शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्न निर्देशन दिएका छन् । सोमबार शिक्षामन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेका मन्त्री पुनले मंगलबारदेखि काम थालेका हुन् ।
उनले काम तत्काल अघि बढाउन विभिन्न तीन निर्देशन दिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
मन्त्री पुनले नेपालभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले प्रत्येक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षक दरबन्दी थप्न निर्देशन दिएको जनाएका हुन् ।
त्यस्तै, मन्त्री पुनले विश्वविद्यालयलाई कम्तीमा तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्न पनि निर्देशन दिएका छन् ।
केही विश्वविद्यालयमा परीक्षाफल निकाल्न ८ महिनादेखि एक वर्षसम्म लाग्ने गरेको र त्यो विद्यार्थीको लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै मन्त्री पुनले बढीमा तीन महिनाभित्र अनिवार्य परीक्षाफल प्रकाशन गर्न विश्वविद्यालयलाई निर्देशन दिएका हुन् ।
शिक्षामन्त्री विश्वविद्यायलयको सहकुलपतिसमेत हुन् । यसैगरी मन्त्री पुनले त्रिभुवन विश्वविद्यालयमा सरसफाइ गर्न पनि निर्देशन दिएका छन् ।
त्रिवि हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाउन मन्त्री पुनले निर्देशन दिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।