भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दसैँको समयमा यात्रु र चालक दुवैको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण सुझाव दिएका छन् ।
काठमाडौंलगायत शहरबाट आफ्ना घर फर्कने यात्रुको चाप बढेको समयमा मन्त्री घिसिङले बुधबार बिहान सामाजिक सञ्जालमार्फत चालक र यात्रुलाई आठवटा मुख्य सन्देश सार्वजनिक गरेका हुन् ।
मन्त्री घिसिङले भनेका छन्, ‘तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो । यस पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो पक्का गर्नुहोस् । तर, हतार नगरी, सजग भएर नियम पालना गरेर यात्रा गर्नुहोस् ।’
चालकका लागि उनले आग्रह गरेका छन्, ‘सवारी चलाउँदा गति नियन्त्रणमा राख्नुपर्छ र मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुपर्छ । लामो यात्रा गर्नुअघि पर्याप्त विश्राम लिनुपर्ने उनले बताए । साथै, यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्याउन आग्रह गरिएको छ ।’
यात्रुहरूलाई मन्त्री घिसिङले क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपार्न र चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गर्न भनेका छन् । यात्रा अवधिभर आवश्यक सुरक्षा र सावधानी अपनाउन र यस दसैँको मुख्य उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र नभई सुरक्षित र खुसीसाथ पुग्नु रहेको उनले स्मरण गराएका छन् ।
‘यस दसैँमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो । सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुसी हो र परिवारको खुसी नै हाम्रो राष्ट्रको शक्ति हो,’ मन्त्री घिसिङले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।