१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

आइसिसीद्वारा अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन गर्ने निर्णय गरेको छ । आइसिसी बोर्डले अमेरिकी क्रिकेटले पटक–पटक संविधानअनुसारका दायित्व पूरा नगरेको भन्दै यो कदम चालेको हो ।


आइसिसीले अमेरिकी क्रिकेटले आवश्यक शासन संरचना सुधार नगरेको, ओलम्पिक तथा प्यारा–ओलम्पिक समितिबाट राष्ट्रिय खेल निकायको मान्यता लिन कुनै प्रगति नगरेको र उसको पछिल्ला गतिविधिले विश्व क्रिकेटकै छवि धूमिल पारेको आरोप लगाएको छ । यस कारण अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाको भूमिकाप्रति प्रश्न उठेको आईसीसीको ठहर छ ।



सदस्यता निलम्बन भए पनि अमेरिकी क्रिकेट टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अधिकारबाट भने वञ्चित हुने छैन । टिमले आगामी विभिन्न प्रतियोगिता तथा २०२८ मा अमेरिकामै हुने ओलम्पिक खेलको तयारी गर्न पाउनेछ ।



यद्यपि अमेरिकी टोलीको व्यवस्थापन अब अस्थायीरूपमा आईसीसी वा त्यसका प्रतिनिधिहरूमार्फत हुनेछ । अमेरिकी क्रिकेटको यो समस्या सुधारका लागि आईसीसीले ‘नर्मलाइजेसन कमिटी’ गठन गर्ने निर्णय गरेको छ ।

उक्त कमिटीले अमेरिकी क्रिकेटमा आवश्यक संरचनागत सुधार, पारदर्शिता र अन्तर्राष्ट्रिय मापदण्डअनुसारका अभ्यास लागू गर्न निर्देशन दिनेछ । प्रगतिलाई निरन्तर अनुगमन गर्दै सुधारको गति र गुणस्तरका आधारमा मात्र भविष्यमा अमेरिकालाई सदस्यता दिने वा नदिने तय गरिने आईसीसीले स्पष्ट पारेको छ ।

यसअघि आईसीसीले अमेरिकी क्रिकेटलाई चेतावनी दिँदै सन् २०२४ को वार्षिक साधारण सभामा ‘अन नोटिस’ मा राखेको थियो । तर, मागिएको कुरामा सुधार नगरेकाले आइसिसीले अमेरिकाको सदस्यता नै निलम्बन गरेको हो ।

आइसिसीको यस्तो निर्णय नयाँ होइन, सन् २०१६ मा नेपाल क्रिकेट संघ (क्यान) पनि आईसीसीबाट निलम्बित भएको थियो । बोर्डमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आइसिसीले क्यानलाई निलम्बन गरेको थियो ।



आइसिसीले तीन वर्षपछि अर्थात् सन् २०१९ मा क्यानमाथिको निलम्बन हटायो । यस्तै, आइसिसीले सन् २०२२ मा क्यानलाई पूर्णरूपमा फुकुवा गर्‍यो । नेपालले निलम्बनका बेला अन्तर्राष्ट्रिय प्रतियोगिता भने गुमाउनु परेको थिएन । र, अमेरिकाले पनि आइसिसीको निगरानीमा नियमित प्रतियोगिता खेल्न पाउने छ ।

ऊ पछिल्लो केही वर्षयता उत्कृष्ट प्रदर्शन गरिरहेको छ । गत संस्करणको टी–२० विश्वकपमा पाकिस्तानलाई हराउँदै अमेरिकाले सनसनी मचाएको थियो । र, ऊ जारी आइसिसी विश्वकप लिग–२ मा पनि उच्च लयमा छ ।

अमेरिकाले लिग–२ मा २० म्याच खेल्दासम्म १४ मा जित र ६ खेलमा हार बेहोरेको छ । ऊ तालिकाको दोस्रो स्थानमा छ । लिग–२ तालिकाको सातौं स्थानमा रहेको नेपालले १६ खेल खेल्दा ९ मा हार तथा पाँच खेलमा जित र दुई म्याचमा अंक बाँडेको छ ।  

  • प्रकाशित मिति : ८ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया