चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख मूल्य बराबरको सवारीसाधन तथा पार्टपुर्जा आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आवमा उक्त नाकाबाट १ अर्ब ७५ करोड बढी मूल्यको सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवको उक्त अवधिमा ५ अर्ब २५ करोडका सवारीसाधन तथा पार्टपुर्जा आयात भएको थियो ।
कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आवको दुई महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताए ।
गत आवको दुई महिनामा सवारीसाधनको आयातबाट ४ अर्ब ४७ करोड ७६ लाख राजस्व सङ्कलन भएको थियो भने चालू आवको दुई महिनामा सवारीसाधनको आयातबाट ६ अर्ब १३ करोड ९२ लाख राजस्व सङ्कलन भएको छ ।
चालू आवको दुई महिनामा रु ४३ करोड ५२ लाख मूल्यका एक सय ७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । जबकि गत आवको सोही अवधिमा रु ५१ करोड ६२ लाख मूल्यका २ सय ९५ वटा जीप, कार र भ्यान आयात भएको थियो ।
चालू आवको दुई महिनामा २ अर्ब ७९ करोडका २० हजार ६२० थान अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा रु एक अर्ब ८५ करोड मूल्यका १४ हजार ७६६ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ ।
चालू आवको दुई महिनामा ६६ करोड ४३ लाख मूल्यको तीन सय १८ वटा अन्य बस ट्रकका चेसिस आयात भएको कार्यालयको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।