२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

मुख्य सडक ठप्प, वैकल्पिक बाटो असहज

देशको मूल राजमार्गमध्येको नारायणगढ–मुग्लिन सडक खण्ड फेरि ठप्प छ। चितवनको इच्छाकामना–५ तुइनखोलामा मंगलबार साँझ खसेको भयंकर सुक्ख पहिरोले सडक भासिन सक्ने जोखिम निम्त्याएपछि अनिश्चितकालका लागि सडक बन्द गरिएको हो। तथापि अहिले सडक खुलाउने प्रयास भने भइरहेको छ । 


सङ्घीय राजधानी भित्रिने र बाहिरिने  मुलुककै व्यस्त यो सडक खण्ड बन्द हुँदा हजारौँ सवारी साधन कुरिनटारसम्म लामबद्ध छन् । यात्रुहरूको यात्रा अनिश्चित छ । स्थानीय प्रशासनले सम्भव भएसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिरहेको छ । 



यो सडकमा समस्या केवल यसपालिको पहिरोमा सीमित छैन । नारायणगढ–मुग्लिन सडक यात्रुका लागि हरेक वर्ष मात्रै होइन, वर्षैभरि पीडाको पर्याय बन्दै आएको छ। कहिले सडक विस्तारको नाममा महिनौँ लामो जाम, कहिले वर्षा यामको पहिरो, कहिले दुर्घटना र अकस्मात् अवरोध,  त कहिले सुख्खा पहिरोले यहाँ यात्रुले जहिल्यै कष्ट भोगिरहेका छन् । राज्यको नजरमा यो सडक देशको राजधानीलाई दक्षिण र पश्चिमसँग जोड्ने जीवन रेखा हो । तर, यात्रुको अनुभवमा भने यो सडक कष्टकर यात्राको ठाउँ हो । 

यस पटकको घटना अझ भयावह बनेको छ। सुक्खा पहिरोले सडक नै भासिन सक्ने जोखिम बढेकाले तत्काल खुल्ने सम्भावना छैन। प्रशासनले दमौली–खैरेनीटार, धादिङ–मलेखु, हेटौंडा–भीमफेदी हुँदै दक्षिणकाली जस्ता वैकल्पिक बाटोहरू प्रयोग गर्न अनुरोध गरेको छ। तर यी मार्ग सबै अस्थायी विकल्प मात्र हुन्। कतै साँघुरा, कतै कच्ची र कतै ठूला सवारीका लागि यी सडक असहज छन्। यात्रुलाई दसैँजस्तो चाडपर्वमा घर फर्किने बेलामा झन् ठूलो दुःख यो सडकबाटोले थपिएको हो । 



वर्षौँदेखि नारायणगढ–मुग्लिन सडकको स्थायित्वबारे आवाज उठ्दै आएको छ। तर सरकारले स्तरउन्नति गर्ने, सुरक्षित र दिगो समाधान निकाल्ने भन्दा पनि हरेक दुर्घटना र अवरोधलाई ‘आपतकालीन घटना’ का रूपमा मात्र लगिराखेको छ । यसबीच वैकल्पिक सडक सञ्जाल विकास गर्ने दीर्घकालीन दृष्टि अपनाइएको पनि देखिँदैन । 

यस्तो अवस्थामा यात्रुले जहिल्यै त्रासको यात्रा गर्नुपर्ने बाध्यता छ। लामो जाम, बाटोमै लामो समय बित्ने, स्वास्थ्य समस्या, चाडपर्वमा घर पुग्न नसक्ने चिन्ता, यी सबै, नागरिकले दैनिक भोगिरहेका पीडा हुन् । राज्यले हरेक पटक आश्वासन दिन्छ। तर, फेरि उही समस्याको पुनरावृत्ति भइरहेको छ । 

नारायणगढ–मुग्लिन सडकको पीडा भौतिक मात्र होइन, राज्यको पूर्वाधार र दीर्घदृष्टिको अभावको प्रतिविम्ब हो । जसकारण, आज फेरि एकपटक यात्रु सडकमै थुनिएका छन्, वैकल्पिक बाटो खोज्दै जोखिमपूर्ण यात्रामा निस्किन बाध्य छन् । लाखौँ यात्रुको एउटै प्रश्न छ– कति वर्षसम्म नारायणगढ–मुग्लिन सडक यात्रुको पीडाको पर्याय बन्ने हो ? यसको जवाफ र समाधान सरकारले खोज्नै पर्छ । 



  • प्रकाशित मिति : ८ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया