर, अब भने महिला खेलाडी व्यस्त देखिने संकेत मिलेको छ ।


अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार महिला टिमले आउँदो अक्टोबरमा भारतविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्नेछ । नेपाल र भारतबीचको खेल २६ अक्टोबरमा सिक्किममा हुने एन्फाले जनाएको छ ।



नेपाली टिम पहिलोपटक सिक्किममा भारतसँग खेल्न लागेको हो । यी दुई टोलीबीचको प्रतिस्पर्धा लामो समयदेखि चल्दै आएको छ । दक्षिण एसियाली क्षेत्रमा भारतलाई शक्तिशाली टोलीको रूपमा हेरिन्छ ।



पछिल्लो केही वर्षयता नेपालले पनि आफ्नो प्रदर्शनमा सुधार ल्याएको छ । यद्यपि गत असारमा भएको छनोट प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपाल एएफसी एसियन कपमा पुग्न वञ्चित भयो ।

भारत र बंगलादेशले भने प्रभावशाली प्रदर्शन गर्दै एसियन कपमा स्थान बनाए । बंगलादेश पहिलोपटक एसियन कपमा छनोट भएको हो । नेपालले भने उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजय बेहोर्दा त्यो उपलब्धि हासिल गर्न सकेन । 

नेपाली टिम अब उक्त प्रतियोगिताको पीडा बिर्सिँदै भारतविरुद्ध जित निकालेर अन्तर्राष्ट्रिय फुटबलमा उत्कृष्ट पुनरागमन गर्न चाहन्छ । पछिल्लो समय भारतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । विशेषगरी साफ च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध ऐतिहासिक प्रदर्शन गरिरहेको हो ।  

नेपालले पछिल्लो दुई संस्करणको साफमा भारतलाई लगातार हराएको छ । ती दुईमध्ये गत वर्ष भएको साफमा नेपालले भारतविरुद्ध पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकालेको थियो ।



निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि म्याच पेनाल्टी सुटआउटमा धकेलिएको थियो । त्यसअघि नेपालले सन् २०२२ को साफमा पनि भारतलाई स्तब्ध पारेको थियो । उक्त सेमिफाइनल खेलमा नेपालले भारतलाई १–० ले हराएको हो ।

नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् । नेपाल यसपालि मैत्रीपूर्ण खेलमा उच्चस्तरको प्रदर्शन गरेर भारतविरुद्ध जितमा ह्याट्रिक गर्न चाहन्छ । यद्यपि भारतविरुद्ध अपराजित यात्रा जारी राख्न नेपाललाई सहज भने हुने छैन । 

नेपाली टिम हाल मुख्य प्रशिक्षकविहीन छ । गत जुलाईमा प्याट्रिक डे वाइल्डले राजीनामा दिएपछि महिला टिम प्रशिक्षकविहीन रहेको हो । भारतविरुद्धको खेलका लागि छिट्टै मुख्य प्रशिक्षक चयन गर्ने एन्फाको योजना छ ।

जारी वर्ष अर्थात् २०२५ मा नेपालले अहिलेसम्म ८ वटा म्याच खेलेको छ, जसमा नेपालले चार खेलमा जित निकालेको छ । उता भारतको टिमले यो वर्ष अहिलेसम्म १० म्याच खेलेको छ, जसमा उसले ६ खेल जितेको छ । यसरी हेर्दा भारत अहिले उच्च लयमा छ । 

यस वर्ष नेपालले हराउन नसकेको थाइल्याण्डविरुद्ध भारतले २–१ को जित निकालेको छ । ऊ फिफा वरीयतामा पनि नेपालभन्दा माथि छ । ताजा वरीयतामा भारत ६२औँ र नेपाल ८९औँ स्थानमा छ ।

 यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरीयता हो । यसअघि नेपाल ९१औँ स्थानसम्म पुगेको रेकर्ड थियो । नेपाली टिम अब भारतविरुद्धको खेल जितेर वरीयतामा थप सुधार गर्ने योजनामा छ ।

भारतविरुद्धको खेलपछि नेपालले मंसिरमा आयोजित थ्री नेसन्स कपमा चाइनिज ताइपेई र इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ । प्रतियोगिता इन्डोनेसियामा हुनेछ ।

एन्फाले यस वर्षको क्यालेन्डरमा प्रत्येक फिफा विन्डोमा कम्तीमा दुई मैत्रीपूर्ण खेल खेल्ने योजना सार्वजनिक गरेको थियो । तर, अक्टोबर विन्डोमा भने नेपालले भारतविरुद्ध एउटा मात्र म्याच खेल्न लागेको हो । त्यसैले भारतसँगको खेल टोली निर्माण र दीर्घकालीन योजना परीक्षण गर्ने अवसर हुनेछ ।  

  • प्रकाशित मिति : ७ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया