२३ र २४ भदौमा चलेको जेनजी आन्दोलनले देशभर राजनीतिक तथा सामाजिक तहमा ठूलो हलचल ल्यायो । जेनजी आन्दोलनको आडमा कयौँ नेता, व्यावसायिक भवन, सरकारी कार्यालय आगजनीमा परे । सोही दिन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा पनि आगजनी भयो ।
आगजनीका क्रममा अर्बौँ मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको खबर बाहिर आएपछि यो विषयले झनै सनसनी मच्चायो । २४ गते दिउँसो देउवाको घरमा अर्बौँ रकम जलेर नष्ट भएको दाबीसहित विभिन्न पोस्ट र भिडिओ सार्वजनिक भए । घटनापछि सामाजिक सञ्जालमा निरन्तर चर्चा, आलोचना र आक्रोश देखिएको छ ।
सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि देउवाको सचिवालय केही दिनअघि ती भिडिओको खण्डनमा विज्ञप्ति नै प्रकाशन गर्न बाध्य भयो । देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गर्दै निवासमा ठूलो परिमाणमा पैसा फेला परेको समाचार कपोकल्पित र झुटो भएको दाबी गरेका छन् ।
‘विभिन्न सामाजिक सञ्जालमा घरभित्र रहेको अन्डर ग्राउन्ड ट्यांकीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याकी रहेको स्पष्ट गर्दछु,’ स्वकीय सचिव देउवाले भनेका छन्, ‘यस्तै, जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ ।’

विज्ञप्ति जारी गर्ने भानु नाताले सभापति देउवाका भतिजा हुन् । ती दाबी वास्तविक हुन् या भ्रामक भन्ने प्रश्न अहिले व्यापकरूपमा उठिरहेको छ । अनुसन्धान अघि बढिसकेकाले सत्यतथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ । देउवा निवासमा भेटिएको भनिएको पैसामाथि औपचारिकरूपमा छानबिन सुरु भइसकेको छ ।
सम्पत्ति शुद्धीकरण विभागको तीन सदस्यीय टोलीले घटनाको १३औँ दिन आइतबार देउवासँगै निवर्तमान ऊर्जामन्त्रीसमेत रहेका कांग्रेस नेता दीपक खड्काको निवास पुगेर मुचुल्का उठाइसकेको छ । तत्कालका लागि यही मुचुल्कालाई आधार मानेर अनुसन्धान अघि बढाइएको बताइएको छ ।
सत्ता र शक्तिको केन्द्रमा रहँदै आएका नेताहरूले ठूलो परिमाणमा अवैध रकम संकलन र जम्मा गरेको हुन सक्ने आशंका नागरिकले विगतदेखि गर्दै आएका थिए । जेन–जी आन्दोलनका क्रममा देउवाको घरमा ठूलो परिमाणमा पैसा भेटिएको भन्दै भिडियो, तस्बिर सार्वजनिक भएपछि नागरिकको आशंकालाई बल पुगेको छ ।
यो घटनाबाट पछिल्लो समय घरमै नगद थुपार्ने प्रवृत्ति रहेको पुष्टि पनि हुन्छ । पछिल्ला वर्षहरूमा ठूला व्यवसायी, ठेकेदार, राजनीतिक पहुँच भएका व्यक्ति तथा कर छल्नेहरूले घरभित्रै अर्बौँ रुपैयाँ राख्ने गरेको प्रमाणित पनि भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न आकर्षक बचत योजना ल्याए पनि राजनीतिक पहुँच भएका व्यक्तिदेखि ठूला–ठूला उच्चपदस्थ व्यक्तिहरूले ठूलो परिमाणमा रकम घरमै राख्नुले कालो धनलाई संकेत गरेको छ ।
ठेक्का, भ्रष्टाचार, कमिसन वा नक्कली कारोबारमार्फत आर्जन भएको रकम खुलारूपमा चलाउन सकिँदैन । यसलाई वित्तीय प्रणालीमा हाल्ने बित्तिकै छानबिनको जोखिम हुन्छ । त्यसैले उनीहरू घरमै नगद राख्ने गरेका छन् ।
विशेषगरी ठूलो रकम बैंक खातामा राख्दा त्यसको स्रोत देखाउनुपर्ने हुन्छ । तर, घरमै नगद राख्दा स्रोत खुलाउनुपर्ने दायित्व हुँदैन । यही कारणले ठूला व्यापारीदेखि राजनीतिक पहुँच भएका नेतासम्मले नगद घरमै थुपार्ने गर्छन् । यसले मुलुकको वित्तीय संरचना कमजोर बनाउने मात्र नभई दीर्घकालीन रूपमा अर्थतन्त्रको मेरुदण्डलाई नै कमजोर पार्ने बताउँछन्, अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी ।

‘अर्थतन्त्रको मुख्य आधार नै पैसाको चलायमान हो,’ उनले फरकधारसँगको कुराकानीमा भने, ‘पैसा बजारमा चल्दा व्यापार, उद्योग, सेवा र रोजगार सृजना हुन्छ । तर, घरमा पैसा थुप्रिँदा त्यो रकम निष्क्रिय हुन्छ । जसले गर्दा बजारमा आवश्यक पूँजीको आपूर्ति घट्छ, लगानीमा अवरोध आउँछ र उत्पादनशील क्षेत्रमा चाहिने स्रोत कम पर्छ । र, आर्थिक वृद्धि दर प्रभावित हुन्छ ।’
हुन त बैंकिङ कारोबारका हकमा नगद कारोबारका विभिन्न सीमाहरू तोकिएको भए पनि व्यक्तिले घरमा कतिसम्म रकम सञ्चय गर्न सक्छ भन्नेबारे कुनै नियम छैन । यस्तै, सम्पति राख्न पाउने कानुनी व्यवस्था भएकाले कुन कुन माध्यममा सम्पत्ति राख्न पाइने भन्ने नियम पनि छैन । तर, १० लाख बन्दा बढी रकम घरमा राख्नु भनेको अपराध भएको अर्थशास्त्री अधिकारी बताउँछन् ।
‘१० लाखभन्दा बढी रकम घरमा राख्नु भनेको अपराध गर्नु हो,’ उनी भन्छन्, ‘यसले हाम्रो अर्थतन्त्रलाई ठूलो प्रभाव त पार्छ नै अर्कोतर्फ घरमा ठूलो मात्रामा नगद राख्दा चोरी, डकैती वा आपतकालीन क्षतिबाट सुरक्षा जोखिम बढ्छ ।’
नेता मात्र होइन, सामान्य नागरिकसम्म घरमा पैसा थमाउने प्रवृत्ति अझै पनि समाजमा विद्यमान छ । तर, यो प्रवृत्ति व्यक्तिगत सुरक्षादेखि लिएर राष्ट्रिय अर्थतन्त्रसम्मका लागि हानिकारक हुन्छ । घरमा पैसा थमाउने प्रवृत्ति अन्त्य हुनु भनेको भ्रष्टाचार नियन्त्रण, वित्तीय पारदर्शिता र दिगो आर्थिक समृद्धिको आधार तयार गर्नु हो । त्यसैले सबै तहका व्यक्तिहरूले यो गलत अभ्यास त्यागेर आधुनिक वित्तीय प्रणालीमा विश्वास राख्न आवश्यक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।